नेपालगञ्ज– सरकारले ८४ करोड रुपैयाँको हतियार किन्न तीन विदेशी कम्पनीसँग गरेको सम्झौता अहिले रोकिएको छ। सरकारले विदेशी मुद्रा सञ्चितिको कारण देखाएर रोकेको बताए पनि भारतको ‘अब्जेक्सन’ हुन सक्छ भनेर टिप्पणी भइरहेको छ।
सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको बुँदा नम्बर ५ मा ‘नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाका निम्ति चाहिने हातहतियार, कलपुर्जा, गोलीगठ्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अधिकार छ। दुई सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारबाहीको तय गर्नेछन्’ भन्ने उल्लेख छ। तर भारतले लागू गरेको छैन। नेपालको हातहतियार खरखजाना खरिदमा भारतले प्रत्यक्ष चासो राख्दै आएको छ।
अब फर्किऔं २०४५ तिर। तत्कालीन राजा वीरेन्द्रले चीनबाट ‘एन्टी एयरक्राफ्ट गन’ खरिद गर्न चाहेका थिए। सन् १९८८ जुलाई अर्थात् २०४५ साउन, भदौतिर नेपालले चीनबाट चाइनिज एयर डिफेन्स आर्टिलरी ल्याउन चाहेको थियो। आकाशबाट युद्ध विमान खसाउने हतियारे ‘एन्टी एयरक्राफ्ट गन’ चीनबाट ल्याउने कुरा भारतलाई मन पर्ने कुरै भएन। त्यसपछि भारतले नेपालमाथि नाकाबन्दी लगायो। भारतले लगाएको त्यो तेस्रो नाका बन्दी थियो। राजीव गान्धीले लगाएको त्यो १५ महिने नाकाबन्दी १० चैत २०४५ बाट सुरु १७ असार २०४७ सम्म चलेको थियो।
त्यो समय नेपालका प्रधानमन्त्री थिए, मरीचमान सिंह श्रेष्ठ। कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतसँगका यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।
नाकाबन्दी गर्नुका अन्य कारण पनि छन् भन्छन्, राजनीतिक विश्लेषक नरेन्द्रजँग पिटर। राजीव गान्धी पत्नी सोनिया गान्धीलाई नेपाल भ्रमणको समय गैरहिन्दुलाई पशुपतिमा पस्न नदिइएको कारणबारे चर्चा भएको थियो। इटालीयन मूलकी श्रीमती सोनिया गान्धी र तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी सन् १९८८ मा नेपाल आएको समय सोनियालाई पशुपतिमा प्रवेश गर्न नदिइएको विभिन्न जानकारले लेखेका छन्।
२०४५ को भूकम्पले थलिएका बेला भारतले लगाएको नाकाबन्दीको नेपालका प्रधानमन्त्री मरीचमानले डटेर सामना गरेको विश्लेषक पिटर सम्झन्छन्। त्यो अवस्थामा मरीचमानले नाकाबन्दी सामना गर्न चीनबाट नुन आयात गरेका थिए। राजा वीरेन्द्र र भारतीय प्रधानमन्त्री राजीव गान्धीबीचको टकरावको चपेटामा मरीचमान परेका थिए। मरीचमानको छोटो कार्यकालमै नेपाली राजनीतिमा परिवर्तन भयो। बहुदल आयो। त्यसको खलनायकको रूपमा कतिपयले व्याख्या गर्छन्, उनी मरीचमानलाई।