काठमाडौं- सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ। मौलिक पर्वको रुपमा रहेको ओल्केलाई सुदूरपश्चिममा धुमधामका साथ मनाइन्छ।
पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ। साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।
ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको 'गाभा' अर्थात् भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ।
यो पर्व विशेषमा ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गुड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ।
दूरपश्चिममा भदौ १ गते प्रत्येक वर्ष ओल्के पर्व मनाइन्छ। डोटी लोक संस्कृतिका जानकार डा. बद्रिशर्मा विनाडी साउनको कालो दिनबाट मुक्त भएको खुसीयालीमा ओल्के पर्व मनाइने गरेको बताउँछन्।
'साउनको अन्तिम रात हातमा भंगिरी (तिउरी फुलबाट तयार पारिएको बस्तु) बाध्ने चलन छ। त्यसबाट हातमा रातो दाग बस्छ। असार, साउनमा काम गर्दा माटोले खाएका हातमा त्यसरी भंगिरी लगाउँदा घाउ, चोटपटक निको हुन्छन्। तिउरी पिसेर बनाएको लेदो हत्केलामा लगाएर केराको पात वा फर्सिको पातले रातभर हात बाध्ने चलन छ,' बिनाडी भन्छन्। दोस्रो दिन बिहानै उठेर पुजाआजा गरी मिष्ठान्न परिकार खाने चलन रहेको उनी बताउँछन्।
‘साउन महिनामा धेरै वर्षा हुने, जनजीवन प्रभावित बन्ने, घाम नलाग्ने गरेका कारण मानिसले आउन सकिएपछि कालो महिनाको अन्यको खुसीयालीमा एक आपसमा रमाइलो गर्दै यो पर्व मनाउने गरेको पाइन्छ,' उनले भने।
साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा यो पर्व मनाइँदै आएकोमा पछिल्लो समय कैलाली कञ्चनपुरमा समेत पहाडी समुदायको बाक्लो बसोबास भएपछि यस क्षेत्रमा पनि ओल्के मनाइने गरिएको उनले बताए।
साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्त्वका साथ ओल्के पर्व मनाइने परम्परा रही आएको छ। ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता भएको विनाडीले बताए।
'आफ्नो जेठो परिवार, गाउँका मुखिया, धामी झाक्री, पुजारीलगायत गाउँका मान्यजनलाई यो पर्वमा हरियो साग र फलफूल उपहार दिने चलन छ,' उनले भने।
सबैले घरघरमा दिने हरियो सागपातको कोसेली तथा फलामका सामाग्रीलाई नै ‘ओल्को’ (ओलक) भन्ने गरिँदै आएको छ। पहिले वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो, कुष्ठरोगजस्ता रोग लाग्ने भएकाले ती रोगबाट बाँचिएको खुसी साट्न यो पर्व मनाइने गरिएको लोक देउडा गायक सुरत रावत डोटेली कान्छा बताउँछन्।
ओल्केकै दिन सबै गाउँ नजिकैको चौबाटोमा गइ सल्लाको लिङ्गो समेत गाड्ने गर्छन्। भदौ संक्रन्तिका दिन गाउँ नजिकका डाँडामा सबैजना भेला भएर रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भन्दछन्। यो बुढीलाई भदौ मसान्तका साँझ गाउँका सबैजना मिलेर एकैसाथ पोल्ने चलन छ। भदौ मसान्तका दिन जलाइने लिङ्गोलाई बूढी पोलिएको भन्ने परम्परा छ।
मौलिक पर्वको रूपमा मनाइँदै आएको ओल्केमा कामका लागि घरदेखि टाढा गएकाहरू समेत घर फर्कने गर्छन्। आपसमा सुख दुःख साटासाट गर्ने चलन छ। वर्षामा दैवीप्रकोपबाट बाँचिएको खुसीयालीमा ओल्के र दुःखका दिन आउन थालेको दुःखमा बिसु पर्व मनाउने गरिन्छ। वैशाख लगत्तै विभिन्न रोग व्याधि तथा दैवी प्रकोपको समय आउने भएकाले मर्नुपर्ने हो कि भन्ने चिन्ताले बिसु पर्व मनाउने गरिएको बुढापाका बताउँछन्।
सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँगाउँमा ओल्के पर्वको अवसरमा पिङसमेत खेल्ने गरिन्छ। ओल्केकै अवसरमा यहाँका स्थानीय डेउडाको खेलसमेत खेल्ने गर्छन्। साउन मसान्तको रातिदेखि भाद्र संक्रान्तिको दिनभरी देउडा खेल खेल्ने गरिन्छ।
ओल्के पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदासमेत दिएको छ।