शुक्रबार, वैशाख २१, २०८१

कमल थापा : जो चुनाव लडिरहे, तर सधैँ हारिरहे

पाँच वर्षयता कुनै शक्तिशाली पदमा नदेखिएका उनी यसपटक फेरि मकवानपुरबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्ने तयारीमा छन्। तर, आफ्नै सहकर्मीबाट छुट्टिएका उनलाई त्यति सहज भने छैन।
 |  सोमबार, भदौ ६, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

सोमबार, भदौ ६, २०७९

काठमाडौं- नेपालमा आठौं आम निर्वाचन आगामी मंसिर ४ गते आइतबार हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूभित्र टिकटको लागि दौडधूप सुरु भइसकेको छ। साढे ६ दशकको संसदीय अभ्यासका क्रममा लामो समयदेखि पुस्ता हस्तान्तरणको बहस नेपाली राजनीतिमा चल्दै आए पनि नेतृत्वको ‘विष्णु चक्र’ भने उनै केही पुराना नेताहरूको औंला वरिपरि घुमिरहेको छ। जसकारण आकांक्षीहरूले टिकट प्राप्त गर्न साम, दाम, दण्ड, भेदको नीति अपनाएर शीर्ष नेताका घर चहार्न सुरु गरिसकेका छन्। 

triton college

पहिले पनि अभ्यास गरिसकेका नेताहरू यस दौडमा अझ अलि अगाडि देखिन्छन्। यही दौडमा केही यस्ता अनुहार पनि छन्, जसले सधैँ टिकट पाइरहे तर हारिरहे। तीमध्ये एक ‘हाइ–प्रोफाइल’ हुन्- कमल थापा।

विचार मिल्ने-नमिल्ने सबै दलका सरकारमा सहभागी हुँदै गणतन्त्र स्थापनाको लामो समयसम्म राजतन्त्रको मुद्दा बोकेर अन्ततः उनले गणतान्त्रिक छलाङ मारेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निरन्तर नेतृत्वमा रही राजतन्त्र र हिन्दू धर्मको पक्षमा वकालत गर्ने कमल थापाले लोकतान्त्रिक संविधानको विपक्षमा मतदान गरे। लोकतान्त्रिक संविधानको विपक्षमा मतदान गरे पनि संविधान निर्माणपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारको उपप्रधानमन्त्री बने।

०७८ मंसिर दोस्रो साता भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले पुरानै राप्रपा नेपाल ब्युँताए। राजतन्त्रको मुद्दा भने त्यागे। अनि हिन्दू राष्ट्रको एजेण्डासहित निर्वाचन आयोगमा राप्रपा नेपाल पार्टी दर्ता गराए। अहिले सोही पार्टीका अध्यक्ष हुन्, थापा। पूर्वराजा ज्ञानेन्द्रले ठाडो हस्तक्षेप गरी आफूलाई हराएको आरोप लगाउँदै राप्रपा नेपाल ब्युँताएपछि उनले राजतन्त्रको मुद्दा त्यागेका हुन्। 

शेरबहादुर देउवाको मन्त्रिमण्डलमा २०५२ मंसिरमा कानुनमन्त्री बनेका उनी २०६२ मंसिरमा पूर्वराजा ज्ञानेन्द्र शाहको नेतृत्वको सरकारमा गृहमन्त्री बने। राजतन्त्र र हिन्दू राष्ट्रको वकालत गर्ने उनले एमालेका केपी ओली र नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिमण्डलमा पनि मन्त्री खाए।

corrent noodles
Metro Mart

हेटौंडामा ९ कक्षामा पढ्दा ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’को अध्यक्ष बनेर उनी विद्यार्थी कालबाटै राजनीतिमा होमिएका थिए। पूर्वराजा महेन्द्रका बफादार कर्णेल क्षेत्रबहादुरका सन्तान उनी २०३७ सालमै पञ्चायती संविधानको संशोधनका लागि गठन भएको मस्यौदा समितिको सदस्य समेत बने। पछि २०४६ मा सञ्चार राज्यमन्त्री बनेका उनले पञ्चायतविरुद्धको आन्दोलत दबाउन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी, गृहराज्यमन्त्री निरञ्जन थापासँग मिलेर आन्दोलनविरुद्ध चार खम्बा बनेर उभिएका थिए। प्रजातन्त्र पुनर्स्थापनापछि भएको पहिलो आम निर्वाचन २०४८ मा पराजित भएका थापाले २०५१ को मध्यावधि चुनावमा भने जित हात पारे। त्यसयता सधैँ हार्दै आएका उनी पटकपटक मन्त्री भने भए। 

पाँच वर्षयता कुनै शक्तिशाली पदमा नदेखिएका उनी यसपटक फेरि मकवानपुरबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्ने तयारीमा छन्। तर, आफ्नै सहकर्मीबाट छुट्टिएका उनलाई त्यति सहज भने छैन।

२०५१ यता हालसम्म ८ प्रधानमन्त्री र २०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक मन्त्री बनिसकेका छन् कमल थापा। तर पटक-पटक विभिन्‍न मन्त्रालय सम्हालेका उनलाई जनताले अनुमोदन भने गरेका होइनन्। 

कमल थापाको सिंहदरबार यात्रा 

– २७ भदौ ०५२ देखि २९ फागुन ०५३ सम्म शेरबहादुर देउवा नेतृत्वको सरकारमा कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री

– १२ चैत ०५३ देखि २१ असोज ०५४ सम्म लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री

– २१ असोज ०५४ देखि २७ असोज ०५४ सम्म सूर्यबहादुर थापा नेतृत्वको सरकारमा परराष्ट्र र कृषिमन्त्री

– सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा १८ मंसिर ०५४ देखि २ वैशाख ०५५ सम्म परराष्ट्रमन्त्री

– सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा २८ जेठ ०६० देखि २८ जेठ ०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री

– ज्ञानेन्द्र नेतृत्वको सरकारमा २२ मंसिर ०६२ देखि १९ माघ ०६३ सम्म गृहमन्त्री

गणतन्त्र स्थापनापछि भने उनको मन्त्री यात्रामा लामो समय बिराम लाग्यो। तर, केपी ओली नेतृत्वको सरकारमा २०७२ मा उनी पुनः मन्त्री बने र रोकिएको ‘मन्त्री यात्रा’ फेरि अघि बढाए।

- २५ असोज ०७२ देखि २० साउन ०७३ सम्म केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकासमन्त्री

४ फागुन ०७३ देखि २२ चैत ०७३ सम्म पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री

–  २८ असोज ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री नियुक्त

पाँच वर्षयता कुनै शक्तिशाली पदमा नदेखिएका उनी यसपटक फेरि मकवानपुरबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्ने तयारीमा छन्। तर, आफ्नै सहकर्मीबाट छुट्टिएका उनलाई त्यति सहज भने छैन। कारण- प्रतिपक्षीसँग मात्रै नभएर थापाको राजनीतिक करिअरमा सुरुवातदेखि नै साथ दिँदै आएका दीपक सिंहसँग समेत उनले प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ। स्थानीय निर्वाचनमा हेटौंडाको मेयरमा पराजित सिंह प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका छन्।

हारका श्रृंङ्खला 

२०४८ को आम निर्वाचनमा मकवानपुर-१ मा कमल थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए। ०५१ को मध्यावधि चुनावमा थापाले त्यसको बदला लिए। तर मकवानपुर २ बाट पनि उठेका उनलाई तत्कालीन एमालेका विरोध खतिवडाले पराजित गरे। 

२०५६ मा थापा मकवानपुर-१ मा दाहालसँग पराजित भए। त्यसबेला दाहालले २० हजार ४४२ मत पाउँदा थापाले १५ हजार ९८५ मत प्राप्त गरेका थिए। मकवानपुर-३ बाट पनि उम्मेदवारी दिएका उनी त्यहाँ पनि एमालेका वीरबहादुर लामासँग २ हजार मतान्तरले पराजित भए।

त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर ३ (पछि क्षेत्र २ मा गाभिएको) बाट उम्मेदवार बनेका थापा तेस्रो भए। माओवादीबाट विजयी हुँदा दोस्रो नेकपा एमाले बनेको थियो। क्षेत्र नम्बर ३ मा माओवादीका प्रल्हाद लामिछाने ‘समिर’ १९ हजार मतसहित विजयी हुँदा एमालेका अनन्त पौडेलले करिब १४ हजार मत पाएका थए।

२०७० को संविधानसभा निर्वाचनमा भने थापा प्रतिस्पर्धामा उत्रिएनन्। श्रीमती प्रमिला थापालाई मकवानपुर-१ बाट उम्मेदवार बनाएर आफू समानुपातिकमा बसे। समानुपातिकबाट सांसद पड्काएर मन्त्री बनेका उनी ओली, दाहाल र देउवा तीनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने। 

त्यसपछि २०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर १ मै फेरि उम्मेदवारी दिए। थापाका प्रतिस्पर्धी थिए, उनै तीनपटक प्रतिस्पर्धा गरेका दाहाल। तर उक्त निर्वाचनमा पनि थापा पराजित भए। कांग्रेस-राप्रपाको गठबन्धनलाई माओवादी-एमाले गठबन्धका दाहालले करिब ६ हजार मतान्तरले थापालाई पराजित गरे। दाहालले ४० हजार ६३१ मत पाउँदा थापाले ३४ हजार ६३५ मत ल्याएका थिए।

फेरि उठ्ने तयारी, भरोसा गठबन्धनको
चुनाव नजिकिँदै जाँदा मकवानपुरमा चुनावी सरगर्मी सुरु भएको छ। नेताहरू चुनावी रणनीति बुन्दै अनेक कसरत गरिरहेका छन्। राप्रपाबाट विद्रोह गरी राप्रपा नेपाल पार्टी बनाएका थापा पनि एकपटक फेरि मकवानपुरबाट चुनाव लड्ने तयारीमा जुटेका छन्।

२०७४ मा सत्तारुढ कांग्रेससँग गठबन्धन गरी पराजित भएका उनी यसपटक भने एमालेसँग गठबन्धन गर्ने कसरतमा छन्। हारपछि उनले कांग्रेसले आफूलाई धोका दिएको अभिव्यक्ति दिएका थिए। थापाले माओवादी अध्यक्ष दाहालसँग पनि सिट सुरक्षितका लागि लबिङ गरिरहेको उनीनिकट नेताहरू बताउँछन्।

थापाले कोसँग गठबन्धन गर्छन् भन्‍ने पक्का भइनसके पनि उनी गठबन्धन र प्रतिपक्षी दल एमाले दुवैसँग चुनावी तालमेलका लागि दौडधूप गरिरहेका छन्। विभिन्‍न फोरममा उनले एमालेसँग तालमेल हुनसक्ने अभिव्यक्ति दिएका छन्। तर, सत्तारुढ पाँच दलले गठबन्धन गरेरै चुनावमा जाने निर्णय गर्दा एमाले, राप्रपा र राप्रपा नेपाल कसरी अघि बढ्छन् भन्‍ने टुंगो लागिसकेको छैन।

थापाले मकवापुर–१ बाट चुनाव लड्ने तयारी गरिरहेका छन्। रमाइलो त के भने यो थापाले चारपटक प्रतिस्पर्धा गरी तीनपटक हारेका दीपक दाहालको क्षेत्र हो। पुनः प्रतिनिधिसभा निर्वाचनमा उठ्ने तयारीमा दाहाल रहेको चर्चा एमालेमा छ। त्यसैगरी नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह पनि यो क्षेत्रमा आकांक्षी देखिएका छन्। 

एमालेले आफ्नो साख जोगाउने प्रयास गरिरहँदा उता बानियाँ विगत लामो समयदेखि चुनावी तयारीमा जुटेका नेता हुन्। सिंह करिब ४० वर्ष थापासँग सहकार्य गरेका उनैका हितैषाी मित्र हुन्। थापाले राप्रपा नेपाल ब्युँताएपछि सिंहलाई तान्ने प्रयास गरे पनि उनी राप्रपामै छन्। तसर्थ, यसपटक लामो समय साथ दिएका सिंह नै थापाका प्रतिस्पर्धी हुन सक्छन्। 

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा सिंह मेयरमा पराजित भएका थिए। नेकपा एकीकृत समाजवादीकी मीना लामा २३ हजार मतसहित विजयी हुँदा तेस्रो बनेका सिंहले २० हजार ५३१ मत पाएका थिए, जुन दोस्रोमा रहेका अनन्त पौडेलको भन्दा ३७७ मतमात्रै कम हो। 

यसरी ‘हेभी वेट’ नेताहरू मकवानपुर–१ मा आकांक्षी देखिँदा चुनावी प्रतिस्पर्धा गर्माहट हुने देखिन्छ। उता मकवानपुर-२ मा गठबन्धनबाट नेकपा (एस)का विरोध खतिवडा उम्मेदवार बन्‍ने चर्चा छ। आगामी १० भदौमा बस्ने जिल्ला कमिटीको बैठकले २०४८, २०५१, २०५६ र २०७४ मा निर्वाचित सांसद खतिवडाको नाम पुनः उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित: Aug 22, 2022| 18:15 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...