काठमाडौं- अनुमति बीना बनाइएका संरचना हटाउने कार्यलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ।
शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरालाई महानगरले हटाइरहेको छ।
महानगरले नक्सा पास नगरी बनाएका संरचनामा डोजर लगाएर भत्काउन थालेको हो। काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो।
महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा पुगेर एउटा प्रयोजनका लागि नक्सा पास गरेर व्यापारिक गतिविधि सञ्चालन गर्दै आएका भवनका संरचना भत्काउन थालेको छ।
महानगरले यसअघि ३५ दिन भित्र अवैध संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो। उक्त सूचनाको अवज्ञा गरेपछि महानगर डोजर लगाएर अवैध संरचना हटाउन थालेको हो।
महानगरले बिहीबार बानेश्वरको अल्फाबिटाको संरचना हटाएको थियो। बुधबार काठमाडौं मल अगाडिको संरचना हटाएको थियो। शुक्रबार राहदानी विभागको बेसमेन्टको अतिक्रमित संरचना हटाएको थियो।