काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए। ‘नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ, सोही अनुसार उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो’ उनले भने।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका हो। गिरिलाई नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गर्यो। स्वर्गीय गिरीलाई उनका छोरा सन्तोष गिरीले दागबत्ती दिए।
गिरीको अन्त्येष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, सरकारका मन्त्रीहरु, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छुक र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो।

गिरीको पार्थिव शरीर आइतबार बिहान मेडिसिटी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। ११ बजेपछि भने उनको पार्थिव शरीरलाई नेपाली कांग्रेसको मुख्यालय सानेपामा राखिएको थियो।
सानेपामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टीको चार तारे झण्डा ओढाएर सम्मान र श्रद्धाञ्जली अपर्ण गरेका थिए।
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पशुपति आर्यघाट पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सानेपा पुगेर गिरीप्रति श्रद्धाञ्जली अपर्ण गरे।
स्वर्गीय गिरीका श्रीमती र एक छोरा छन्।

