काठमाडौं– पहिलो शब्द आफैंमा विशेष छ। प्रेम होस् या कुनै विषयवस्तु। पहिलो अनुभव सधैं गज्जबको हुन्छ। यसलाई सायदै बिर्सिन सकिन्छ।
अझ कुनै खेलाडीका लागि उपाधि जित्नु ठूलो कुरा हो। झन् पहिलो उपाधि, पदक तथा अवार्डले कति धेरै अर्थ राख्ने गर्छ। खेलाडी बैकुण्ठ मानन्धरको पनि पहिलो स्वर्णको अनुभव निकै अविष्मरणीय छ।
नेपालका लागि दक्षिण एसियाली खेलकुदमा पहिलो स्वार्ण जितेका धावक हुन्, बैकुण्ठ। आफ्ना लागि पनि पहिलो, देशका लागि पनि पहिलो।
नेपाली पात्रोमा २००९ लाग्दै गर्दा काठमाडौंको कालीमाटीमा जन्मिए, बैकुण्ठ। तर खेल यात्रा केही पछि मात्र सुरु भयो। उनी एथ्लेटिक्समा जमे अनि अघि बढ्दै गए। मानन्धरले तेस्रो दक्षिण एसियाली खेलकुदअन्तर्गत कोलकातामा दुई घन्टा १५ मिनेट लगाएर पूरा गरेको रेकर्ड अझै पनि कुनै खेलाडीले तोड्न सकेका छैनन्। एथ्लेटिक्समा एकछत्र राज गरेका जीतबहादुर केसीलाई हराएर आफ्नो नाम बनाएका थिए, उनले। सन् १९७६ मा क्यानडाको मोन्ट्रियलमा भएको २२ औं ओलम्पिकमा जीतबहादुरसँगै नेपालको प्रतिनिधित्व गरे, बैकुण्ठले। त्यो समयदेखि अझैसम्म ओलम्पिकमा सहभागी हुने कुरा गौरवान्वित लाग्छ, उनलाई। त्यसपछि उनी लगातार चार पटक ओलम्पिकमा सहभागिता जनाउने नेपालका एक्ला खेलाडीमा आफ्नो नाम दर्ता गर्न सफल भए।
विगतलाई सम्झँदा अहिले पनि बैकुण्ठ खुसीले गदगद र अत्यन्तै हर्षित भएको बताउँछन्। ‘साफमा पहिलो भएर स्वर्ण जित्दा धेरै खुसी भएँ। आफ्नै देशमा भएको प्रतियोगितामा पदक जित्दा गर्व लाग्यो,’ नेपाल समयसँगको कुराकानीमा उनले भने।
मानन्धरले तेस्रो दक्षिण एसियाली खेलकुदअन्तर्गत कोलकातामा २ घन्टा १५ मिनेट लगाएर पूरा गरेको रेकर्ड हालसम्म कुनै पनि नेपाली खेलाडीले ब्रेक गर्न सकेका छैनन्।
त्यसो त, उनले त्यसअघि नै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका थिए। साफ पछि आएको हो। तर आफ्नै देशमा आयोजना भएको दक्षिणा एसियाकै ठूलो प्रतियोगितामा पदक जित्नैपर्छ भन्ने उनको मनले सोचेको थियो। ‘सबै खेलाडीले जित्नेबारे सोच्नुपर्छ। थुप्रै मान्छे थिए, तैँले केही गर्न सक्दैनस् भन्थे। तर राजा वीरेन्द्रले मलाई तिमीले जित्नुपर्छ भन्दै होसला दिनुभएको थियो। गर्न सक्छौ भन्नुहुन्थ्यो,’ उनले खेल्ने दिन राजा वीरेन्द्र हिँडेरै खेल हेर्न पुगेका थिए। उनले प्रतियोगितामा स्वर्ण पदक जिते। सबैले उनलाई स्यावासी दिए। उनी चारैतिर हाई–हाई भए। पदक जितिसकेपछि मैदानमै उनलाई कोकाकोला दिने प्रशंक पनि थुप्रै थिए। तर उनले नखाएको बताउँछन्। उनले भने, ‘म त्यस्ता कोक खाँदैनथिएँ। तर कोक नखाको भन्दै कतिले तँ ठूलो भइस् पनि भने।’
बैकुण्ठले खेल्न थालेको समयभन्दा केही पछि मात्रै दक्षिण एसियाली खेलकुद साफ (पछि साग भएको) सुरु भएको थियो। तर पहिलो साफमा खास केही सुविधा दिइएको थिइन। देशका लागि निःस्वार्थ खेलेको उनी बताउँछन्। ‘अहिलेको सागजस्तो राम्रो सुविधा थिएन। त्यो समय हामीलाई यस्तै ८/१० रुपैयाँको राम्रो जुत्ता लगाउन पनि धेरै मुस्किल थियो,’ उनले भने।