शनिबार, साउन १२, २०८१

एमालेभित्र '१० भाइ'का दुःख- कसै-कसैले त टिकट पाउनै मुस्किल!

नेकपा एमाले विभाजन गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठनका बेलामा एमालेको दोश्रो तथा तेश्रो पुस्ताका १० जना नेता खबै चर्चामा थिए।
 |  मंगलबार, कात्तिक १४, २०७४

खिला कार्की

खिला कार्की

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- नेकपा (एमाले) विभाजन गरेर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्नुअघि एमालेको दोस्रो तथा तेस्रो पुस्ताका १० नेता चर्चामा थिए। माधव नेपालको साथमा रहेका तर नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठनका बेलामा केपी ओलीले १० बुँदे सहमति गरेपछि एमालेमा नै रहेका ती १० नेता अहिले एमालेमा पाखामा परेका छन्।

triton college

पार्टी विभाजनको अन्तिम अवस्थामा माधव नेपालको साथ छोडेर ओलीलाई साथ दिने १० भाइमा भीम रावल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, युवराज ज्ञावली, घनश्याम भुषाल, योगेश भट्टराई भीम आचार्य, गोर्कण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए।

यी १० भाइ एमालेमा हुँदा माधव नेपालको साथमा उभिने गरेका थिए। तर पार्टी विभाजनका बेला उनीहरूले अन्तिम समयमा आएर नेपालको साथ रोजेनन्। नेपाललाई साथ नदिएर एमालेमा नै बसेका १० भाइप्रति अध्यक्ष ओली दाहिना भएका छैनन्। 

महाधिवेशनमै अपमान 
आलोचनात्मक चेत राख्ने भनिएका १० भाइलाई नेपालसँगै जानबाट रोक्न सफल भएका अध्यक्ष ओलीले उनीहरूसँग सहज सम्बन्ध भने बनाउन सकेका छैनन्। गत मंसिर १०/१२ गते चितवनमा पार्टीको १०औं महाधिवेशनमा नै उनले किनारा लगाउन चाहेको प्रष्ट थियो। ओली महाधिवेशनमा निर्वाचनका कार्यक्रम नै गराउन चाहँदैनथे। तर ओलीसँगै प्रतिस्पर्धामा उत्रिएका नेता भीम रावल र उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसालको जोडबलका बाबजुद पनि निर्वाचनको कार्यक्रम औपचारिकतामा मात्र सीमित भएका थिए। 

विषम परिस्थितिमा भएको महाधिवेशनअन्तर्गतको चुनावमा ओलीका प्रतिस्पर्धी रावलले निकै कम मत प्राप्त गरे। ओली पक्षका कार्यकर्ताहरूले महाधिवेशनस्थलमा नै रावलविरुद्ध नाराबाजी चर्काएका थिए। यसरी भएको निर्वाचनमा कुल खसेको २ हजार ९६ प्रतिनिधिको भोटमध्ये रावलको पक्षमा २२३ मत खसेको थियो। ओलीले १ हजार ८३७ मत ल्याएका थिए। 

Metro Mart
vianet

१० भाइमध्येका घनश्याम भुषाल र सचिवमा भीम आचार्य पराजित भए। १० भाइमध्ये उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे अहिले एमालेको केन्द्रीय समितिमा छन्। सचिवमा गोकर्ण विष्ट र योगेश भट्टराई छन्। पदाधिकारीमा निर्वाचित नभएपनि घनश्याम भुसाल, भीम आचार्य, रघुजी पन्तलाई स्थायी समितिमा समावेश गरिएको छ। अमृत बोहोरालाई सल्लाहाकार परिषद्को अध्यक्ष बनाइएको छ। 

उम्मेदवारी नै दाबी नगर्ने सोचमा ३ पूर्वउपाध्यक्ष
१० भाइमध्ये अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली तत्कालीन एमालेका उपाध्यक्षहरू थिए।  शाक्य र ज्ञवाली अहिले पनि उपाध्यक्ष नै छन्। बोहरा भने सल्लाहकार परिषद्को अध्यक्ष बनेका छन्। यी तीनै जना आगामी चुनावमा उम्मेदवारी नै दाबी गर्ने अवस्थामा छैनन्। 

ज्ञवाली गत २०७४ को निर्वाचनमा पनि चुनाव लड्नबाट पछि हटेका थिए। त्यसबेला पार्टीले चुनाव लड्न सुझाव दिएपनि निर्वाचन महँगो हुने भन्दै उनी पछि हटेका थिए। यसपालि पनि उनले चुनाव सस्तो हुने देखेका छैनन्। ज्ञवालीले चुनाव जितेर पदमा पुग्ने भन्दा पनि पार्टी र संगठन राम्रो बनाउनुपर्छ भन्ने मान्यता आफ्नो रहेको बताउँदै आएका छन्। 

दाङ-३ का ज्ञवालीको क्षेत्रबाट एमालेले कोमल वली वा तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डेलाई प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सक्ने सम्भावना रहेको एमाले नेताहरु बताउँछन्। दाङ-३ मा २०७४ सालको चुनावमा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको हिराचन्द्र केसी अहिले नेकपा एसमा छन्। 

वैशाखमा भएको स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतलाई हेर्ने हो भने दाङ-३ मा एमाले नै पहिलो पार्टी हो। यो क्षेत्रमा एमालेको ३८ हजार ६५८, कांग्रेसको ३० हजार ९८९, माओवादीको १२ हजार ८८० र नेकपा एसको १ हजार मत छ। पाँच दलबीच कसिलो गठबन्धन भएर मत 'ट्रान्सफर' भएको अवस्थामा विजयी हुन एमालेका उम्मेदवारलाई यो क्षेत्रमा सजिलो छैन। 

त्यस्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अघिल्लो निर्वाचनमा बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएपनि यो पटक प्रदेश र संघ कतै पनि निर्वाचन नलड्ने मनस्थितिमा छिन्। उनले पनि खर्चिलो निर्वाचन प्रणालीबाट त्रसित भएको भन्दै चुनाव लड्न इच्छा नभएको निकटस्थहरुसँग बताउने गरेकी छन्। उनी निकट नेताहरुका अनुसार प्रदेश सभामा नदोहोरिने र संघमा जित्ने निश्चित नभएकाले अनिच्छा देखाएकी हुन्। 

२०७४ सालको निर्वाचनमा उनी काठमाडौं-८ को प्रदेशसभा ‘ख’बाट निर्वाचित भएकी थिइन्। त्यसबेला शाक्यले ५ हजार १६९ मत ल्याउँदै काँग्रेसका देवरत्न डंगोललाई पराजित गरेकी थिइन्। अष्टलक्ष्मी प्रदेश सभा सदस्य भएको बेलामा काठमाडौं-८ (प्रतिनिधि सभा निर्वाचन क्षेत्र) बाट एमालेका जीवनराम श्रेष्ठ उम्मेदवार बनेर जित हात पारेका थिए। जीवनरामले नेपाली कांग्रेसका नवीन्द्रराज जोशीलाई पराजित गरेका थिए। अहिले श्रेष्ठ नेकपा एसमा छन्। 

आगामी निर्चाचनमा पनि काठमाडौं-८ मा गठबन्धनका तर्फबाट श्रेष्ठ सशक्त दाबेदार हुन्। यो क्षेत्रमा अहिले एमालले प्रदेशसभा सदस्य राजेश शाक्यलाई उम्मेदवार बनाउने संभावना रहेको एमाले नेताहरुको भनाइ छ। स्थानीय तहको मतलाई हेर्दा यो क्षेत्रमा कांग्रेसको १० हजार ८७२, एमालेको ९ हजार २५३, नेकपा एसको ५ हजार १४२, राप्रपाको ३ हजार १६० र माओवादी १८९ छ। गठबन्धनसँग झन्डै दोब्बर मतान्तर भएपछि शाक्यले यो क्षेत्रमा चुनाव उम्मेदवार बन्ने दाबी नै छाडेको बताइन्छ।

मंसिर ४ को चुनावका लागि अमृत बोहोराले पनि प्रत्यक्षतर्फ उम्मेदवार बन्ने इच्छा देखाएका छैनन्। उनको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-१ हो। अघिल्लो पटक पनि उनको क्षेत्रमा वाम गठबन्धनबाट अग्नि सापकोटा चुनावी मैदानमा थिए। उनको क्षेत्रमा अब एमालेबाट अरुण नेपाल र सरेश नेपाल चुनावी मैदानमा आउने सम्भावना छ। यो क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतको पनि सशक्त दाबी छ। सापकोटा र बस्नेत कसका भागमा पर्ने भन्ने टुंगो लगाउन गठबन्धनमा पनि ठूलै सकस पर्ने देखिएको छ। स्थानीय चुनावमा सिन्धुपाल्चोक १ मा पनि एमालेभन्दा गठबन्धन धेरै मतले अगाडि देखिन्छ। यो क्षेत्रमा कांग्रेसको ३४ हजार ७६१, एमाले २७ हजार ५९, माओवादीको १९ हजार ३४४ र नेकपा एसको २ हजार ३११ मत छ। 

टिकट पाउनै समस्या 
१० भाइमध्येका भीम रावल, घनश्याम भुषाल र भीम आचार्यलाई भने एमालेबाट टिकट पाउनै समस्या पर्ने एमालेका नेताहरुले बताएका छन्। एमालेका १० भाइको नेतृत्वको गर्ने भीम रावल, घनश्याम भुसाल र भीम आचार्यले भने सहजै टिकट पाउने सम्भावना नरहेको एमालेका एक स्थायी कमिटी सदस्य बताउँछन्। 

भीम रावल अछाम-१ बाट अहिले प्रतिनिधिसभा सदस्य हुन्। उनी यो पटक पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्छन्। तर उनको उम्मेदवार बन्ने दावीलाई कृष्णप्रसाद जैसीले चुनौती दिइरहेका छन्। उनी जिल्लामा माधव नेपालहरुले एमाले विभाजन गर्दादेखि नै केपी ओलीका निकट मानिन्छन्। अछाम जिल्लाको पूर्व जिल्ला विकासको सभापतिसमेत रहेका जैसी २०७० सालदेखि नै प्रतिनिधिसभा सदस्यको दावेदार थिए। उनले रावललाई यो पटक टक्कर दिने छन्। रावलले टिकट नै हात पारेपनि जित निकाल्न सहज छैन। 

अछाम एमालेकै नेताका अनुसार जिल्लामा रावलको राजनीति जोगाइदिएका शेरबहादुर कुँवर अहिले रावलसँग छैनन्। उनी रावलसँगै प्रतिनिधिसभा सदस्य भिड्ने तयारीमा छन्। ती नेताले भने, ‘एमाले विभाजनको कहिँ असर परेको छ भने त्यो अछाम जिल्ला हो।  शेरबहादुर रावल संसद विघटनपछि केपी ओलीविरुद्ध उभिए। उनका कार्यकर्ता जति सबै माधव नेपालको पार्टीमा क्रियाशील छन्। भीम रावल अहिले एक्लै छन्।’गठबन्धनमा सिट बाँडफाँट हुँदा कांग्रेसका भागमा यो क्षेत्र परे गोविन्दबहादुर शाह, भरतकुमार स्वाँर र मेघराज खड्कामध्ये एक जना उम्मेदवार बन्न सक्ने अछाम कांग्रेसका नेताको आकलन छ। 

स्थानीय तहको निर्वाचनको मत परिणाममा गठबन्धनभन्दा एमाले निकै पछि छ। अछाम-१ मा कांग्रेसको १६ हजार ७२८, एमालेको १६ हजार ५६७, माओवादीको ६ हजार ७९०, र नेकपा एसको २ हजार ७५२ मत छ। गठबन्धनमा रहेका दलहरु मत एमालेको भन्दा १० हजार बढी देखिएपनि अबको चुनावमा सबै मत उस्तै प्रवृत्तिले ट्रान्सफर हुन्छ भन्ने ग्यारेन्टी हुँदैन।

000

घनश्याम भुसाललाई पनि टिकट फुत्काउन र जित हात पार्न दुवै समस्या रहेको रुपन्देहीका एमाले नेताहरुले बताउने गरेका छन्। भुसालको निर्वाचन क्षेत्र रुपन्देही-३ बाट नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँण चुनावी प्रतिस्पर्धामा हुनेछन्। यो क्षेत्रमा स्थानीय तहको चुनावमा वडा अध्यक्षले पाएको मतका आधारमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो। कांग्रेसको ३४ हजार १५३, एमालेको २९ हजार ४८, राप्रपाको १३ हजार ३९७, जसपाको ६ हजार १८३, माओवादीको २ हजार ८८१, लोसपाको २ हजार १७४ र नेकपा एसको ९७७ मत छ। यो क्षेत्रमा एमाले र राप्रपाका बीचमा तालमेल भएमा पाँचदलीय गठबन्धनलाई टक्कर दिने अवस्था छ। 

तर यो क्षेत्रमा राप्रपाले पनि दाबी गर्दै आएको छ। अघिल्लो पटक राप्रपाले एमाले उम्मेदवारलाई सघाएकाले यसपालि आफूहरूले पाउनुपर्ने दाबी राप्रपाले नछोडेमा घनश्याम आफैं उम्मेदार बन्नबाट रोकिन्छन्। रुपन्देही एमालेका एक नेताका अनुसार यसपालि एमालेबाटै पनि भुसाललाई रोक्न पार्टीभित्रै बाट प्रयास भइरहेको छ। एमालेका ती नेताले रुपन्देही-३ बाट एमालेको उम्मेदवार महिला हुने बताए। एमालेले लुम्बिनी प्रदेश कमिटी सदस्य पुष्पाञ्जली उपाध्यायलाई अगाडि सार्ने स्थानीय एमाले नेताको अनुमान छ। पुष्पाञ्जली केपी ओलीका साथै विष्णु पौडेल निकट मानिन्छिन्। 

000

२०७४ को निर्वाचनमा सुनसरी-१ 'ख'बाट प्रदेशसभा सदस्यमा विजयी भएका भीम आचार्य छोटो समय प्रदेश १ को मुख्यमन्त्री बनेका थिए। गठनबन्धन नेता राजेन्द्र राई (नेकपा एस)ले मुख्यमन्त्रीबाट विस्थापित गरेका आचार्यलाई प्रतिनिधि सभा प्रत्यक्षतर्फ टिकट पाउन र जित हात पार्न उत्तिकै समस्या छ। आचार्यलाई सांसद जयकुमार राई र वर्तमान प्रदेशसभा सदस्य प्रदीप भण्डारीले सुनसरी-१ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनौती दिन सक्छन्। प्रदेशसभा सदस्य प्रकाश राईलाई एमालेले यसपालि सुनसरी-१ बाट उठाउने तयारीमा छ। 

सुनसरी-१ एमालेको बाहुल्यता रहेको क्षेत्र हो तर धरानलगायत जनजाति भएको क्षेत्रसमेत यही क्षेत्रमा पर्ने भएकाले आफूले टिकट पाउनुपर्ने लबिङ प्रकाश राईले थालेका छन्। यो क्षेत्रमा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका अशोक राई उम्मेदवार बन्ने सम्भावना बढी छ। यो क्षेत्रमा कांग्रेसबाट मीन विश्वकर्माले प्रत्यक्ष चुनाव लड्ने ईच्छा देखाएका छन्।  

एमालेबाट पहिलो पटक प्रधानमन्त्री बनेका मनमोहन अधिकारीको निर्वाचन क्षेत्रका रुपमा चिनिएको सुनसरी-१ मा अहिले पनि एमालेको मत बढी छ। स्थानीय तहमा वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा एमालेको ३३ हजार ४५३, कांग्रेसको २६ हजार ६६४, माओवादीको ७ हजार १८ र राप्रपा ४ हजार ७४ मत देखिन्छ। राप्रपा र एमालेबीचमा तालमेल भएका खण्डमा यो क्षेत्रमा सत्तारुढ गठबन्धनलाई पनि जित निकाल्न सहज देखिँदैन।

000

त्यस्तै १० भाइमध्येका एक नेता हुन् सुरेन्द्र पाण्डे। अध्यक्ष ओलीको चेपुवाका पर्ने मानिएका एमाले पाण्डे पनि चितवन-१ बाट २०७४ सालको चुनावमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। तर यो पटक सुरेन्द्रलाई चितवन जिल्ला कमिटीका पूर्व अध्यक्ष जगन्नाथ थपलियाले चुनौती दिने पक्कापक्की छ। थपलिया केपी ओली निकट मानिन्छन्। चितवन-१ बाट २०७४ सालमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर पाण्डेले ५० हजार ८ सय ९६ मतका साथ विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र  बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत प्राप्त गरेका थिए। 

यो क्षेत्रमा गत स्थानीय तहको चुनावमा पनि एमाले नै अगाडि देखिन्छ। स्थानीय चुनावमा एमालेको ३९ हजार ६०६, कांग्रेसको ३६ हजार ७८३, माओवादीको ५ हजार ५०८, राप्रपाको ४ हजार ५९० र नेकपा एसको ४ हजार ५ मत छ। यो क्षेत्रमा सरकारमा रहेका दलहरुका बीचमा गठबन्धन भएको अवस्था र एमाले राप्रपाका बीचमा पनि गठबन्ध भएको अवस्थामा गठबन्धनको मत थोरै मात्र अगाडि देखिन्छ। तर टिकटमा नै झमेलामा पर्ने अवस्थामा रहेको पाण्डेलाई चुनौती दिनका लागि नेपाली कांग्रेसका तर्फबाट योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले वा अघिल्लो पटक पाण्डेसँग प्रतिस्पर्धा गरेका बुर्लाकोटी उम्मेदवार बन्ने सम्भावना रहेको कांग्रेस नेताहरुको भनाइ छ। 

योगेशलाई पनि अफ्ठ्यारो 
२०६४ र २०७० को निर्वाचनमा काठमाडौं-६ बाट पराजय भोगेका योगेश २०७४ को निर्वाचनमा जन्मथलो ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भए। अघिल्लोपटक माओवादीसहितको वाम गठबन्धनको बलमा विजयी योगेशलाई यसपटक भने टिकट लिन नै ठूलो कसरत गर्नुपर्ने देखिन्छ। उनलाई एमालेकै पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्बोले चुनौती दिइरहेका छन्। मेन्याङ्बो अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन्। उनले योगेशलाई ताप्लेजुङमा पाहुनाको संज्ञासमेत दिने गरेका छन्। मेन्याङ्बोले अघिल्लोपटक योगेशले यो पटक आफूलाई छाड्ने गरी सहमति गरेको समेत बताउँदै आएका छन्। 

यता योगेशले भने पार्टी सचिव भएको नाताले आफूले नै टिकट पाउने दाबी गरेका छन्। पार्टी अध्यक्ष ओलीनिकट नेताबाटै टिकटमा दाबी आएपछि योगेश उपाध्यक्ष सुवास नेम्वाङलाई लिएर ताप्लेजुङ पुगेका थिए। 

ताप्लेजुङमा कांग्रेसबाट पूर्वमन्त्री मणि लामा, इच्छाराम गुरुङ र केशवप्रसाद दाहाल, लिला बोखिम / टीका गुरुङमध्ये एकलाई उम्मेदवार बनाउने छ। कांग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्मेहाङले भने प्रदेशमा उठ्ने इच्छा व्यक्त गरेका छन्। 

ताप्लेजुङमा अघिल्लोपटक भट्टराई २९ हजार ४७९ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत पाए। वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा एमाले बलियो देखाएको छ। गठबन्धन दलहरू कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षहरूको मत जोड्दा २५ हजार १२ हुन्छ, जबकि एमाले एक्लैको २४ हजार २९५ मत छ।

झन्डै झन्डै रिटार्यड रघुजी 
पत्रकारिताको पृष्ठभूमिबाट एमालेको राजनीतिमा होमिएका रघुजी पन्त नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्। ललितपुर-३ उनको निर्वाचन क्षेत्र हो। पन्त सो क्षेत्रबाट २०५६ सालमा प्रतिनिधिसभा सदस्य भएका थिए। २०६४ सालको चुनावमा पन्तले जीत निकाल्न सकेनन्। सोभन्दा पछाडि राजनीतिको यात्रा ओरालो लागेको थियो पन्तको। सधैं माधव नेपालको विश्वासपात्रका रुपमा काम गरेको पन्तले पछिल्लो पटक एमाले विभाजनमा साथ दिएनन्। योसँगै झन्डै झन्डै संसदीय राजनीतिमा पन्त रिटायर्ड जस्तै भएको एमालेका नेताहरुले बताउने गरेका छन्। 

२०७४ सालको चुनावमा वाम गठबन्धनका उम्मेदवार पम्फा भुसाललाई दिइएको थियो। भुसालले नेपाली कांग्रेसका तत्कालीन ललितपुर जिल्ला अध्यक्ष मदन अमात्यलाई पराजित गरेकी थिइन्। यो क्षेत्रका अहिले एमालेका तर्फबाट प्रदेश सांसद जीवन खड्काको दाबी छ। स्थानीय तहमा वडा अध्यक्षले पाएको मतलाई आधार मान्दा कांग्रेसको १८ हजार ५४५, एमालेको १७ हजार ७०९, माओवादीको ७ हजार ७२७, नेकपा एसको ५ हजार १२९ र राप्रपाको ४ हजार ३४२ मत छ। यस्तो अवस्थामा गठबन्धन स्पष्ट रुपमा बहुमतमा देखिन्छ।

गोकर्णलाई सहज 
आम चुनावमा दश भाइमध्येका गोकर्ण विष्टलाई अन्य ९ जनाभन्दा बढी सहज देखिन्छ। विगतमा पनि ओलीका विरुद्धमा त्यति आक्रमक नभएका विष्ट गुल्मी-२ बाट अहिले प्रतिनिधिसभा सदस्य हुन्। १० भाइमध्ये अन्य नेताको तुलनामा विष्टलाई उम्मेदवार बन्न सहज भएको एमालेभित्र चर्चा छ। 

गोर्कणको क्षेत्रमा प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालको दाबी छ। अर्याललाई अन्यत्र व्यवस्थापन गरेर विष्टले टिकट लिने सम्भावना बलियो रहेको गुल्मी एमालेका नेता बताउँछन्। विष्टले २०७४ मा ३४ हजार ६१८ मतसहित कांग्रेसका चन्द्रबहादुर केसीलाई पराजित गरेका थिए। 

स्थानीय चुनावमा वडा अध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा एमाले अगाडि छ। एमाले अगाडि भएपनि गठबन्धन भएको अवस्थामा पनि भने गठबन्धनका उम्मेदवारले जित निकाल्न सक्छन्। स्थानीय तहको चुनावमा एमालेका ३१ हजार २५३, कांग्रेसको २९ हजार ८२१, माओवादी १८ हजार ४१ र नेकपा एसको ६५८ मत छ। यो क्षेत्रमा नेपाली कांग्रेसका चन्द्र केसी उम्मेदवार बन्ने दाउमा छन्। भने गठबन्धनका तर्फबाट नेकपा एसकी सचिव रामकुमारी झाँक्रीको पनि दाबी रहेको छ। 

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...