जनकपुरधाम– केही वर्ष अघिसम्म जनकपुर र आसपासका क्षेत्रमा रंगमञ्चको क्षेत्रमा हिन्दीको दबदबा नै थियो । अभिव्यक्तिको सशक्त माध्यमसमेत मानिएको नाटक हेर्न आउनेहरू पनि हिन्दी नै रुचाउँथे ।
तर, अहिले परिस्थिति परिवर्तन भएको छ । जनकपुरलगायत क्षेत्रमा हिन्दी भाषामा मञ्चन हुने नाटकलाई विस्थापित गरेको छ, मैथिली भाषाले । नाट्य क्षेत्रमा लागेका कलाकारहरूको सशक्त प्रस्तुति र भाषाप्रतिको अपनत्वले मैथिली नाटकमा आकर्षण बढाएको छ, रंगमञ्चका पारखीहरूलाई ।
मैथिली रंगमञ्चकै प्रभावले हुनसक्छ, अहिले सोही भाषामा चलचित्र निर्माणको क्रम बढेको छ । पछिल्ला दिनमा रंगमञ्चमा भिजेका कलाकारहरूलाई प्रयोग गरी गुणस्तरीय मैथिली चलचित्र निर्माण भएका छन् । चलचित्र क्षेत्रमा भने हिन्दी फिल्महरूलाई उछिन्न सकेको छैन, मैथिली चलचित्रले । प्रविधिको अभाव, पैसाको कमीलगायत कारणले मैथिली चलचित्रले अझै अपेक्षाअनुसार स्थान बनाउन नसकेको कलाकारहरू बताउँछन् ।
अशिक्षित समुदायलाई जनसरोकारका विषयवस्तु, राजनीतिलगायत विषयमा अवगत गराउन नाटकलाई सशक्त माध्यम मानिन्छ । र, यस कामका लागि नाट्य क्षेत्र सफल पनि देखिन्छ ।
मैथिली रंगमञ्चको क्षेत्रमा विशिष्ट स्थान छ, जनकपुरको । रंगमञ्चमा भिजेका यहाँका कलाकार र संस्थाहरू जनकपुर वरिपरि मात्र नभई देश–विदेशमा समेत प्रभाव छोड्न सफल भएका छन् । लामो समयदेखि रंगमञ्चमा भिजेका जनकपुरका कलाकारहरूले नेपाली चलचित्रमा समेत अभिनय गरिरहेका छन् । र, सफल पनि हुँदैछन् ।
जनकपुरस्थित मिथिला नाट्यकला परिषद (मिनाप), रामानन्द युवा क्लब, आकृति नाट्य संस्था, रंगदर्पनलगायत संस्थाले मैथिली नाट्य क्षेत्रलाई जीवन्त बनाएका छन् ।
यसरी अगाडि बढ्यो मैथिली रंगमञ्च
मुलुकमा पञ्चायती शासनको हालिमुहाली रहेका बेला मैथिली भाषाका अभियन्ताहरूले राजदेव मिश्रको अध्यक्षतामा बैठक गरी मैथिली भाषामा नाटक मञ्चन गर्न एक संस्था जन्माउने निर्णय गरे । र, ०३६ सालमा सुदर्शन लालको अध्यक्षतामा मिथिला नाट्यकला परिषद (मिनाप) को जन्म भयो, जनकपुरमा ।
मिनाप स्थापनादेखि नै यसका सहयात्री बनेका सुनिल मिश्र, मदन ठाकुर, रामआशिष ठाकुर, योगेन्द्र साह नेपाली, रमेश रञ्जन झाजस्ता कलाकारले मैथिली नाट्य क्षेत्रलाई अगाडि बढाउन कुनै कसर बाँकी राखेनन् । हिन्दी नाटकको प्रभुत्व रहेको यस क्षेत्रमा उनीहरूले मैथिलीबाहेक अन्य कुनै भाषामा नाटक मञ्चन नगर्ने अठोट लिए । र, त्यो अठोट उनीहरूले पुरा पनि गरे । मिनापमा आबद्ध ती कलाकारको अठोट र प्रतिबद्धताका कारण हिन्दी नाटकको प्रभावलाई चिर्दै मैथिली रंगमञ्चको प्रभुत्व स्थापित भयो ।
नाट्य क्षेत्रमा लागेका कलाकारहरूको सशक्त प्रस्तुति र भाषाप्रतिको अपनत्वले मैथिली नाटकमा आकर्षण बढाएको छ, रंगमञ्चका पारखीहरूलाई ।
मिनापमा आबद्ध अधिकांश कलाकारले नेपाली चलचित्रमा समेत ख्याति कमाइसकेका छन् । रवीन्द्र ठाकुर, सुनिल मिश्र, परमेश झा, मदन ठाकुर, रामनारायण ठाकुरजस्ता कलाकारले कतिपय नेपाली चलचित्र, टेलिफिल्ममा अभिनय गरिसकेका छन् ।
धनुषाको बभनगामास्थित कन्टिर झा माविमा वर्षौंदेखि अध्यापन गरिरहेका महेन्द्र मलंगिया वरदान नै सावित भए, मिनापका लागि । स्थापनाकालदेखि सक्रिय रूपमा आबद्ध रहेका मंलगियाले लेखेका नाटकलाई मिनापका कालाकारहरूले अभिनयको माध्यमबाट जीवन्त बनाउने काम गरे ।
मलंगियाको निर्देशन र लेखन क्षमता मैथिली रंगमञ्चका लागि वरदान नै सावित भयो, जनकपुर क्षेत्रमा । विभिन्न गाउँमा पुगेर मञ्चन गरिने नाटकहरूलाई थप आकर्षक र मनोरञ्जक बनाउन संगीतको पनि आवश्यकता महशुस गरियो । र, त्यसको कमी पूरा गरे कन्टिर झा माविका शिक्षक कामेश्वर मल्लिक र उनका छोराहरूले ।
शिक्षक मल्लिकका छोरा सुनिल, रमेश र परवेशले नाटकको आवश्यकताअनुसार गीत–संगीत दिने काम गरे । अहिले रमेश भारतको राजधानी नयाँदिल्लीमा तबला विद्यामा स्थापित भएका छन् भने परवेश बलिउडमा पहिचान बनाउन जुटेका छन् ।
मैथिली रंगमञ्चका उत्पादन हुन्, रमेशरञ्जन झा । ०३७ सालमा नाट्य क्षेत्रमा प्रवेश गरेका झा अहिले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा संगीत तथा नाट्य विभागका प्रमुख छन् । मैथिली नाटक अहिले निकै सबल र सशक्त बनेको झा बताउँछन् । दर्शकको मनोभावना बुझेर नाटक र सामग्री पस्कने दायित्व रंगकर्मीहरूको रहेको उनको भनाइ छ । व्यवस्थापनको पाटोमा मैथिली रंगमञ्च केही कमजोर देखिएको उनको बुझाइ छ ।
मैथिली रंगमञ्चमा हाँसोको पर्याय रामनारायण ठाकुरलाई मानिन्छ । मंलगियाको सान्निध्यमा मिनापमा प्रवेश पाएका थिए, ठाकुरले । बाल्यकालमै ठाकुरको अभिनयले प्रभावित गरेको थियो, नाट्य क्षेत्रका जानिफकार मलंगियालाई । मैथिली रंगमञ्चको मोह र लगावका कारण ठाकुरले आफ्नो सरकारी जागिरसमेत छाडे । मञ्चमा एक्लै हुँदासमेत दर्शकलाई थोरै पनि आलस्य आउन नदिने क्षमता राख्छन्, उनी । तर, मैथिली रंगमञ्चले अपेक्षाअनुसार सम्मान पाउन नसकेको उनको गुनासो छ । मैथिली रंगमञ्च र कालाकारप्रति राज्यले चासो नदेखाएको ठाकुर बताउँछन् ।
मैथिली रंगमञ्चलाई थप सशक्त र व्यावसायिक बनाउने उद्देश्यले अहिले जनकपुरमा मिनापले नाटकघर निर्माण अगाडि बढाएको छ । विद्यापति मैथिली सांस्कृतिक नाम दिइएको नाटकघर तयार भइसकेपछि दैनिक नाटक मञ्चन गर्ने योजना रहेको मिनापका अध्यक्ष परमेश झा बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४