काठमाडौं- नेपाली राजनीतिक क्षेत्रले एक बौद्धिक व्यक्तिलाई गुमाएको छ। शनिबार राति साढे ९ बजे कांग्रेसका नेता प्रदीप गिरीको निधन भएसँगै नेपाली राजनीतिले एक बौद्धिक राजनीतिज्ञ गुमाएको हो।
सांसदसमेत रहेका गिरीको मेडिसिटी अस्पतालमामा उपचारका क्रममा ज्यान गएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ। उनी घाँटीको क्यान्सरका साथै पछिल्लो समय निमोनियाबाट ग्रसित रहेका थिए।
गिरीको शव आइतबार बिहान अस्पतालबाट निकालेर दिउँसो कांग्रेस पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ। त्यसपछि आज नै गिरीको अन्त्येष्टि पशुपति आर्यघाटमा हुनेछ।
२००४ सालामा सिरहाको बस्तीपुरमा जन्मिएका गिरी नेपाली राजनीतिमा बौद्धिक नेताका रूपमा चिनिन्थे। पिता मित्रलाल गिरी नेपाली कांग्रेसका नेता भएकाले गिरी सानै उमेरदेखि राजनीतिमा संलग्न थिए। २०१७ सालदेखि सक्रिय त उनले सक्रिय राजनीति नै गरे।
गिरीले राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी हालसम्म कुल चार वर्ष जेल जीवन बिताए। २०२४ सालमा नेपाल छात्र संघ बनारसको निर्वाचित उपाध्यक्ष भएका गिरी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य थिए। २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित गिरी २०५६ को संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य भएका थिए। भारत, जवाहरलाल नेताहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्दथे।
गिरीले २०१७ सालबाट सक्रिय राजनीतिमा पाइला चालेका थिए। गिरीलाई अध्ययनका साथै लेखनमा पनि उत्तिकै रुचि थियो। लेनिन (जीवनी), नारी, मार्क्सवाद र अर्थशास्त्रलगायतका उनका दर्जनौं पुस्तक प्रकाशित छन्।
सरल, मिलनसार, गान्धीका अनुयायी, मार्क्सवादका ज्ञाता, कांग्रेस–कम्युनिस्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद्, र श्रीमद्भागवत गीताको समेत राम्रो जानकार भएको र व्याख्या गर्न सक्ने बौद्धिक तथा तार्किक व्यक्तिलाई आज नेपालले गुमाएको छ।
नेपाली कांग्रेसमा बौद्धिक धार तथा समाजवादी चिन्तनलाई प्रतिनिधित्व गर्ने गिरीले अध्ययन र निर्वासित राजनीतिका प्रारम्भिक वर्षमा भारतको दरभंगा, पटना, बनारस र दिल्लीमा झण्डै दुई दशक बिताएका थिए। बनारस हिन्दु विश्वविद्यालयमा छोटो समय अध्ययनमा पनि संलग्न रहे। गिरीका पिता मित्रलाल बिपी कोइरालाका समकालीन धनुषाका कांग्रेस नेता थिए। भारतमा खासगरी डा. राम मनोहर लोहिया धारका समाजवादी नेताहरूसँग उनको निकट सम्बन्ध रहे पनि नेपालमा भारतको राजनीतिमा कुनै स्थायी संलग्नता उनको कुनै नेतासँग रहेन।
नेपाली कांग्रेस भित्रै रहे पनि स्वतन्त्र चिन्तन, कहिलेकाहीँ झण्डै अराजकहरूसम्मका गतिविधि र नेतृत्वको आलोचनाका कारण उनी दल भित्र अल्प समूहमै रहने गरे। उनका निकट र समर्थकहरूले गिरीलाई क्षमता अनुरूप अवसर नपाएको या पार्टीभित्र प्रजातान्त्रिक मूल्य मान्यतामा योगदान पुर्याउन नसकेको व्यक्तित्वका रूपमा लिने गरेका छन्।
अल्पकालीन तीक्ष्ण स्मरण शक्तिका गिरीले मार्क्सवाद, साम्यवाद भित्रका समाजवादी आन्दोलन र व्यक्तित्वको गहन विश्लेषणका साथ अनगिन्ती छिटपुट लेख लेखेका छन्। ७५ वर्षीय गिरी २०४६ सालमा बहुदलीय संसदीय व्यवस्था स्थापित भएपछि २०४८ र २०५६ अनि २०६३ पछिको संसदमा उपस्थित रहे। अप्रिय र आलोचनायुक्त अभिव्यक्तिलाई पनि चित्तबुझ्दो तरिकाले पस्किन सक्ने खुबी भएका गिरी नेपालको राजनीतिक वृत्तमा गान्धीवादी भनिए पनि उनी हिंसात्मक आन्दोलनका विरोधी रहेनन्, सिद्धान्ततः र व्यवहार दुवैमा।
वि.सं. २०३० को दशकमा नेपाली कांग्रेसको सशस्त्र आन्दोलनमा उनी सामेल रही ज्यान गुमाएका कप्तान यज्ञबहादुर थापा, राम लक्ष्मणसँग उनको निकटतम सम्बन्ध रहेको तथ्य नेपाली कांग्रेसभित्र खुला जानकारीको विषय हो
प्रदीप गिरीले मन्त्री पद या नेपाली कांग्रेसको संगठनात्मक दायित्व लिने चाहना कहिल्यै राखेनन्। वास्तवमा २०५६ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएपछि मन्त्री परिषदमा सामेल हुन उनले गरेको आग्रहलाई गिरीले अस्वीकार गरेका थिए।
नेपाली कांग्रेसभित्र उनी बिपी कोइरालाका आलोचक हुनाका साथै प्रखर प्रशंसक रहे भने गिरीजाप्रसाद कोइरालाका कटु आलोचक। २०४६ र २०६२–०६३ दुवै आन्दोलनमा उनी नेपालमा भन्दा भारतीय समर्थन हासिल गर्न त्यहाँको उच्चस्तरीय राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग सम्पर्कमा रहे।
खासगरी लोहियाको सप्तक्रान्ति र रामायण तथा महाभारतका द्रौपदी आदि सजीव महिला पात्रलाई आदर्शका रूपमा उनको प्रस्तुतिलाई नेपाली प्रसङ्गमा अनवरत रूपमा गिरीले पनि उठाई रहे, लेख तथा साहित्यिक गोष्ठीहरूमा। तर, त्यो समझदारी र अनुभव कुनै पनि रूपमा उनको पार्टीमा हस्तान्तरण हुन सकेन।