मंगलबार, जेठ २६, २०८३

संसद्‌मा प्रदीप गिरीको अन्तिम भाषण- हामी गरिब छौं तर दरिद्र छैनौं

लोकतन्त्रको मर्यादालाई राख्दै, लोकतन्त्रको मर्ममा पुग्दै, लोकतन्त्रलाई बढीभन्दा बढी र्‍याडिकल, जनमुखी कसरी बनाउने? यो दायित्व नेपाली कांग्रेसको हो र सभापति शेरबहादुजीको हो। लोकतन्त्रको जडसूत्रवादी व्याख्याबाट हामी उठ्नुपरेको छ प्रधानमन्त्रीजी।
 |  आइतबार, भदौ ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ५, २०७९

प्रदीप गिरिका प्रवचनमा मार्क्सवादी दर्शनको आधार त हुन्थ्यो नै, पूर्वीय दर्शनका साथै इतिहासका विषयमा पनि उतिकै निपुण भएकाले प्रवचन सुन्न लालयित हुनेको संख्या धेरै थियो। लोकतन्त्र र समाजवाद र मार्क्सवादी विचारधारामा लामो समय चाखलाग्दो प्रवचन गर्न सक्ने गिरि कम्युनिस्टहरूलाई नै कम्युनिस्ट दर्शनका विषयमा प्रवचन दिन्थे। नेकपा एमालेले चलाएको मार्क्सवादी दर्शन शिक्षण अभियानमा उनी एक जना प्रमुख वक्ता बनेर पुग्ने गरेका थिए। 

National life

राजनीतिक चिन्तक प्रदीप गिरिले २०७८ साउन १५ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गरेका थिए। प्रतिनिधि सभामा आफ्ना कुरा राख्न गिरिलाई सभामुखले ९ मिनेटको समय दिएका थिए, तर उनको सम्बोधन १६ मिनेटसम्म चल्यो। समय सकिएपछि सभामुखले समय सकिएको भन्दै कुराकानी सक्न रुलिङ गर्छन्, तर गिरिलाई सभामुख अग्निप्रसाद सापकोटाले उक्त भाषणका क्रममा रुलिङ गरेनन्।

२०७८ साल भदौ ३ उपचारका लागि भारत प्रस्थान गरेका गिरिको करिब ११ महिनासम्म भारतमा उपचार भएको थियो। भदौ ४ गते ७४ वर्षीय गिरिले ललितपुरस्थित मेडिसिटी अस्पताल अन्तिम सास फेरेका हुन्। उनको चिरशान्तिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका नेता माधवकुमार नेपाललगायतले श्रद्धाञ्जली दिएका छन्।  

गिरिको अन्तिम भाषण जस्ताको तस्तै:
मुख्यत: म आज झन्डै ५५ वर्षदेखि नजिकबाट चिन्दै आएको हाम्रा पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारलाई शुभकामना दिउँ भनेर उभिएको हुँ। शुभकामनाका साथ केही संशय पनि छन्। तिनलाई पनि व्यक्त गर्ने मेरो अभिप्राय थियो र छ। मभन्दा पूर्ववक्ता एक अत्यन्त प्रतिभाशाली र प्रतिवद्ध मित्रले अहिले एउटा सम्झौता विशेषलाई केन्द्रमा राखेर अन्यन्त गम्भीर वक्तव्य दिनुभयो। वक्तव्यमा उहाँले दिनुभएको मनशायको बारे अहिले म प्वाक्क बोल्ने पक्षमा छैन। म एउटा सानो कुरा उक्त माननीयज्यूलाई संसद्‍मा रहनुभएका यावत् व्यक्ति र शक्ति, सांसद र दलहरुलाई सम्झना गराउन चाहन्छु। उक्त सन्धिको प्रयास संयुक्त राज्य अमेरिकाबाट आएको छ। यस्तो कुनै अर्को प्रस्ताव कुनै दिन हिन्दूस्थानबाट आउला, अथवा आइसकेको होला। चीनबाट आउला, अथवा आइसकेको होला। यूरोपियन युनियन एउटा शक्तिका रुपमा अघि बढिरहेको छ। त्यसबाट पनि आइसकेको होला।

नेपाल एउटा सानो देश छ। भूगोलका हिसाबले सानो छैन। त्यता नजानुहोला। भारत र चीनका छेउमा परेर हामी सानो देखिन्छौं। विश्वका राष्ट्रका तुलनामा आफूलाई हेर्नुभयो भने हामी मनग्य ठूलो पनि छौं। संशाधनले हामी रहित छौं। गरिब छौं तर हामी दरिद्र छैनौं। हाम्रो मानसिकता मात्रै गरिब छ। हामीसँग अक्षय, अद्भूत र अमूल्य प्राकृतिक स्रोतहरु हाम्रा नदीनाला पर्वत र हिमालयसम्मका संशाधन छन्। हामीले चिहाउन पनि भ्याएका छैनौं। हामीलाई त विदेशी डलरको मात्रै भोक र खोजी छ। यो ठूलो सांस्कृतिक विषय छ। यो राजनीतिक विषय मात्र छैन। त्यता जाने समय अहिले छैन। अहिले म के भन्न चाहन्छु भने भारत, चीन, संयुक्त राज्य अमेरिका, यूरोपियन युनियनदेखि जापानसम्म।

Shivam cement

ती देशमा विदेश नीतिका सिलसिलामा यत्रो ज्यादा तथ्यहीन र उग्र मतभेद हुन्छ? सानो प्रश्न छ मेरो। चाहे अमेरिका हेर्नुस् चाहे भारत हेर्नुस् वा चीन हेर्नुस्। ठिक छ बेठिक छ उनेरको जे दृष्टिकोण छ नेपालप्रति आफ्नो दृष्टिकोण छ। त्यो ठिक छ कि बेठिक छ भन्दिनँ। ज्यादातर ठिक होला। तर बेठिक किन छ भने हामी नेपालीले आज राजनीतिक दलको यत्रो दबदबामा, चकचकीमा देशमा लोकतन्त्र होइन। ज्यादातर दलतन्त्र चलिरहेको बेलामा पछिल्लो समय सर्वोच्च अदालत अपवादका रुपमा आएको छ। दलतन्त्रका माझमा हाम्रा सरोकारवाला दलहरु किन साझा विदेश नीति बनाउन सक्दैनन्?

पूर्ववक्ता माननीयले जसरी सारगर्वित विषय भन्नुभए पनि सम्झना राख्न आवश्यक छ। जबसम्म मुलुकका सरोकारवालाहरु, सबै दलहरु साझा विदेश नीतिका प्रति प्रतिवद्ध हुँदैनन्। हामीहरु मध्ये प्रत्येकले एकअर्कालाई तल देखाएर, उँचा देखाएर मुखको तितो मात्रै पोख्छौं। अहिले खास सन्धिका बारे म टिप्पणी गर्न चाहन्नँ। हामी आत्मनिर्भर बन्दाखेरी विदेशी सहायताबिना पनि बन्न सक्छौं। हामीले हाम्रा देशका संशाधनलाई माल पाएर चाल नपाएको शैलीमा अघि बढिरहेका छौं। कोही अपवाद छैन। कुनै मन्त्री अपवाद छैनन्। कुनै प्रधानमन्त्री अपवाद छैनन्। उनीहरुले आफ्नो आत्माभित्र चिहाएका छैनन्। मुलुकभित्र हेरेका छैनन्। बाहिर, बाहिर, बाहिर मात्रै हेरेका छन्। लिने कुरामा पनि दिने कुरामा पनि।

लोकतन्त्रको मर्यादालाई राख्दै, लोकतन्त्रको मर्ममा पुग्दै, लोकतन्त्रलाई बढीभन्दा बढी र्‍याडिकल, जनमुखी कसरी बनाउने? यो दायित्व नेपाली कांग्रेसको हो र सभापति शेरबहादुजीको हो। लोकतन्त्रको जडसूत्रवादी व्याख्याबाट हामी उठ्नुपरेको छ प्रधानमन्त्रीजी।

यो विषयका लागि उभिएको थिइनँ। तर बढो विचारोत्तेजक ढंगबाट जिम्मेवार नेकपा एमालेका मित्रले यो कुरा भन्नुभएपछि मलाई यति कुरा भन्न मन लाग्यो। लामो समयदेखि बारम्बार विभिन्न मञ्चबाट भनिरहेको छु। पहिले हामी साझा दृष्टिकोण बनाऔं। भारतका प्रति, चीनका प्रति, अमेरिकाका प्रति। अनि कुन सन्धि खारेज गर्ने, कुन नगर्ने कुरा गरौंला। यो राष्ट्रिय नीतिको प्रश्न हो सभामुख महोदय। 

म उभिएको मूल कारण के थियो भने प्रधानमन्त्री शेरबहादुरजीलाई शुभकामना र बधाई पनि दिन। सँगसँगै उहाँलाई सम्झना गराउन। सानो कुरा सम्झना गर्नुहोला- दोस्रो जनआन्दोलनको उपलब्धी, दोस्रो जनआन्दोलनको जनादेशका बेलामा हाम्रो तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा नै ०६४ को अन्तरिम संविधान बन्यो। त्यस अन्तरिम संविधानका बाहक, परिचालक र संवाहक को-को थिए त? सबै ती अनुहार मोटामोटी रुपमा अहिलेको सरकारमा सामेल छन्। सशस्त्र संघर्ष थाल्नुभएर अन्तत: १२ बुँदे सम्झौतामा पुग्नुभएका नेकपा माओवादीका नेता सभामुख समेत त्यसको नेतृत्वमा हुनुहुन्थ्यो। मधेस आन्दोलनका नाममा अन्तरिम संविधानलाई चुनौती दिने अर्का नेता, एमाले पनि सहयात्री थियो। एमालेको त्यस समयको नेतृत्व कदाचित अहिले पनि कार्यकर्ता पंक्तिमा टाउको गन्दा, सांसदभन्दा बढ्ता हैसियत राख्ने वर्तमान यस गठबन्धनका सहयोगी पूर्वप्रधानमन्त्री कमरेड माधव नेपाल। सबै यहाँ छन्। सँगसँगै दलको तानाशाही विरुद्ध माथि उठेर विवेक प्रयोग गर्ने स्वतन्त्र सांसद पनि।

यो गठबन्धन किन? पन्चायतकालमा चल्थ्यो मिलिजुली खान? होइन भने यस गठबन्धनका प्रत्येक स्टेकहोल्डरले, प्रत्येक सहभागीले छातीमा हात राखेर सम्झनुपर्‍यो। गणतन्त्रको घोषणापछि, संविधानको निर्माणपछि पनि बितेका वर्षहरुमा किन आम जनतालाई लागेन बल्ल हाम्रो पालो आएछ। लाखौंको रुपमा चप्पल लगाएर सडकमा उत्रने नेपाली जनतालाई किन लागेन ए अब त नयाँ नेपालको सुरुवात भएछ। यस मोर्चाका सबै संगठकले खासगरी अध्यक्ष प्रचण्डले, नेता बाबुराम भट्टराईले, उपेन्द्र यादवले, आदरणीय कमरेड माधव नेपालजीले सबैले सोच्नु पर्‍यो विगत १० वर्ष कसरी गएछ त। सपनैसपनामा गयो। के भएको थियो त? मैले यो व्यंग्यात्मक शैलीमा भनेको छैन। स्वप्नद्रष्टामा म पनि पर्छु। मुख्य कुरो के थियो माग? उर्दुमा एउटा राम्रो कविता छ। पाकिस्तानलाई लिएर त्यहाँ कवि फैज अहमदले लेखेको। जुन बिहान होला भनेर हिँड्या थियौं हामी, त्यो बिहान रैनछ। अर्कै पो समय आएछ त। आम जनतामा असन्तोष आएको छ। नागरिक आन्दोलन तात्दै हिँडेको छ। त्यसलाई बिर्सिएर सर्वोच्च आदालतका दुई फैसलामा रमाउने काम नगर्नुस्। संघीय राज्यको नारा मधेशवादी पार्टीले उठाएको थियो। त्यो भन्दा पहिला नेपाली कांग्रेस प्रजातान्त्रिकले प्रस्ताव गरिसकेको थियो।

लोकतन्त्र भनेको संख्यातन्त्र होइन। मैले राजीव गान्धीको उदाहरण दिएको थिएँ। इन्दिरा गान्धीको उदाहरण दिएको थिएँ। लोकतन्त्र संख्यातन्त्र होइन भन्ने कुरा पूर्वप्रधानमन्त्री ओलीले बुझ्नुभो। 

आज पनि संघीय राज्य कागजमा सीमित छ। सम्झना गराउन चाहन्छु, सरकार जसको बनोस्। कोभिडको प्रतिकारमा स्थानीय सरकारले प्रशस्त काम गरेको छ। स्थानीय सरकारलाई कसरी शक्तिशाली बनाउनुहुन्छ? यस विराट मोर्चाले छलफल गरोस्। ठिक त्यस्तै अहिले पनि संघीय राज्यलाई चाहिने खालको निजामति एन, प्रहरी एन बनेको छैन। यो सरकारले त्यो काम गरोस्। कोभिडका बारेमा खोप खोप खोप भनेर वर्तमान प्रधानमन्त्रीले भनिसक्नु भो। त्यसका लागि उहाँलाई धन्यवाद छ। तर साथीहरुमा एक प्रकारको असन्तोष निराशा सत्ताधारी पंक्तिबाट आइरहेको छ। त्यसमा उहाँले ध्यान दिनुपर्छ। यो अवश्य हो। वर्षौंदेखि बिग्रिएको वेतिथी एकै दिनमा केही गर्न सकिँदैन। त्यस्तै हामीले सरकार वा प्रधानमन्त्रीका बारेमा फैसला गर्दा १०० दिनलाई हनिमुन भन्छन्। त्यसलाई पनि ध्यान दिनुपर्छ होला। मुख्य कुरा हाम्रो लक्ष्य के हो, हाम्रो मन्जिल के हो ? हामीले बडो सकस गरेर, बढो प्रयास गरेर यस संविधानलाई जोगाएका छौं। याद रहोस् सभामुख महोदय म त्यो एक्लो सांसद हुँ नेपाली कांग्रेसभित्रबाट जसले यो संविधानका अन्तरविरोध, यो संविधानका विसंगति, यहाँसम्म कि भाषागत त्रुटी समेतसँग आपत्ति जनाएर संसदको अन्तिम दिनमा मैले बहिस्कार गरेको थिएँ। मेरो हस्ताक्षर छैन यो संविधानमा । तर यो संविधान वहाली हुनुपर्छ। यो संसद् वहाली हुनुपर्छ भनेर अत्यन्त ज्यादा तर्क गर्नेहरुमध्ये हामी केही साथीहरु छौं। किन त ?

मलाई लाग्यो संविधानमा जे त्रुटी भए पनि सार्वभौम संसद् स्थापित भइसकेपछि यसैका माध्यमबाटै मधेसको, जनजातिको, दलितको, महिलाको र अन्य सिमान्तकृत समुदायको समस्या समधान गर्नुपर्छ। त्यसैले प्रधानमन्त्रीका एकातिर दिनानुदिनका समस्या छन्। उदाहरणका लागि खोपको कुरा आयो। खोप, खोप, खोप त्यही नै आवश्यकता हो। त्यति मात्र होइन, त्यतिकै महत्वपूर्ण छ सुशासन। सुशासन शब्दको व्यापक अर्थ छ। तर, सुशासन नहुने, बेलामा खोप नआउने, संविधानले बारम्बार चुनौति पाउने, विगतका प्रधानमन्त्री नै सही उहाँले संविधानमाथि खेलबाड गर्ने आत्मविश्वास कहाँबाट ल्याउनुभयो? उहाँ पनि राजनीति गरिरहेको मान्छे हो। यसकारण ल्याउनुभयो, उहाँकै कारणले सही उहाँलाई थाहा थियो। आम जनता सरकारसँग, राज्यसँग, यो संविधानको कार्यान्वयनसँग सन्तुष्ट छैनन्। त्यसैले यो सरकारलाई, यो सरकारका प्रमुखलाई, प्रधानमन्त्री शेरबहादुरजीलाई र यो सरकालाई भरथेग गर्छु भनेर हिँड्नुभएका अन्य नेताहरुलाई के भन्न चाहन्छु भने पहिले खोपलाई सम्झनुस्, अर्कातिर आम जनताले दिनानुदिन भोग्नुपरेका समस्या सम्झनुस्। त्यसलाई प्राथमिकतामा राख्नुस्।

अन्तमा एउटा शब्द बडो प्रचलनमा थियो। सभामुख महोदयले पनि यो शब्द बडो प्रयोग गर्नुभयो होला। फ्युजन, फ्युजन, फ्युजन। २०६२/०६३ को आन्दोलनमा भनिन्थ्यो- दुई वटा व्यवस्था देख्यौं। पाँच वर्षमा एकपटक चुनाव गर्ने, अखबार छाप्न दिने, मनपरी गाली गर्न दिने, भोट पनि गराउने लोकतन्त्र भन्ने। मान्छे भोका छन्, नांगा छन्, मरिररहेका छन्। त्यही पनि लोकतन्त्र। अर्कोतिर एक दलिय व्यवस्था चलाउने, त्यसलाई नयाँ जनवाद भन्ने। तर सानो आन्दोलन पनि नगरी सोभियत युनियन हट्नुपर्ने। चीनको भविष्य पनि के हुन्छ थाहा छैन। यी दुई वटालाई फ्युजन गर्ने नाममा हामी एक भएका थियौं। गिरिजाप्रसादको नेतृत्वमा विश्वास गरेर नेकपा माओवादी र मधेसवादी सरकारमा आएका थिए। त्यो फ्युजनलाई विगत १५ वर्षमा हामीले कन्फ्युजन बनाएका रहेछौं। ठन्डा दिमागले नेपाली कांग्रेसका वर्तमान सभापतिसँग बसेर सोच गरेर अध्यक्ष प्रचण्डदेखि अन्य सरोकारवाला सबैले राम्ररी सोचिकन विगतका भुलहरुबाट सिकेर। एकातिर नेपाली कांग्रेसले सिक्नुपरेको छ- लोकतन्त्रको रुढ अर्थ। जडसूत्रीय अर्थ। दुई अर्थबाट चल्दो रहेनछ लोकतन्त्र। लोकतन्त्र भनेको पाँच वर्षको चुनाव मात्र होइन। लोकतन्त्र भनेको लेख्नेलाई आजादी मात्रै पनि होइन। लोकतन्त्र धेरै गहिरो कुरा हो। मैले यहीँबाट चेतावनी दिएको थिएँ प्रधानमन्त्री ओलीलाई। लोकतन्त्र भनेको संख्यातन्त्र होइन। मैले राजीव गान्धीको उदाहरण दिएको थिएँ। इन्दिरा गान्धीको उदाहरण दिएको थिएँ। लोकतन्त्र संख्यातन्त्र होइन भन्ने कुरा पूर्वप्रधानमन्त्री ओलीले बुझ्नुभो। अब यो नयाँ सरकारले पनि बुझेको छ।

सम्मानका नाममा हामीले मात्र पुराना गीत गाएर, पुराना तन्त्र गाएर, पुराना शास्त्र भट्याएर, हामीले लोकलाई बुझ्न छाड्यौं भने इतिहासमा हाम्रो नाम मात्र रहन्छ।

लोकतन्त्रको मर्यादालाई राख्दै, लोकतन्त्रको मर्ममा पुग्दै, लोकतन्त्रलाई बढीभन्दा बढी र्‍याडिकल, जनमुखी कसरी बनाउने? यो दायित्व नेपाली कांग्रेसको हो र सभापति शेरबहादुजीको हो। लोकतन्त्रको जडसूत्रवादी व्याख्याबाट हामी उठ्नुपरेको छ प्रधानमन्त्रीजी। त्यस्तै २१औं शताव्दी आइसकेको छ। २०औं शताब्दीमा फेल भएका सोभियत युनियनको विघटनपछि एकपछि अर्कोगरी पूर्वी यूरोपमा ढल्दै गएका ती अनुभूतिलाई राजनीतिक स्तरमा बुझ्नुस्। अहिले अरु देशको नाम लिनु ठिक नहोला, चीनको चकाचौंध नै सक्कली हो। पाँच-दश वर्षमा हामी रहन्नौं होला त्यसको नक्कलीपना त्यसरी नै थाहा हुन्छ जसरी सोभियत युनियनको भएको थियो। न त उत्तर कोरियाका ती वंशवाद वास्तविक साम्यवाद हो। २०औं शताव्दीको इतिहास हेरौं। २०औं शताव्दीमा तथाकथित बेलायतमा जन्मिएको संसदीय व्यवस्था पनि नांगिएको छ र जनवाद, बहुलबाद, बहुदलिय जनवाद पनि अलमल भएको छ। यिनीहरुलाई नसिकी, सम्मान नगरी, नबुझी हामी अघि बढ्न सक्दैनौं। सम्मानका नाममा हामीले मात्र पुराना गीत गाएर, पुराना तन्त्र गाएर, पुराना शास्त्र भट्याएर, हामीले लोकलाई बुझ्न छाड्यौं भने इतिहासमा हाम्रो नाम मात्र रहन्छ। यसपटक यो सरकार असफल भयो भने शेरबहादुरजी असफल हुनुहुन्न। संविधान असफल हुन्छ।

संविधान असफल भएर केहि बिग्रँदैन। व्यवस्था असफल हुन्छ। व्यवस्था असफल हुनु भनेको सोच्दा पनि कहाली लाग्छ। संविधानमा हस्ताक्षर नगरेको एक व्यक्ति म भन्दैछु बाटो अर्को छैन। त्यसैले यो संविधानको रक्षा गर्न म अग्रपंक्तिमा आएर बोलेको हुँ लेखेको हुँ। एउटा मित्रले यहाँ हनिमुनको कुरा गर्नुभो। हो हनिमुन सय दिन हुन्छ। सय दिन भन्दा बढी समय लिनुस्। आफ्ना लक्ष्यका बारेमा स्पष्ट हुनुस्। वर्षौं पहिला यसरी नै सदनबाट बोल्दै मैले तत्कालिन प्रधानमन्त्री मनमोहनजीलाई भनेको थिएँ र कांग्रेसी मित्रलाई सम्झाएको थिएँ। मनमोहनजी भर्खरै प्रधानमन्त्री हुनुभएको थियो। मैले भनेको थिएँ- हेर्दै जाऔं न नआत्तिऔं। हम अभिसे किस तरह वेवफा उनको कहेँ, मन्जिलकी बात हेँ रास्तेमे आग हेँ। यो गठबन्धनलाई पनि म आजै आलोचना गर्न चाहन्नँ। यस गठबन्धनले आफ्नो लक्ष्य पूरा गरोस्। मेरो शुभकामना छ। यसका लागि खासगरी शेरबहादुरजीले आफ्ना नेतासँग शिक्षा लिएर गिरिजाप्रसादको उदाहरण लिएर गिरिजाप्रसादले जसरी जाँदाजाँदै जंगलमा रहेका हिंसावादीलाई मूलधारमा ल्याउनुभयो।

प्रतिपक्षको नेता भएर पनि यस संविधान अनुसार प्रधानमन्त्री रहेर पनि संविधानको मर्म नबुझ्नुभएका पूर्वप्रधानमन्त्री, संविधानको संरक्षक रहनुभएका राष्ट्रपतिलाई पनि हामीले कसरी बढीभन्दा बढी संविधानवादको शिक्षा दिने यो हाम्रो सबैभन्दा ठूलो लक्ष्य हो। ठूलो लक्ष्य आफ्नो ठाउँमा हुन्छ। ठूलो लक्ष्य भन्दैमा दैनिक समस्याबाट भाग्न पाइँदैन। कोभिडका बारेमा कृपया ठोस् कदम चाल्नुस्। चाँडैभन्दा चाँडै आम जनताले जिन्दावाद भन्ने खालको मन्त्रिमण्डल बनाएर दुनियाँलाई देखाउनुस्। यो सरकारको सफलता, यो सरकारको नेतृत्वमा चुनाव होस् भन्ने अभिलाषालाई म शब्दमा व्यक्त गर्न सक्दिनँ। सभामुखका माध्यमबाट यो कुरा सरकारलाई सुनाउन चाहन्छु। धन्यवाद, सभामुख महोदय! 

प्रदीप गिरीले प्रतिनिधिसभा बैठकमा २०७८ साउन १५ गते राखेको मन्तव्य भिडियोमा हेर्नुहोस्।

प्रकाशित: Aug 21, 2022| 15:02 आइतबार, भदौ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...