काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिमकी पहिलो कप्तान हुन्, रमा सिंह। करिब पाँच वर्ष २०३९–४४ सम्म उनले नेपाली महिला फुटबल टिमको नेतृत्व सम्हालेकी थिइन्। झट्ट हेर्दा पाँच वर्षे करियर त्यति धेरै होइन तर नेपाली फुटबलमा कम समयमै धेरै कुरा चर्चा कमाएकी पात्रमा पर्छिन्, रमा।
उनले त्यस्तो समय फुटबल खेल्न थालेकी थिइन्, जतिबेला छोरी मान्छे खुला रूपमा बाहिर हिँड्न र छोटो लुगा लगाउनै सकस थियो। तर उनीभित्रको केही गर्छु भन्ने अठोटका कारण समाजबाट बोलिने नकारात्मक विचारले रोक्न सकेन। तिनै नेपाली महिला फुटबलकी दिग्गज सिंहलाई बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्टस् ‘डायलग’मा आमन्त्रण गरेको थियो।
स्पोर्टस् डाइलगमा सिंहले अब नेपाली फुटबललाई धेरै लगानी गरेर सुधानुपर्ने बताइन्। उनले पहिले नेपालमा पैसाका लागि फुटबल खेल्ने चलन नभएको पनि सुनाइन्। उनले भनिन्, ‘अहिले हामी पैसामा जान थाल्यौं। पहिले नाम र इज्जतका लागि खेल्ने चलन थियो। अहिले अवस्था फरक छ। बाबुआमाले धेरै पैसा भएका ठूला मान्छे, नभएका साना भनेर सिकाउन थाले।’
अब यसलाई समाधान गर्न के गर्नुपर्ला? जवाफमा उनले खेलाडीका लागि प्रशस्त लगानी गरेरै यसलाई सुधार गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘खेलाडीलाई हौसला दिन पुरस्कार रकम धेरै बनाउनुपर्छ। उनीहरूले खेलमा गोल गरेबापत पुरस्कारको व्यवस्था गरियो भने थप हौसला मिल्छ। खेलाडीलाई धेरै सुविधा दिइए राम्रो हुन्छ। खेलाडीलाई खेलको मूल्यांकन गरेर अघि बढाउनुपर्छ भन्ने लाग्छ।’
उनले आफू फुटबल छाडेर सञ्चारकर्ममा लागेपछि पनि तत्कालीन अध्यक्ष गणेश थापासँग महिला फुटबलका विषयमा धेरै बहस भएको सुनाइन्। त्यो समय समितिमा आएको पैसाको १५ प्रतिशत महिला फुटबलमा लगानी गर्नुपर्ने थियो। तर त्यो पैसा माग्न थापासँग निकै गाह्रो भएको झगडासमेत गर्नुपरेको उनको अनुभव छ।
फुटबल खेल्नुपूर्व भलिबलमा लागेकी थिइन्, रमा। उनी भन्छिन्, ‘मैले फुटबलभन्दा सुरुमा भलिबल खेलेकी हुँ। भलिबल राम्रो खेल्थें। त्यसपछि हामीले एउटा टिम बनायौं।’ सानै छँदा उनको ग्रुपमा धेरै केटाहरू हुन्थे। उनीहरूसँगै खेल्ने गर्थिन्, रमा। केटाहरूसँग खेल्ने हुँदा उनलाई वातावण मिल्यो। यसले गर्दा खेलकुदमा अघि बढ्न सक्ने परिस्थितिमा हुर्किएको उनी बताउँछिन्। उनी सम्झिन्छिन्, ‘म केटाहरूजस्तै एउटै काममा निरन्तर लागिरहने खाले थिएँ।’
उनले त्यस्तो समय फुटबल खेल्न थालेकी थिइन्, जतिबेला छोरी मान्छे खुला रूपमा बाहिर हिँड्न र छोटो लुगा लगाउनै सकस थियो।
तर भलिबलमा जमिरहेका बेला एक समय आयो, जतिबेला उनले खेल यात्रा मोडिन्। ‘१३ फागुनमा वीरेन्द्रको राज्याभिषेकमा शिक्षा दिवस मनाउने चलन थियो। त्यो बेला एएफसीले संघहरूका लागि महिला फुटबल टिम आवश्यक रहेका कारण टिम बनाउनुपर्छ भन्ने कुरा आउन थाल्यो,’ उनले भनिन्। अखिल नेपाल फुटबल संघ (एन्फा)मा कमल थापा अध्यक्ष थिए। उनले भलिबल खेलिरहेका खेलाडीलाई पनि बोलाए। रमालाई पनि फुटबलमा इच्छा जाग्यो। त्यसपछि उनी फुटबलतिर लागिन्।
‘त्यतिबेला नेपालमा फुटबल एकदमै लोकप्रिय थियो। त्यो हिसाबले मैले खेल्न थालेकी हुँ। त्यतिबेला कुनै टिम थिएनन्। हामी दुई-चार जना गएका थियौं,’ उनले विगत सम्झिइन्, ‘उतिबेलै धरान र पोखरामा फुटबल टिम बनाउन सकिन्छ भन्ने सोचिएको हो। पहिलो पटक यिनै तीन टिमबाट सुरु भएको हो।’
उनले फुटबल सुरु गर्दा क्लबहरू थिएनन्। त्यस समय अञ्चलस्तरीय फुटबल क्लबको सुरुआत हुँदै थियो। उनी बागमती अञ्चलबाट खेल्थिन्। तर पछि धरान, पोखरामा पनि टिमहरू बने। पोखरा र धरानमा धेरै लाहुरेका छोरीहरू खेल्ने गर्दथे। त्यही तीन टिमबाट १८ खेलाडी छनोट गरेर पहिलो पटक राष्ट्रिय फुटबल टिम बनेको थियो। त्यही टिमको कप्तान बनिन्, रमा।
त्यसपछि नेपालले पहिलो खेल दार्जिलिङसँग खेलेको थियो। नेपाली राष्ट्रिय टिमले खेलेको पहिलो खेल थियो, त्यो। तर त्यो खेल अन्तर्राष्ट्रिय मान्यता प्राप्त भने थिएन। नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल भने हङकङसँग खेलेको हो। त्यो समय दशरथ रंगशालाको मैदान अहिलेजस्तो व्यवस्थित थिएन।
अव्यवस्थित मैदानमा कहीँ स–साना ढुंगा हुन्थे, कहीँ माटोका ठूला ढिस्का हुन्थे। अनि मैदान पनि हार्ड हुन्थ्यो। कतै गोलै छोपिने खाले घाँस थिए। मैदानमा लडे चोट लाग्थ्यो। त्यसैताका नेपाली टिम खेल्न हङकङ गएको थियो।
‘हामीसँग खेलका कुनै टेक्निक थिएनन्। कसरी प्राविधिक खेल खेल्ने थाहै थिएन। पहिलो अन्तर्राष्ट्रिय खेल भएका कारण हामीले त्यो खेल जित्नु, हार्नु आफ्नै ठाउँमा थियो। सहभागिता जनाएका थियौं। त्यो नै ठूलो कुरा थियो,’ उनी नेपालले खेलेको पहिलो खेल सम्झिन्छिन्, ‘उतिबेला मेन्टेन नभएको मैदानमा खेलेका हामी पहिलो पटक हङकङको अनुभव गर्दा मैदान देखेर छक्क परेका थियांै।’
हङकङको मैदानमा हिँड्दा पनि लचक–लचक हुने गरेको उनी सुनाउँछिन्। ‘राम्रो कार्पेटमा हामी कहिल्यै नखेलेका कारण त्यहाँ पहिलो खेल खेल्न धेरै असहज भएको थियो। तर हामीले उक्त खेल बराबरी खेलेका थियौं’, उनले भनिन्।