काठमाडौं– पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज)पर्व अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर वरपरको तस्बिर खिचेमा नगद जरिमाना गरिने बताएको छ।
पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही छ। पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिमानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले बताए।
सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो। गर्भगृहको तस्बिर खिचेमा २,१०० रुपैयाँ, मुख्य मन्दिरको तस्बिर खिचे १,१०० र मूल मन्दिर परिसरको तस्बिर खिचे ५०० जरिमाना गरिनेछ।
पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा तस्बिर खिचे/नखिचेको अनुगमनका लागि कोषका कर्मचारीलाई खटाइने उनले बताए। कोषले आउँदो १४ भदौमा पर्ने तीजका दिन बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ। पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ।
तीजका वर्तालुलाई चार स्थानबाट प्रवेश गराइने
कोषले यस वर्षको तीज अवसरमा पशुपतिनाथ दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन नयाँ लाइन व्यवस्था गर्ने भएको छ। तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफलमा कोटेश्वर–तीनकुने–सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको जानकारी दिइएको हो।
यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने बागमती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ। यस क्षेत्रमा जुत्ता–चप्पल सुरक्षित राखेर स्वयंसेवा गर्ने जिम्मेवारी जयबागेश्वरी टोल सुधार समितिले पाएको छ। तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लाइन व्यवस्था गरिएको छ।
दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता–चप्पल शंकराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ। यहाँ पशुपति सिर्जनशील युवा क्लबले जुत्ता–चप्पल सुरक्षित राखेर भक्तजनलाई सहयोग गर्ने जिम्मेवारी लिएको छ।
तेस्रो लाइन गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता–चप्पल वज्रघरअघिको भागमा राखिनेछ। यस स्थानको जुत्ता–चप्पल व्यवस्थापनको जिम्मेवारी अमर नवकान्तेश्वर युवा क्लबले लिएको छ।
चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ। यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता–चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ। यहाँ भक्तजनको जत्ता–चप्पल सुरक्षित राखिदिने जिम्मेवारी नवरथ स्काउट ग्रुपले लिएको छ।–रासस