आइतबार, जेठ ३, २०८३

बालेन शाह र काठमाडौंको फोहोर

बालेन्द्र काठमाडौंको फोहोर व्यवस्थापन नहुने बेलासम्म माला, खादा नलगाउने बोलीमा अडिग रहेका छन्। भित्रैदेखि समस्याको समाधान खोज्ने लडाइँ लडिरहेका देखिन्छन्।
 |  बिहीबार, साउन २६, २०७९

सुरेश गिरी

सुरेश गिरी

बिहीबार, साउन २६, २०७९

चर्चामा रहेर स्वतन्त्र उम्मेदवारी दिँदै दशकौं राजनीति गरिरहेका दलहरूलाई पछि पारेर काठमाडौं महानगरको मेयरमा बालेन्द्र शाहको उदय भयो। सँगै, काठमाडौंको फोहोरी राजनीतिमा फेरि फोहोरमैला व्यवस्थापनको बहस सुरु भएको छ।

National life

हुन त, हामी काठमाडौंबासीलाई यो फोहोर व्यवस्थापनको विषयमा हरेक वर्ष एक पटक बहस गर्ने बानी नै परिसकेकाले त्यति ठूलो बहसको आवश्यकता थिएन। तर यस पटक स्वतन्त्र उम्मेदवारलाई देवत्वकरण गर्ने समर्थक र उनलाई सफल हुन नदिने समूहबीचको लडाइँले यो विषय निकै चर्चामा रह्यो। यो विवादका बीचमा कहीँ–कतै काठमाडौंको फोहोर कसरी व्यवस्थापन गर्ने र अहिलेको ल्यान्डफिल्ड साइटको विकल्प के भन्नेमा स्वयं बालेनबाहेक अरू कसैलाई चासो छ जस्तो लाग्दैन।

प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेताका साथै सहरी विकासमन्त्रीसम्म गुहार्न पुगेका मेयर बालेनले आश्वासन मात्र लिएर फर्केका छन्। पहिलो कार्यपालिका मिटिङमै धेरै–थोरै आलोचित हुन पुगेका बालेनले यसपछि पुनः फोहोर व्यवस्थापनका लागि मात्र कार्यपालिका बैठक बोलाउने आँट गर्न सकिरहेका छैनन। दृढ इच्छासहित काठमाडौंको फोहोर व्यवस्थापन नहुने बेलासम्म माला, खादा नलगाउने उनी बोलीमा अडिग रहेका छन्। भित्रैदेखि समस्याको समाधान खोज्ने लडाइँ लडिरहेका देखिन्छन्। सिसडोलका जनतालाई समझदारीमा ल्याउने प्रयास पहिलो गासमा ढुंगा लागेसरह भएको छ। यो आलेखमार्फत बालेनको पक्ष वा विपक्षमा भन्दा काठमाडौंको फोहोर व्यवस्थापनमा के–कस्ता कार्य गर्न जरुरी थियो भन्ने विषय उठान गर्न खोजेको मात्र हो।

बालेनले चुनाव लड्दै गर्दा काठमाडौंमा फोहोरको थुप्रो जम्मा भइसकेको अवस्था थियो। बालेन एन्ड टिम यो कुरामा जानकारै थियो। तैपनि यो टिम फोहोर भनेको सिसडोल खोलेपछि आफैं समस्या समाधान हुन्छ भन्नेतिर लागेजस्तो लाग्छ। जसरी बालेनले सार्वजनिक शौचालय, ढुंगेधारा, पार्किङलगायत विषयमा तयारी गरेका थिए, त्यसरी फोहोरमैला व्यवस्थापनको तयारी नगरेको देखियो। काठमाडौंबाट निस्कने फोहोरमैलामध्ये धेरै प्रतिशत घरायसी हुने गरेको छ, जुन व्यवस्थापनका लागि जनता नै जागरुक हुनुपर्छ।  सरकार वा नगरपालिका मात्र होइन। बालेनले जसरी सार्वजनिक शौचालयको आह्वान गरे, त्यसैगरी फोहोर व्यवस्थापनका लागि पनि आह्वान गर्नुपर्ने थियो। जस्तै, अहिले काठमाडौं महानगरले लगभग आफ्ना वडामा रहेका सम्पूर्ण सार्वजनिक जग्गाको लगत निकालिसकेको तपाईं–हामीले देखिरहेका छौं।

धेरै ठाउँमा सानातिनादेखि ठूलासम्म, केटाकेटीदेखि बूढाबूढीसम्मका लागि पार्क निर्माणका काम प्रगतिमा छन्। ती सबै पार्कको कामलाई केही दिन रोकेर खाल्डो खनी गल्ने र सडाउन मिल्ने जति फोहोर बाहिर नफाली सहयोग गरिदिन अनुरोध गर्न सकेको भए फोहोरमाथि फोहोरको थुप्रो लाग्ने थिएन। यो समस्याको समाधान हैन तर यसले केही हदसम्म फोहोरमाथि फोहोर फाल्ने काम बन्द हुने थियो। दु्रत गतिमा साँघुरो किसिमले विकसित भइरहेको काठमाडौंमा घरमै जैविक फोहोर व्यवस्थापनको सम्भावनै कम रहेको विभिन्न सर्भेले देखाइसकेका छन्। थोरै जग्गामा घर हुनु, घर बनाउँदा सबै जग्गा प्रयोग गर्नु आदि/इत्यादि कारणले यो सम्भव हुन्छ जस्तो लाग्दैन। जहाँ– जहाँ सम्भव छ, त्यहाँ यो लागू गर्नु उचित र न्यायोचित हुन्छ।

जम्माजम्मी १२०० टन फोहोर निकाल्ने काठमाडौंमा लगभग ७० प्रतिशत सडाउन र गलाउन मिल्ने भनेर हामीले सुन्दै आएका छौं। गलाउन मिल्ने फोहोर प्लास्टिक, फलाम, कपी, किताबलगायतका चीज केही दिनसम्म घरमै राख्न सकिन्छ। माथि भनिएजस्तै घरमा खुला ठाउँ नराखिने कारणले धेरै ठाउँमा यो पनि सम्भव छैन। त्यसैले नगरपालिका र जिविसले उठाउँदै आएको कबाडी कर केही समयका लागि बन्द गरी सरकारले नै गलाउन मिल्ने फोहोरको मूल्य तोकिदिएको अवस्थामा हामीले कबाडीवाला भनेर हेप्ने ‘भैया’हरूले धेरै फोहोर व्यवस्थापन गरिदिनेछन्।

यो आलेख प्रकाशनमा आउने बेलासम्म सिसडोल समस्या समाधान भइसकेको छ। अझै पनि काठमाडौं महानगर यो समस्यामा चिन्तित देखिन्छ जस्तो लाग्दैन। काठमाडौंमा फोहोर व्यवस्थापनका लागि हामीले गर्नुपर्ने मुख्य काम भनेको फोहोर स्रोतमै छुट्याउनु हो। पहिलो पटक काठमाडौं महानगरले फोहोरमैला व्यवस्थापनका लागि निजी कम्पनीलाई जिम्मा दिने टेन्डर प्रक्रियामा सहभागी हुँदा टोकियो महानगरको फोहोर व्यवस्थापनको टिमसँग भेट्ने मौका मिलेको थियो। मलाई याद छ, त्यो मिटिङमा टोकियो महानगरका फोहोर व्यवस्थापन प्रमुखले तिम्रो सरकार (नेपाल) र महानगर फोहोर व्यस्थापन गर्नुपर्दछ भन्नेमा कत्ति पनि चिन्तित छैनन्, हामीले व्यवस्थापन गरिदिन्छौं भनेर जाइकामार्फत कुरा गर्दा पनि सिरियस नभएको सुनाएकी थिइन्।

मैले जापान भ्रमणका बेला फोहोर छुट्याएर फरक–फरक रङका प्लास्टिक झोलामा हालेको देखेको थिएँ र सोधेको पनि थिएँ, ‘के सबै जापानी फोहोर घरमै छुट्याउने कुरामा इमानदार छन्?’ उनीहरूको जवाफ थियो, ‘हामीकहाँ पनि पहिला समस्या फोहोर छुट्याउने कुरामा थियो। हामीले धेरै सूचना र टोल–टोलमा कार्यक्रम गर्यौं। त्यसले केही हदसम्म काम गर्यो तर सफल हुने छाँटकाँट नदेखेपछि हामीले दीर्घकालीन प्लान गर्यौं र पाठ्यक्रममै फोहोरमैला व्यवस्थापनसम्बन्धी जानकारी राख्यौं। यसले गर्दा विस्तारै यो समस्या दीर्घकालीन रूपमा समाधान भयो।’

अहिले जापानमा नेपालीको जनसंख्या बढेका कारणले तपाईं यहाँको कुनै पनि सिटीमा बस्न जानुभयो भने फोहोरमैला कसरी फ्याँक्ने भन्ने बुक नेपालीमा नै बनाएर दिने गरेको उनले बताएकी थिइन्। धेरै नेपालीले यो बुक पाउँदापाउँदै पनि फोहोर फाल्ने कुरामा गल्ती गर्ने गरेको उनको भनाइ थियो। त्यसैले फोहोर व्यवस्थापनलाई महानगरले दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ।

प्रकाशित: Aug 11, 2022| 18:30 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।