शुक्रबार, वैशाख २१, २०८१

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।
 |  सोमबार, साउन ३०, २०७९

विनोद परियार

विनोद परियार

सोमबार, साउन ३०, २०७९

बुटवल– सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै ‘हेवि वेट’ नेताहरुको निर्वाचन क्षेत्रमा के हुन्छ भन्ने कौतूहल चिया पसलदेखि राजनीतिक वृत्तमा बढेको छ। पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुु पौडेलको निर्वाचन क्षेत्रमा पनि चुनावी जोडघटाउ सुरु भएको छ। 

triton college

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः माओवादीका भक्ति पाण्डे, ०७० मा डा. बाबुराम भट्टराई र कांग्रेसका सूर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका युवराज गिरीलाई हराएका थिए। 

२०४८ सालको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका बालकृष्ण खाण विजयी भएका थिए भने २०५१ सालमा एमालेका मोदनाथ प्रश्रितले खाणलाई हराएका थिए। पौडेल मात्रै यस्तो नेता हुन् जो रुपन्देहीको क्षेत्र नम्बर २ (०७४ अघिसम्म निर्वाचन क्षेत्र ४) बाट लगातार ३ पटक निर्वाचन जित्न सफल भए। लगातार जित हासिल गरेकै कारण आफ्नो निर्वाचन क्षेत्रलाई ‘एमाले लाल किल्ला’ का रुपमा उनले परिचित समेत बनाएका थिए। तर, गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले ‘एमाले लाल किल्ला’ भत्काइदिएको छ।

एमालेका प्रभावशाली नेता पौडेलका लागि यो पटक आफ्नै पूर्व सहकर्मीहरु नै बाधक हुने देखिएका छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जसले पौडेलसँग विजयोत्सव मनाए, तिनै यो पटक तगारो बन्दैछन्। ०७४ को प्रतिनिधिसभामा एमाले र माओवादी गठबन्धन बनेको थियो। अहिले नेकपा एमालेसमेत विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि आफ्नै पूर्व नेता र कार्यकर्ताहरु मंसिर ४ मा पौडेलका लागि पर्खाल बन्ने सम्भावना छ।  

पौडेलले २०७४ सालमा भारी मतका साथ कांग्रेसका उम्मेदवार युवराज गिरीलाई पराजित गरेका थिए। त्यतिखेर पौडेलले ४४ हजार ९ मत ल्याउँदा गिरीले २१ हजार ९४५ मत मात्रै ल्याएका थिए। दोब्बरभन्दा बढी मतले जितेका पौडेलका लागि यो पटक निर्वाचन जित्न थप मेहनत गर्नुपर्नेछ। वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा पाँच दलीय गठबन्धन बलियो देखिएको छ। पौडेलको निर्वाचन क्षेत्रमा बुटवल उप–महानगपालिकाका १ देखि १३ नम्बर सम्मका वडाहरू, सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडाहरू र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्छन्। यी तीनै नगरमा गठबन्धनबाट नगर प्रमुखमा नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन।

corrent noodles
Metro Mart
विष्णु पौडेलका लागि आफ्नै विगतको एजेन्डा घातक बन्न सक्ने एमालेकै कार्यकर्ताहरु बताउँछन्।

उपप्रमुखमा भने एमालेका उम्मेदवार विजयी छन्। तर, तीन स्थानीय तहका सीमित वडाहरु समेटेर निर्वाचन क्षेत्र बनेको हुँदा वडाध्यक्षहरुको मतको आधारमा विश्लेषण गर्दा गठबन्धन नै अंक गणितमा बलियो देखिएको छ। वडाध्यक्षहरुले पाएको मत अनुसार गठबन्धनले निर्वाचन २ मा ३९ हजार ६ सय ५४ मत प्राप्त गरेको छ। नेकपा एमालेका वडाध्यक्षहरुले ३३ हजार १ सय ८७ मत प्राप्त गरेका छन्। यस आधारमा गठबन्धन ६ हजार ४ सय ६७ मतले अगाडि देखिन्छ। एमालेले यसपटक बुटवलमा जनमुक्ति पार्टीसँग तालमेल गरेको थियो। जनमुक्तिले बुटवलको १ देखि १३ सम्म ३ हजारभन्दा बढी मत रहेको दाबी गरेको छ।

त्यसरी हेर्ने हो भने मतान्तर १० हजार नजिक पुग्ने देखिन्छ। तर, नेकपा एमालेका नेता लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ वैशाख ३० गतेको अंक गणित मात्रै आधार नहुने बताउँदै गठबन्धन सरकारले गरेका कुकर्म र दशमुख फर्केको गठबन्धनका कारण पूर्व अर्थमन्त्री पौडेलका लागि चुनौती नभएको तर्क गर्छन्। ‘स्थानीय चुनावमा केही अन्तरविरोधहरु देखिएको हो। व्यक्तिगत आचारमा आक्रोश पोखिएको देखिन्छ,’ बुटवलका पूर्वमेयर समेत रहेका श्रेष्ठले भने, ‘विकासको नेतृत्व रुपन्देहीमा एमाले बाहेक अरुले गर्न नसक्ने त प्रष्ट देखियो नि।’ नागरिकता विधेयक, अर्थतन्त्रमा देखिएको संकट, भ्रष्टाचार जस्ता विषयमा गठबन्धन सरकार डुबेकाले एमालेको आवश्यकता जनताले खोजिरहेको उनको दावी छ। 

प्रदेश राजधानी बनाउने एमालेको एजेन्डा नै विपक्षीको अश्त्र 
सरल र मिजासिला स्वाभावका विष्णु पौडेलका लागि आफ्नै विगतको एजेन्डा घातक बन्न सक्ने एमालेकै कार्यकर्ताहरु बताउँछन्। स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउन नसक्नु हारको प्रमुख कारण भएको बुझाइ नेता कार्यकर्ताहरुको थियो। २०७४ सालमा बुटवललाई ‘प्रदेशको स्थायी राजधानी बनाएरै छाड्ने’ अठोट पौडेलले गरेका थिए। त्यसो त तत्कालीन मुख्यमन्त्री एवं एमालेका महासचिव शंकर पोखरेलकै कारण पौडेलको एजेन्डा तुहिएको हो। तत्कालिन समयमा नेकपाका अध्यक्षद्वय (केपी ओली र प्रचण्ड) बीचको सहमति देखाएर पोखरेलले दाङको राप्ती उपत्यकालाई प्रदेशको राजधानी तोकेका हुन्। त्यतिखेर पोखरेलका विरुद्ध नबोलेको मात्रै होइन, अर्थमन्त्रीसँग राजधानी साटेको भनेर पौडेलमाथि आरोप पनि लाग्यो।

‘विष्णु पौडेलले अघिल्लो निर्वाचनमा बु‍टवललाई राजधानी बनाउने आफैंले घोषणा गर्नुभएको हो, त्यो कायम गर्न सक्नुुभएन। बुटवलको मध्य भागको सडकको दूरवस्थामा उहाँ (सांसद) को भूमिका नै देखिएन। यी फ्याक्टरले पनि यो पटकको निर्वाचनमा काम गर्नसक्छ,’ बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीले भने। स्थानीय तहको निर्वाचन परिणाम र १५ वर्षसम्म विष्णु पौडेललाई जिताएर पठाएपछि के भयो भन्ने मतदाताको प्रश्न रहेको उनको भनाइ छ।

‘निर्वाचन जितेपछि काठमाडौं गएर बस्ने, चुनावका बेलामा मात्रै निर्वाचन क्षेत्रमा आउँदा जनतासँग साक्षात्कार नै भएको छैन,’ केसीले भने, ‘स्थानीय तहमा त्यसको परिणाम देखिएको हो, यो पटक आफ्नै चुनावी एजेन्डा पौडेलका लागि महँगो पर्ने देखिन्छ।’ यो पटकको निर्वाचनमा मतदाताले त्यही राजधानीको प्रतिबद्धता पौडेलको मत घट्नेमा विपक्षी नेपाली कांग्रेसको आकलन छ। ‘राजधानी एमालेकै कारण बुटवल हुन नसकेको कुरा त प्रष्ट छ। यो विषय हाम्रो चुनावी एजेन्डा अवश्य बन्छ,’ नेपाली कांग्रेसका नेता तथा पौडेलसँग ०७४ सालका प्रतिद्वन्द्वी युवराज गिरीले भने। उनले यो पटक जनताले परिवर्तनका लागि मत दिएकाले पुरानै वर्चस्व कायम नरहने बताए। 

स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा पाँच दलीय गठबन्धन भएमात्रै पौडेलका लागि चुनौती हो। अन्यथा पौडेलका लागि रुपन्देही क्षेत्र नम्बर २ सहज छ।

अर्कोतर्फ नेकपा एमालेको महासचिव हुनबाट रोकिएपछि पार्टीमा उनी आफैं कमजोर भएको चर्चा पनि छ। राजनीतिक रुपमा केन्द्र तहमा दबदबा राख्ने पौडेलले स्थानीय तहको निर्वाचनमा आफ्ना नजिकका पात्रलाई टिकट दिलाउन नसक्दा निर्वाचनमा हार भोगेको टिप्पणी पनि छ। स्थानीय तहको टिकट वितरणमा महासचिव शंकर पोखरेल रुपन्देहीमा हावी भएर पौडेललाई कमजोर बनाएको एमालेका नेताहरु बताउँछन्। महासचिव पोखरेलले दाङमा आफ्नो निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारलाई विजयी गराउन सफल भएका छन्।

बुटवललाई एमाले किल्ला भनिएको ठाउँमा पनि एमाले पराजित हुँदा यो पटक प्रतिनिधिसभामा पौडेलका लागि सकसपूर्ण बनेको हो। यसका साथै बुटवलमा पाल्पाबाट ल्याउने भनिएको झुम्सा खानेपानी आयोजना, बुटवलको सिक्स लेन सडक पौडेलको हरेक निर्वाचनमा नारा हुन्। अधुरो खानेपानी आयोजनाबाट बुटवलबासी वाक्क छन्। तिनाउ दानव करिडोर योजनाका कारण विस्थापित हुने जोखिममा रहेका नागरिकका कारण पौडेलसँग चित्त दुखाएका मतदाता पनि छन्। 

यसकारण कम्फर्ट हुन पनि सक्छ 
त्यसो त राजनीति सम्भावनै सम्भावनाको खेल हो। जनताको घरदैलोमा पुग्न सिपालु विष्णु पौडेलका लागि गठबन्धन मात्रै तगारो नहुन सक्छ। पहिलो कुरा केन्द्रीय तहबाट गठबन्धन हुँदा पौडेलसँग कस्तो नेता आउँछन् त्यसले पनि फरक पार्छ। गठबन्धनको प्रमुख शक्ति नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर २ दावी गरेको छ। रुपन्देहीको क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण, ५ मा भरतकुमार शाहले कुनै हालतमा छाड्ने देखिँदैन। त्यसो हुँदा ४ र १ मध्ये मधेशवादी दललाई दिनुपर्ने हुन्छ। २ कांग्रेसले छोड्नुपर्ने अवस्था आउन सक्छ। माओवादी र नेकपा एकीकृत समाजवादीले २ को दावी गरेका छन्। यसरी पाँच मध्ये तीन शक्तिबीच २ मा टिकटका लागि हारालुछ हुँदा टिकट नपाउने शक्तिमा असन्तुष्टि चुलिने सम्भावना छ। त्यहि असन्तुष्ट पक्षको मत पौडेलले तान्न सक्ने देखिन्छ। कांग्रेस र वामपन्थी शक्तिबीच स्थानीय तहमा जस्तै भद्रगोल हुँदा पौडेलले त्यही पक्षको मत तान्ने आशा गरेको छ। 

अर्कोतर्फ पौडेल शिर्ष नेता भएको र राजनीतिक पहुँच समेत भएकाले टक्कर दिने नेताकै कमी हुन सक्नेछ। ‘गठबन्धन नै टिक्छ कि टिग्दैन टुंगो छैन, अर्कोतर्फ गठबन्धन सरकारबाट रुपन्देहीबासीले के पाए भन्ने प्रश्न उठेको छ। त्यसो हुँदा २ हाम्रो लागि कुनै हिसाबले जोखिम छैन,’ एमाले नेता श्रेष्ठले भने। पार्टी उपाध्यक्ष पौडेललाई चुनौती दिने एजेन्डा र नेता गठबन्धनमा नभएको उनको जिकिर छ। त्यस्तै पौडेलले अघि सारेका योजना पनि हुनसक्छ। आफ्नो निर्वाचन क्षेत्रमा खटिएका पौडेलले कालिगण्डकी तिनाउ डाइभर्सन र तिनाउ नदीलाई सिग्नेचर पुल, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानी, बुटवल–नारायणगढ र बुटवल–चन्द्रौटा सडक विस्तार, गौतमबुद्ध विमानस्थलमा दोस्रो टर्मिनल भवनलाई पूर्णता दिनका लागि आफ्नो र एमालेको जित अपरिहार्य रहेको बताउने गरेका छन्  

पौडेललाई कसले देला टक्कर? 
स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा पाँच दलीय गठबन्धन भएमात्रै पौडेलका लागि चुनौती हो। अन्यथा पौडेलका लागि रुपन्देही क्षेत्र नम्बर २ सहज छ। यदि गठबन्धन नै भइहालेमा पनि पूर्व अर्थमन्त्री भइसकेका र तीन पटकसम्म लगातार निर्वाचन जितेका पौडेललाई हराउन गठबन्धनले कस्तो उम्मेदवार उठाउँछ भन्नेले पनि निर्धारण गर्नेछ। पौडेललाई टक्कर दिने गरी त्यो हाइटको नेता नहुँदा पौडेलका लागि सहज हुन  सक्ने तर्क पनि आइरहेको छ। 

अर्कोतर्फ सत्ता गठबन्धन हुँदा यहाँ नेकपा माओवादी केन्द्र र नेकपा (एस) दुवैले आफूहरुले टिकट पाउनुपर्ने अडान लिएका छन्। त्यसो त मतका आधारमा कांग्रेसले नै पाउनुपर्छ भन्ने दावी पनि छ। गठबन्धनभित्र टिकट कुन दलले पाउने भन्नेले पनि जितहारको अर्थ राख्छ। तर, यहाँ पौडेलसँग कांग्रेसले टिकट पाउँदा ०७४ सालकै प्रतिस्पर्धी युवराज गिरी दोहोरिने सम्भावना छ। यद्यपि कांग्रेसले हेविवेटको नेता ल्याउनुपर्ने मसिनो स्वर छ। त्यो हेविवेट को होला भन्ने सवालमा कांग्रेसीहरुले चन्द्र भण्डारीको नाम लिने गरेका छन्। तर, उनी गुल्मीबाटै चुनाव लड्ने कुरा सार्वजनिक भइसकेको छ। 

त्यस्तै नेकपा माओवादीले टिकट पाउँदा संविधानसभा सदस्य विनोद पहाडी र नेकपा एसले टिकट पाउँदा राजु गुरुङ उम्मेदवार हुने सम्भावना छ। त्यसो त माओवादीबाट पूर्व सांसद वामदेव क्षेत्री र नेकपा एसबाट डा. बालकृष्ण चापागाईंको सम्भावना पनि छ। त्यस्तै स्वतन्त्रबाट डा. निकोलश भुसालले उम्मेदवारी घोषणा गरेका छन्। उनी काठमाडौं महानगरका मेयर बालेन शाहको टिममा रहेका व्यक्ति हुन्। नेकपा एमालेबाट विभाजित भएकाले गठबन्धनबाट नेकपा (एस) ले टिकट पाउनुपर्ने नेकपा एस रुपन्देहीका अध्यक्ष अविराम विश्वकर्माले बताए। 

प्रकाशित: Aug 15, 2022| 07:17 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।