काठमाडौं– वातावरण संरक्षणको मुद्दामा सरोकारवालाबीच साझा धारणाका साथ नीतिगत स्पष्टता ल्याउने उद्देश्यले बागमती प्रदेश सरकारले ‘प्रदेशस्तरीय वातावरण सम्मेलन’ गर्ने भएको छ। सम्मेलनको पूर्वतयारीका क्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले सरोकारवालासँग छलफल गरेका छन्।
काठमाडौंमा आयोजना गरिएको छलफलमा सरोकारवालाले सम्मेलनका नाममा सम्मेलन गर्नेभन्दा पनि वातावरण संरक्षणमा हस्तक्षेप गर्ने नीति निर्माणमा ध्यान दिनुपर्ने बताए।
सहभागीले वातावरण संरक्षणमा चुनौती देखिएको फोहोरमैला व्यवस्थापन, जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विविधता तथा वातावरण संरक्षणमा नवीन प्रविधिको अन्वेषण र प्रयोगका विषयमा गहन ढंगको छलफल हुनुपर्नेमा जोड दिए।
जलवायु परिवर्तनको असर तीव्र गतिमा बढिरहेको भन्दै उनीहरूले यसको असरबाट जोगिने उपायका बारेमा सचेत गराउँदै समुदायस्तरमा अनुकूलनका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए। वातावरण संरक्षणका निम्ति बनाइएको कानुन, नियम, नीति, साझेदार संस्था तथा अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त प्रतिबद्धताका आधारमा सम्मेलनमार्फत स्पष्ट नीति बनाइनुपर्ने उनीहरूको भनाइ थियो।
बागमती प्रदेशलाई वातावरण संरक्षणको क्षेत्रमा अग्रसरताका साथ काम गर्न अवसरका साथै चुनौती पनि रहेको जनाउँदै उनीहरूले सम्मेलनको निष्कर्षले अन्तर्राष्ट्रिय समुदायलाई पनि घचघच्याउनुपर्ने बताए। वातावरण संरक्षणको मुद्दामा संघ र स्थानीय सरकारका साथै निजी क्षेत्र तथा सरोकारवालालाई एकताबद्ध बनाएर लैजानुपर्ने तथा नीतिगत सुधारबारे सम्मेलनले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो।
छलफलले सम्मेलन आयोजनाका लागि बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय मातहतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख जीवनाथ पौडेलको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समितिसमेत गठन गरेको छ।
कार्यक्रममा मन्त्री खड्काले सम्मेलनबाट वातावरणका संरक्षणको मुद्दामा सरोकारवालाको साझा तय गरिने जानकारी दिए। जलवायु परिवर्तन तथा वातावरण संरक्षणको मुद्दामा दलहरूबीच सामान धारणा नपाइएको जनाउँदै उनले सम्मेलनले सबैलाई एक ठाउँ ल्याउने र सो विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
विश्वव्यापी रूपमा वातावरण संरक्षणको क्षेत्रमा नेपालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरणबारे अन्तर्राष्ट्रिय स्तरमा ‘लबिइङ’ गर्नुपर्ने बताए। ‘वातावरण संरक्षणमा नेपालको महत्त्वपूर्ण भूमिका छ। वातावरणको मुद्दामा नेपालले अगुवाइ गर्नुपर्ने दृष्टिकोणका साथ सम्मेलन आयोजना गरिन लागेको हो’, उनले भने।–रासस