चितवन– आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलका नेताहरुले आफ्नो निर्वाचन क्षेत्र दाबी गर्न थालिसकेका छन्। कतिपय त चुनाव लक्षित कार्यक्रमका लागि गाउँ फर्किन पनि थालिसकेका छन्। कतिपयको भने निर्वाचन क्षेत्रकै टुंगो लाग्न सकेको छैन। सहजै जित्न सकिने क्षेत्रको खोजीमा छन् उपल्लो तहका नेताहरु।
यस्तैमा पर्छन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। निर्वाचन क्षेत्र फेरिरहने परिचय बनाएका प्रचण्ड यसपटक ज्योतिषको सल्लाहअनुसार क्षेत्र निर्धारण गर्ने मनस्थितिमा छन्। यसअघि चितवन–३ बाट निर्वाचित प्रचण्डले यसपालि पनि सोही क्षेत्र रोज्ने बताएका छन्। हालै जापान भ्रमणका क्रममा प्रचण्डले आफ्नै गृहजिल्ला चितवनको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने सुनाए। ‘म चितवनबाटै चुनाव लड्छु। मैले प्रष्टसँग चार पाँच–महिनादेखि नै भनेको छु। अन्तबाट होइन, चितवनबाट नै चुनाव लड्छु। चितवनको पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्छु,’ उनले भनेका थिए।
प्रचण्ड ०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट चितवन–३ बाट उम्मेदवार बनेका थिए। दाहालसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे मैदानमा थिए। प्रचण्डले पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गरेर सांसद बने।
प्रचण्डले ४८ हजार २७६ मत ल्याउदा कांग्रेसको समर्थनमा उठेका पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए। तर उतिबेला बाम गठबन्धन र अहिलेको पाँच दलीय गठबन्धनको परिवेश भने फरक छ। यो अवस्थालाई गत वैशाखमा सम्पन्न स्थानीय चुनावले पनि प्रष्ट पार्छ।
चितवनको क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिकाका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ गरी १९ वटा वडा र माडी नगरपालिका पर्छ। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट माओवादीकी रेनु दाहाल र राप्रपासँगको तालमेलबाट माडी नगरपालिका प्रमुखमा एमालेकी ताराकाजी कुमारी महतो निर्वाचित भएकी थिइन्।
यसरी हेर्दा प्रचण्डको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने भरतपुरका १९ वडामध्ये एमाले र माओवादी केन्द्रले समान ३–३ वडा जितेका छन्। यस्तै, एकीकृत समाजवादीले २ र स्वतन्त्र उम्मेदवारले १ वडा जितेका छन्। सबैभन्दा धेरै नेपाली कांग्रेसले १० वडा जितेको छ।
यता माडी नगरपालिकाका ९ वडामध्ये नेकपा माओवादीले ४ वडा जितेको छ भने नेकपा एस र राप्रपाले समान २–२ जितेका छन्। त्यस्तै, नेकपा एमालेले एउटा वडा जितेको छ। यसरी हेर्दा प्रचण्डको निर्वाचन क्षेत्रका २८ वडामध्ये माओवादी एक्लैको ७ वडामा पकड रहेको छ। तर, सबै सत्तारुढ दलले पाएको नतिजा हेर्दा अहिलेको गठबन्धनको २१ वडामा पकड देखिन्छ।
प्रचण्ड ०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट चितवन–३ बाट उम्मेदवार बनेका थिए। दाहालसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे मैदानमा थिए।
गठबन्धनबाट निर्वाचन लड्न कस्सिएका प्रचण्डलाई कांग्रेसको सहयोग भने पूरापुर आवश्यक देखिन्छ। तर अहिलेको अवस्थामा चितवनमा कांग्रेस पनि एक ढिक्का छैन। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई उम्मेदवार बनाएपछि पार्टीभित्रै विद्रोह गरेका असन्तुष्ट समूहले शनिबारमात्रै भेला गरेर चितवन–३ मा प्रचण्डसँग प्रतिस्पर्धा गर्ने संकेत गरेको छ।
यदि कांग्रेसले प्रचण्डलाई चितवन–३ छोड्ने र असन्तुष्ट समूहले पनि उम्मेदवारी दिने अवस्था बनेमा प्रचण्डलाई गाह्रो पर्न सक्छ। माडी र भरतपुरकै केही वडामा राप्रपा नेता विक्रम पाण्डेको प्रभाव देखिन्छ। यसपालि प्रचण्डसँग प्रतिस्पर्धा गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विक्रम पाण्डेसँग तालमेल गर्ने सम्भावना पनि छ। गत स्थानीय चुनावमा पनि एमालेले राप्रपासँग तालमेल गरेको थियो। भरतपुरमा एमाले–राप्रपा गठबन्धन भए पनि सफल भने हुन सकेको थिएन ।
नेकपा एमाले चितवनका नेता रामप्रसाद न्यौपाने चितवन–३ बाट प्रचण्डलाई हराउने गरी सूर्य चुनाव चिह्नकै उम्मेदवार उठाउने दाबी गर्छन्। ‘प्रचण्डलाई अघिल्लो चुनावमा एमालेको सहयोगमा सांसद बनाइयो तर सकरात्मक भूमिका देखिएन। प्रचण्ड अस्थिर राजनीतिज्ञ हुन्। विकास र समृद्ध चाहने ३ नम्बरका जनताले फेरि जिताउँछन् भन्ने मलाई लाग्दैन,’ उनी भन्छन्।
गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट विद्रोह गरेर भरतपुर महानगरको मेयरमा बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले पनि आफूलाई ३ नम्बरबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्नका लागि दबाब आइराखेको बताए। ‘मलाई ठूलो दबाब छ। तपाईंजस्तो मान्छे संसदमा जानुपर्छ भन्ने दबाब छ। उहाँहरुले भनेअनुसार निर्णय गर्ने बेला भने भइसकेको छैन,’ उनले भने।
प्रचण्ड नै चितवन–३ बाट उठ्ने भए पनि चुनाव धाँधलीरहित र स्वतन्त्र रुपले भएमा आफूलाई जित्न कठिन नभएको पौडेलको दाबी छ। उनी प्रचण्डलाई जनमतको हिसाब गरेर एक्लै चुनाव लड्न चुनौती दिन्छन्। भन्छन्, ‘यहीँबाट चुनाव लड्ने हो भने पनि जनमतको हिसाब गर्नुहोला, परामर्श गर्नुहोला। छलफल परामर्शबाट निष्कर्ष निकालेर उहाँ (प्रचण्ड)को पक्षमा नतिजा जान सक्ला तर उहाँले भनेजस्तो यहाँका जनताले त्यति सजिलै रुचाउँछन् भन्ने मलाई लाग्दैन।’
यता, माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी भने प्रचण्डको जित सुनिश्चित रहेको दाबी गर्छन्। ‘चितवन–३ मा प्रचण्ड आउनुपर्छ र ल्याउनुपर्छ भन्ने भरतपुरदेखि खुमलटारसम्म नै दबाब छ। त्यसकारण उहाँले चुनाव जितिसक्नुभयो,’ उनले भने, ‘उहाँसँग प्रतिस्पर्धा गर्ने उम्मेदवारको अभाव देखिन्छ। कांग्रेस, एमाले र राप्रपाका विकास चाहने साथीहरुले पनि प्रचण्डलाई ल्याउनुपर्छ र जिताउन आतुर छौं भन्ने सन्देश पाएका छौं।’