काठमाडाैं- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लगातार तेस्रो जित निकालेको छ । पीएसजीले आफ्नो घरेलु मैदानमा एन्जर्समाथि ३-१ को जित निकालेको हो ।
पीएसजीको जितमा स्टार खेलाडीत्रय केलियन एमबाप्पे, नेयमार र एडिन्सन काभानीले गोल गरे । विपक्षी टोली एन्जर्सका माङ्गानीले एक गोल गरे । पीएसजीले १२ औं मिनेटमा काभानीको गोलबाट खेलमा अग्रता बनाएको थियो । तर २१औं मिनेटमा एन्जर्सले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो ।
पहिलो हाफ बराबरीमा सकिएपछि पीएसजी दोस्रो हाफमा थप आक्रामक देखिएको थियो । ५२औं मिनेटमा केलियन एमबाप्पेले एन्जल डि मारियाको पासमा गोल गरेपछि पीएसजी खेलमा २–१ ले अघि बढ्यो । ६६औं मिनेटमा नेयमार एमबाप्पेको पासमा गोल गर्दै पीएसजीलाई ३–१ को अग्रता दिलाए । एन्जर्सले त्यसपछि कुनै पनि गोल गर्न नसक्दा पीएसजीले ३–१ को सहज जति निकाल्यो ।
लगातार तेस्रो जितसँगै साविकको विजेता पिएसजी ९ अंकसहित लिगको शीर्ष स्थानमा यथावत रहेको छ । गत सिजन लिग जितेको पिएसजीलाई यस सिजन मोनाको र लियोनले उपाधिका लागि चुनौती दिने अपेक्षा गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४