शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • रेशम रिहाइको 'बार्गेनिङ' : आरजु जहाँ लड्छिन् त्यहीँ रञ्‍जिताको उम्मेदवारी

रेशम रिहाइको 'बार्गेनिङ' : आरजु जहाँ लड्छिन् त्यहीँ रञ्‍जिताको उम्मेदवारी

‘टीकापुरमा हामी ढुंगा उठाए पनि जित्छौँ। प्रधानमन्त्रीपत्‍नी आरजु लड्ने चुनाव क्षेत्र पर्खिएर बसेको छौं। आरजु जहाँबाट उठ्नुहुन्छ त्यहीँ रञ्‍जितालाई उठाउने तयारी हो, अन्यायमा पारेर निर्दोषलाई जेलमा थुन्दा पनि बेवास्ता गरेर विभेद गर्नेलाई हराउने हो।'
 |  बुधबार, भदौ १, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

बुधबार, भदौ १, २०७९

काठमाडौं- थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते भएको ‘टीकापुर घटना’मा आठ सुरक्षाकर्मीसहित एक नाबलकको हत्या भयो। हत्याको अभियोगमा रेशम चौधरी डिल्लीबजारस्थित कारागारमा छन्। उनलाई टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप लगाइएको छ।

triton college

हत्या अभियोगमा जेलमा रहेका रेशमले २०७८ पुस १९ गते निर्वाचन आयोगमा श्रीमती रञ्‍जिता श्रेष्ठको नाममा पार्टी दर्ता गराए। पार्टी दर्ता गराउँदा अन्य नेता र कार्यकर्ताको समेत टुंगो थिएन। निर्वाचनको ४ महिनाअघि मात्रै स्थापित उक्त ‘नागरिक उन्मुक्ति पार्टी’ सुदूरपश्चिमका चार स्थानीय तहको प्रमुखमा जित हात पार्‍यो। 

कैलालीमा मात्रै ४ स्थानीय तह प्रमुखसहित ९९ प्रतिनिधि जित्दै दोस्रो ठूलो दल बनेको उक्त उन्मुक्ति पार्टीले आसन्‍न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी तयारी सुरु गरेको छ। उन्मुक्ति पार्टीले जेलमा रहेका रेशमलाई छुटाउने गरी चुनावी रणनीति बनाएको छ। सुदूरपश्चिममा छोटो समयमा राम्रो पकड बनाएको उक्त पार्टीले यसपटक सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लामा आफ्ना उम्मेदवार उठाउने तयारी गरेको छ। कैलाली, कञ्‍चनपुर र बर्दियालाई आफ्नो प्रभाव क्षेत्र मानेको छ।

स्थानीय निर्वाचनमा उन्मुक्ति पार्टीले कैलालीका दुई नगरपालिका र दुई गाउँपालिका जितेको छ। टीकापुर नगरपालिकाको मेयर, भजनी नगरपालिकाको मेयर-उपमेयर, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाको अध्यक्ष-उपाध्यक्ष दुबै पद जितेको यो पार्टी निर्वाचनलगत्तै संगठन निर्माणमा जुटेको थियो। अन्य दलहरू काठमाडौं केन्द्रित रहँदा स्थानीय निर्वाचनलगत्तै गाउँमै रहेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्यो। नेता-कार्यकर्ता जिल्लामा केन्द्रित रहे भने अध्यक्ष रञ्‍जिता श्रेष्ठ चौधरीको पनि सुदूरपश्चिम आउजाउ बाक्लियो। जसले निर्वाचनका लागि राम्रो माहोल बनेको बताउँछन् प्रवक्ता दामोदर पण्डित। ‘सुदूरपश्चिमका सबै र मध्यपश्चिमका केही जिल्लाबाट उम्मेदवार उठाउने लगभग पक्का भएको छ,’ उनी भन्छन्, ‘अहिलेसम्म २१ जिल्लाबाट उम्मेदवार उठाउने लगभग पक्कापक्की भएको छ।’ कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने तयारी आफूहरूले गरिरहेको उनले बताए। 

चुनावी अंकगणित

corrent noodles
Metro Mart

पार्टी गठनको छोटो समयमै सुदूरपश्चिममा नयाँ शक्तिका रूपमा उदाएको उन्मुक्ति पार्टीको स्थानीय निर्वाचनको अंकगणित सकारात्मक छ। गत वैशाखको स्थानीय निर्वाचनमा उन्मुक्ति पार्टीले ४ पालिका र १४ वडाअध्यक्षसहित ९९ प्रतिनिधि जितेको थियो।

गठनको चार महिनामै ठूला दलहरूको विरासत ढालेको उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकाको मेयरमा उन्मुक्तिका रामलाल डगौरा थारु ९ हजार ६४२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत ल्याएका थिए। उपमेयरमा कडा प्रतिस्पर्धा गरे पनि माओवादी केन्द्रका खडक शाह ७ हजार ९५५ मतसहित झिनो मतान्तरले विजयी भए। उनका प्रतिस्पर्धी उन्मुक्तिका अल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत पाएका थिए।

यसैगरी भजनी नगरपालिकामा केवल चौधरी ८ हजार ९६६ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा माओवादीका शेरबहादुर चौधरीले ५ हजार १९८ मत पाएका थिए। उपमेयरमा पनि उन्मुक्तिकै राजु तिरुवा ७ हजार ६२२ मतसहित विजयी भएकामा उनका प्रतिस्पर्धी कांग्रेसका गोकेन्द्र भण्डारीले ४ हजार ४९० मत पाएका थिए। भजनीका ९ मध्ये तीन वडा उन्मुक्ति पार्टीले जितेको थियो।

‘टीकापुरमा हामी ढुंगा उठाए पनि जित्छौँ। प्रधानमन्त्रीपत्‍नी आरजु लड्ने चुनाव क्षेत्र पर्खिएर बसेको छौं। आरजु जहाँबाट उठ्नुहुन्छ त्यहीँ रञ्‍जितालाई उठाउने तयारी हो, अन्यायमा पारेर निर्दोषलाई जेलमा थुन्दा पनि बेवास्ता गरेर विभेद गर्नेलाई हराउने हो।'

जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी ४ हजार ९०३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका बन्साराम बडायकले ३ हजार ३६८ मत पाएका थिए। उपाध्यक्षमा उन्मुक्तिकै रेखादेवी कठरियाले ४ हजार ५८१ मत ल्याएर विजयी भएकोमा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका दीर्घराज बिडारीले ३ हजार ९६१ मत पाएका थिए। जोशीपुरमा सातमध्ये ४ वडामा उन्मुक्तिका उम्मेदवार प्यानलसहित विजयी भएका थिए। 

जानकी गाउँपालिकाको अध्यक्षमा उन्मुक्तिका गणेश चौधरी कांग्रेसका परशुराम महतोलाई १ हजार ९०९ मतले पछि पार्दै विजयी भएका थिए। उनले पाएको मत ७ हजार १५१ थियो। उपाध्यक्षमा लालमति रावतले ६ हजार ५६२ मत पाएर विजयी हुँदा उनकी प्रतिस्पर्धी गीता चौधरीले ४ हजार ८५८ मत पाएकी थिइन्। उक्त गाउँपालिकाका ९ मध्ये ५ वडा उन्मुक्तिले जितेको थियो।

यसरी क्षेत्र नम्बर १, २ र ३ मा पर्ने यी पालिकामा उन्मुक्ति पार्टीले स्थानीय निर्वाचनमा पाएका मत हेर्दा स्थापित दललाई उन्मुक्तिले कडा चुनौती दिएको थियो। निर्वाचनअघिसम्म खासै महत्व नदिइएको उन्मुक्ति पार्टीलाई सुदूरपश्चिममा अहिले अन्य दलले पनि कडा प्रतिस्पर्धीका रूपमा हेरेका छन्।

आरजुको क्षेत्रमा रञ्‍जिता

टीकापुर-१ बाट रेशमपत्‍नी रञ्जिता उठ्ने चर्चा चले पनि पार्टीले भने रञ्‍जितालाई रेशमको रिहाइको ‘बार्गेनिङ पोइन्ट’मा राख्‍ने नीति अँगिकार गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवापत्‍नी आरजु राणा देउवा लड्ने निर्वाचन क्षेत्रमा रञ्‍जितालाई अघि सार्ने तयारी पार्टीले गरेको छ।

‘टीकापुर १ बाट रञ्‍जिता लड्ने आम धारणा देखिन्छ, तर उहाँलाई टीकापुर नभएर कम सम्भावना भएको क्षेत्रमा उठाउने पार्टीको तयारी छ,’ एक केन्द्रीय नेताले भने, ‘टीकापुरमा हामी ढुंगा उठाए पनि जित्छौँ, त्यसैले टीकापुरबाट उहाँ उठ्नुहुन्छ भन्‍नु हल्ला मात्रै हो।’ प्रधानमन्त्रीपत्‍नी आरजु लड्ने चुनाव क्षेत्र पर्खिएर आफूहरू बसेको उनले बताए। ‘आरजु जहाँबाट उठ्नुहुन्छ त्यहीँ रञ्‍जितालाई उठाउने तयारी हो, अन्यायमा पारेर निर्दोषलाई जेलमा थुन्दा पनि बेवास्ता गरेर विभेद गर्नेलाई हराउने हो,’ उनले भने।

रञ्‍जिता टीकापुरमा ‘सेफ’ रहे पनि पार्टीले आरजुलाई हराउनका लागि भए पनि प्रतिस्पर्धामा रञ्‍जितालाई अघि सार्ने तयारी गरेको हो। यसो गर्दा पार्टी अध्यक्ष नै पराजित हुने अवस्था आउन सक्नेबारे जानकार पार्टी भए पनि आरजुको बलियो प्रतिस्पर्धी बन्‍नसक्ने र कम्तीमा आरजुलाई हराउन सकिनेमा आफूहरू विश्वस्त रहेको ती नेता बताउँछन्।

कैलाली र कञ्‍चनपुरमा नागरिक उन्मुक्ति पार्टीको राम्रो प्रभाव रहेकाले विरुद्धमा रञ्‍जिता उठे आरजुलाई चुनाव जित्‍न त्यति सहज नहुनसक्छ। हालसम्म आरजु कहाँबाट चुनाव लड्छिन् भन्‍ने पक्का भइसकेको छैन। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा आरजु कैलाली क्षेत्र नम्बर ५ मा ४ हजार ८८० मतान्तरले पराजित भएकी थिइन्। वाम गठबन्धनबाट एमाले उम्मेदवार नारदमुनि राना २७ हजार २०२ मतसहित निर्वाचित हुँदा आरजुले २२ हजार ३२२ मत पाएकी थिइन्। 

कैलाली ५ बाट आरजु लड्नसक्ने चर्चा चले पनि बालुवाटार निकट स्रोतकाअनुसार आरजुले उक्त क्षेत्रलाई सुरक्षित मानेकी छैनन्। जसकारण कञ्‍चनपुर ३ बाट चुनाव लडिरहेका रमेश लेखकलाई अन्तै समायोजन गरेर उक्त क्षेत्रबाट आरजु चुनाव लड्न सक्ने सम्भावना रहेको दाबी स्रोतको छ। नागरिक उन्मुक्ति पार्टीले देउवाको सोही कमजोरीमा हिर्काएर रञ्‍जितालाई रेशमको रिहाइका लागि ‘बार्गेनिङ पोइन्ट’मा राखेको छ। यदि देउवा दम्पत्तीले रेशमलाई रिहाइ गर्न पहलकदमी गर्ने सहमति गरे उन्मुक्ति पार्टी नै आरजुलाई जिताउन सहयोग गर्ने ती केन्द्रीय नेता बताउँछन्। ‘यदि आरजु र प्रधानमन्त्रीले रेशमको रिहाइमा पहलकदमी गरे हामी त्यो क्षेत्रमा आरजुलाई जिताउन लाग्छौँ,’ उनले भने।

तीन उम्मेदवार पक्का

हत्या अभियोगमा जेलभित्र रहेका रेशम चौधरीले प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारी गरेका छन्। चुनावअघि नै रेशम रिहाइ हुने उन्मुक्ति पार्टीको विश्‍वास छ। उन्मुक्ति पार्टीले रेशम बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने दाबी गरेको छ। यद्पि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ ले भने उनलाई उम्मेदवार हुन अयोग्य ठहर्‍याएको छ। 

जेलमै रहे पनि टीकापुरमा रेशमको राम्रो प्रभाव छ। टीकापुर काण्डपछि भूमिगत रहेका उनी २०७४ को निर्वाचनमा भूमिगत हुँदै क्षेत्र नम्बर १ बाट राजपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। रेशमले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मदनकुमारी शाह (गरिमालाई) २० हजार ९३५ को मतान्तरले हराएका थिए। रेशम ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा एमालेकी शाहले १३ हजार ४०६ मत पाएकी थिइन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी ईश्वरी न्यौपानले ११ हजार २०३ मत पाएकी थिइन्। 

अत्यधिक बहुमतसहित निर्वाचित भएपछि रेशमले २०७४ फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरे। जेलमै हुँदा २०७५ पुसमा संसद्को शपथ लिएर कारागार फर्किए। २०७५ फागुनमा जिल्ला न्यायधीश पर्शुराम भट्टराईको इजलासले रेशमसहित ११ जनालाई टीकापुर घटनामा दोषी करार गर्दै जन्मकैदको फैसला गरेयता टीकापुर १ प्रतिनिधिविहीन छ।

थारुहरूको बाहुल्यता भएको बर्दिया-२ रेशमको टीकापुरमा जत्तिकै प्रभाव भएको विश्लेषण उन्मुक्ति पार्टीको छ। बर्दिया–२ मा रेशम सेफ भएको जिकिर उन्मुक्ति पार्टीका प्रवक्ता पण्डितको छ। तर, पण्डितको दाबी जस्तो रेशमलाई बर्दियामा सहज भने छैन। बर्दिया–२ सांसद सन्तकुमार थारुको निर्वाचन क्षेत्र हो। यहाँ उनी १३ हजार ८२० मतान्तरले नेपाली कांग्रेसका गोपाल दहितलाई हराउँदै विजयी भएका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा थारुले ५० हजार ५५५ मत ल्याउँदा दहितले ३६ हजार ७३५ मत प्राप्त गरेका थिए। २०४६ सालदेखि राजनीतिमा होमिएका थारु २०५३ देखि भूमिगत भएका थिए। २०७४ मा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा पशुपंछीमन्त्री बनेका उनको बर्दियामा राम्रो प्रभाव छ।

उन्मुक्ति पार्टीले स्थानीय निर्वाचनताका नै सिट सुरक्षित गरेर भित्र्याएका नेता हुन्, अरुणकुमार चौधरी। स्थानीय निर्वाचन सकिएलगत्तै उन्मुक्ति पार्टीसँग चहलपहल बढाएका चौधरी नेपाली कांग्रेस परित्याग गरी असार २९ मा उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए। २०७४ सालको स्थानीय निर्वाचनमा लोकतान्त्रिक फोरमबाट मेयरमा ७५७ मतले हारेका उनको प्रभाव क्षेत्र नम्बर २ मा राम्रो छ। त्यसपछि कांग्रेस प्रवेश गरेका उनी कांग्रेसको १४ औँ महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित पनि भएका थिए। 

कैलाली २ सांसद झपटबहादुर रावलको क्षेत्र हो। उनी २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमालेको तर्फबाट २५ हजार १५७ मतसहित निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका मोहनसिंह राठौरले २३ हजार ३१३ मत ल्याएका थिए। कैलाली २ मा पुनः एमालेबाट रावल र कांग्रेसबाट राठौर पुनः उम्मेदवार दोहोरिने सम्भावना छ। 

यसैगरी उन्मुक्ति पार्टीका अर्का नेता लक्ष्मण चौधरी उठ्ने क्षेत्र पनि लगभग फाइनल भएको छ। रेशमसँगै टीकापुर काण्डमा जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएका लक्ष्मण थारुलाई उम्मेदवारका रूपमा अघि सार्ने तयारी पार्टीले गरेको छ। यदि आरजु कञ्‍चनपुरबाट निर्वाचन लडेमा लक्ष्मण धनगढी ५ बाट उठ्नेछन्। तर यदि आरजू कञ्‍चनपुरबाट नभई धनगढी-५ बाटै लडेमा भने उन्मुक्ति पार्टीले त्यहाँ रञ्जितालाई अघि सारेर लक्ष्मणलाई अन्तै सिफ्ट गर्नेछ।

चार नेतालाई उम्मेदवार बनाउने पक्कापक्की पार्टीमा भए पनि टिकटको लडाइँमा पार्टीभित्र रस्साकस्सी उस्तै छ। आकांक्षी धेरै देखिएकाले अन्य उम्मेदवार पक्का नभइसकेको पार्टी प्रवक्ता पण्डित बताउँछन्। ‘धेरै आकांक्षी देखिएका छन्, अन्य पार्टी परित्याग गरेर आउने क्रम पनि जारी छ,’ उनले भने, ‘चुनाव आउन अझै समय भएकाले उम्मेदवार टुंगो लाग्न अझै केही समय लाग्छ, अन्य पार्टीबाट आएकालाई पनि योगदान हेरेर टिकट दिन्छौं।’ उनले केही दिनमै समानुपातिक उम्मेदवार भने टुंगो लगाएर सार्वजनिक गर्ने बताए। ‘प्रत्यक्ष उम्मेदवार छनोटमा अझै केही समय लाग्छ, समानुपातिकको सूची २-४ दिनमै सार्वजनिक गर्छौँ,’ उनले भने।


प्रकाशित: Aug 17, 2022| 19:38 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...