विराटगनर- कोठा भाडामा लिएर लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)को कारोबार गर्ने गिरोहमा संलग्न ६ जनालाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।
भारतबाट लुकाइछिपाई ल्याएको ब्राउन सुगर भाडाको कोठामा राखेर लागूऔषधका प्रयोगकर्तालाई बिक्री गर्ने गरेको खुलेको हो।
ब्राउन सुगरको किनबेचमा संलग्न एक महिलासहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिका–१४ का विपिन शर्माको घरमा डेरा बस्ने सुनसरीको रामधुनी नगरपालिका–८ की २७ वर्षीया शरस्वती गुरुङले भाडाको कोठाबाट ब्राउन सुगरको कारोबार गर्ने गरेको मोरङ प्रहरीले जनाएको छ।
लागूऔषध बिक्री गर्ने गरेको गोप्य सूचनाका आधारमा गुरुङको कोठामा शुक्रबार साँझ प्रहरीले छापा मारेको थियो। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले खानतलासी गर्दा कोठाबाट १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर र किनबेचका क्रममा तौल लिन प्रयोग गरिने डिजिटल तराजु बरामद भएको छ।
कोठामा ब्राउन सुगर फेला परेपछि प्रहरीले गुरुङसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगडी नगरपालिका–१० का २६ वर्षीय विकाश थापा, सुनसरीको धरान उपमहानगरपालिका–१३ का ३० वर्षीय सुलभ रिजाल, धरान–२० का २३ वर्षीय रोशन लिम्बू, मोरङको विराटनगर महानगरपालिका–१५ का २५ वर्षीय वरुण साह र विराटनगर–३ का ३० वर्षीय आशिष हमाल रहेका छन्।