भरतपुर– चितवनको माडी नगरपालिका वडा–७ बघौडाकी पार्वती महतो अहिले जीवनको चार दशकमा हिँडिरहेकी छन्। यो अवधिमा उनले हजारौं महिलालाई आत्मनिर्भरताको बाटो देखाएकी छन्।
सानैमा पोलियो रोगको सिकार भएकी उनको दाहिने खुट्टा कमजोर छ तर कैयौं पार्वतीहरूलाई आफ्नै खुट्टामा दरिलो बनेर उभिन दुई दशकयता निरन्तर खडा छन्। भरतपुर–१० मा रहेको जिल्ला समन्वय समितिको ठीक अगाडि अपांगता जागरण अभियानद्वारा सञ्चालित लेडिज टेलर्स छ। भरतपुरको उखरमाउलो गर्मीमा खटखट एउटा पंखा आफ्नै रफ्तारमा चलिरहन्छ।
केही महिला आफ्नै धुनमा सिलाइबुनाइमा व्यस्त छन्। पार्वती पनि त्यहीं भेटिन्छन्। उनको १९ वर्षदेखिको कार्यथलो यही हो। उनी निरन्तर एउटै भूमिकामा छन्–सिलाइबुनाइ प्रशिक्षक।
माडीमा जन्मे–हुर्केकी पार्वतीका सपना अनेक थिए। उनलाई कहिले स्टार्फ नर्स बन्छुजस्तो लाग्थ्यो, कहिले प्रहरीमा जागिर गरौं भन्ने हुटहुटी। जीवनले सोचेको नक्सा मात्रै कोर्दैन। यस्तै भयो, उनको जीवनमा पनि।
पार्वतीले एसएलसी दिएलगत्तै बुबाको निधन भयो। खेतीपाती गरेर गुजारा चलाउने उनको परिवारले मुख्य अभिभावक गुमाएपछि भाइबहिनीको जिम्मेवारी बोधका कारण उनले पढाइलाई एसएलसीमै बिट मार्न बाध्य भइन्। औपचारिक शिक्षालाई टुंग्याए पनि उनले सिकाइको परिधिलाई भने खुलै छाडिन्।
तत्कालीन समय माडीमै तीन महिने सिलाइबुनाइ तालिम लिइन्। ‘३०० रुपैयाँमा तीन महिने तालिम लिन पाइएको थियो। तालिम लिएपछि म कहिल्यै खाली बस्नुपरेन,’ उनी सुनाउँछिन्। सिलाइबुनाइकै थप तालिमको अवसरले ‘सुदूर’ माडीबाट उनी भरतपुर तानिइन्। अपांगता समाज चितवनले उपलब्ध गराएको निःशुल्क ६ महिने तालिमको अवसरले उनको यात्रा फराकिलो बनाएको थियो।
‘पहिले माडी अहिलेजस्तो थिएन। धेरै दुर्गम थियो। सदरमुकाम भरतपुर आउनु काठमाडौं जानुसरह थियो। मलाई गाउँमै मात्र बस्नुहुँदैन, ठाउँमै जानुपर्छ भन्ने लाग्यो,’ उनी विगत सम्झिइन्, ‘उबेलादेखि नै मलाई केही गर्नुपर्छ भन्ने लाग्थ्यो। आमाहरूले भो नजा यतै (माडी) बसेर काम गर भन्दा पनि आँटेरै म हिँडेकी थिएँ।’