बिहीबार, असार ३२, २०८३

हिन्दीलाई विस्थापित गर्दै मैथिली रंगमञ्च

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम– केही वर्ष अघिसम्म जनकपुर र आसपासका क्षेत्रमा रंगमञ्चको क्षेत्रमा हिन्दीको दबदबा नै थियो । अभिव्यक्तिको सशक्त माध्यमसमेत मानिएको नाटक हेर्न आउनेहरू पनि हिन्दी नै रुचाउँथे ।

तर, अहिले परिस्थिति परिवर्तन भएको छ । जनकपुरलगायत क्षेत्रमा हिन्दी भाषामा मञ्चन हुने नाटकलाई विस्थापित गरेको छ, मैथिली भाषाले । नाट्य क्षेत्रमा लागेका कलाकारहरूको सशक्त प्रस्तुति र भाषाप्रतिको अपनत्वले मैथिली नाटकमा आकर्षण बढाएको छ, रंगमञ्चका पारखीहरूलाई ।

मैथिली रंगमञ्चकै प्रभावले हुनसक्छ, अहिले सोही भाषामा चलचित्र निर्माणको क्रम बढेको छ । पछिल्ला दिनमा रंगमञ्चमा भिजेका कलाकारहरूलाई प्रयोग गरी गुणस्तरीय मैथिली चलचित्र निर्माण भएका छन् । चलचित्र क्षेत्रमा भने हिन्दी फिल्महरूलाई उछिन्न सकेको छैन, मैथिली चलचित्रले । प्रविधिको अभाव, पैसाको कमीलगायत कारणले मैथिली चलचित्रले अझै अपेक्षाअनुसार स्थान बनाउन नसकेको कलाकारहरू बताउँछन् ।

अशिक्षित समुदायलाई जनसरोकारका विषयवस्तु, राजनीतिलगायत विषयमा अवगत गराउन नाटकलाई सशक्त माध्यम मानिन्छ । र, यस कामका लागि नाट्य क्षेत्र सफल पनि देखिन्छ ।

मैथिली रंगमञ्चको क्षेत्रमा विशिष्ट स्थान छ, जनकपुरको । रंगमञ्चमा भिजेका यहाँका कलाकार र संस्थाहरू जनकपुर वरिपरि मात्र नभई देश–विदेशमा समेत प्रभाव छोड्न सफल भएका छन् । लामो समयदेखि रंगमञ्चमा भिजेका जनकपुरका कलाकारहरूले नेपाली चलचित्रमा समेत अभिनय गरिरहेका छन् । र, सफल पनि हुँदैछन् ।

जनकपुरस्थित मिथिला नाट्यकला परिषद (मिनाप), रामानन्द युवा क्लब, आकृति नाट्य संस्था, रंगदर्पनलगायत संस्थाले मैथिली नाट्य क्षेत्रलाई जीवन्त बनाएका छन् ।

यसरी अगाडि बढ्यो मैथिली रंगमञ्च

मुलुकमा पञ्चायती शासनको हालिमुहाली रहेका बेला मैथिली भाषाका अभियन्ताहरूले राजदेव मिश्रको अध्यक्षतामा बैठक गरी मैथिली भाषामा नाटक मञ्चन गर्न एक संस्था जन्माउने निर्णय गरे । र, ०३६ सालमा सुदर्शन लालको अध्यक्षतामा मिथिला नाट्यकला परिषद (मिनाप) को जन्म भयो, जनकपुरमा । 

मिनाप स्थापनादेखि नै यसका सहयात्री बनेका सुनिल मिश्र, मदन ठाकुर, रामआशिष ठाकुर, योगेन्द्र साह नेपाली, रमेश रञ्जन झाजस्ता कलाकारले मैथिली नाट्य क्षेत्रलाई अगाडि बढाउन कुनै कसर बाँकी राखेनन् । हिन्दी नाटकको प्रभुत्व रहेको यस क्षेत्रमा उनीहरूले मैथिलीबाहेक अन्य कुनै भाषामा नाटक मञ्चन नगर्ने अठोट लिए । र, त्यो अठोट उनीहरूले पुरा पनि गरे । मिनापमा आबद्ध ती कलाकारको अठोट र प्रतिबद्धताका कारण हिन्दी नाटकको प्रभावलाई चिर्दै मैथिली रंगमञ्चको प्रभुत्व स्थापित भयो ।

 
नाट्य क्षेत्रमा लागेका कलाकारहरूको सशक्त प्रस्तुति र भाषाप्रतिको अपनत्वले मैथिली नाटकमा आकर्षण बढाएको छ, रंगमञ्चका पारखीहरूलाई ।

मिनापमा आबद्ध अधिकांश कलाकारले नेपाली चलचित्रमा समेत ख्याति कमाइसकेका छन् । रवीन्द्र ठाकुर, सुनिल मिश्र, परमेश झा, मदन ठाकुर, रामनारायण ठाकुरजस्ता कलाकारले कतिपय नेपाली चलचित्र, टेलिफिल्ममा अभिनय गरिसकेका छन् ।

धनुषाको बभनगामास्थित कन्टिर झा माविमा वर्षौंदेखि अध्यापन गरिरहेका महेन्द्र मलंगिया वरदान नै सावित भए, मिनापका लागि । स्थापनाकालदेखि सक्रिय रूपमा आबद्ध रहेका मंलगियाले लेखेका नाटकलाई मिनापका कालाकारहरूले अभिनयको माध्यमबाट जीवन्त बनाउने काम गरे । 

मलंगियाको निर्देशन र लेखन क्षमता मैथिली रंगमञ्चका लागि वरदान नै सावित भयो, जनकपुर क्षेत्रमा । विभिन्न गाउँमा पुगेर मञ्चन गरिने नाटकहरूलाई थप आकर्षक र मनोरञ्जक बनाउन संगीतको पनि आवश्यकता महशुस गरियो । र, त्यसको कमी पूरा गरे कन्टिर झा माविका शिक्षक कामेश्वर मल्लिक र उनका छोराहरूले । 

शिक्षक मल्लिकका छोरा सुनिल, रमेश र परवेशले नाटकको आवश्यकताअनुसार गीत–संगीत दिने काम गरे । अहिले रमेश भारतको राजधानी नयाँदिल्लीमा तबला विद्यामा स्थापित भएका छन् भने परवेश बलिउडमा पहिचान बनाउन जुटेका छन् ।

मैथिली रंगमञ्चका उत्पादन हुन्, रमेशरञ्जन झा । ०३७ सालमा नाट्य क्षेत्रमा प्रवेश गरेका झा अहिले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा संगीत तथा नाट्य विभागका प्रमुख छन् । मैथिली नाटक अहिले निकै सबल र सशक्त बनेको झा बताउँछन् । दर्शकको मनोभावना बुझेर नाटक र सामग्री पस्कने दायित्व रंगकर्मीहरूको रहेको उनको भनाइ छ । व्यवस्थापनको पाटोमा मैथिली रंगमञ्च केही कमजोर देखिएको उनको बुझाइ छ ।

मैथिली रंगमञ्चमा हाँसोको पर्याय रामनारायण ठाकुरलाई मानिन्छ । मंलगियाको सान्निध्यमा मिनापमा प्रवेश पाएका थिए, ठाकुरले । बाल्यकालमै ठाकुरको अभिनयले प्रभावित गरेको थियो, नाट्य क्षेत्रका जानिफकार मलंगियालाई । मैथिली रंगमञ्चको मोह र लगावका कारण ठाकुरले आफ्नो सरकारी जागिरसमेत छाडे । मञ्चमा एक्लै हुँदासमेत दर्शकलाई थोरै पनि आलस्य आउन नदिने क्षमता राख्छन्, उनी । तर, मैथिली रंगमञ्चले अपेक्षाअनुसार सम्मान पाउन नसकेको उनको गुनासो छ । मैथिली रंगमञ्च र कालाकारप्रति राज्यले चासो नदेखाएको ठाकुर बताउँछन् ।

मैथिली रंगमञ्चलाई थप सशक्त र व्यावसायिक बनाउने उद्देश्यले अहिले जनकपुरमा मिनापले नाटकघर निर्माण अगाडि बढाएको छ । विद्यापति मैथिली सांस्कृतिक नाम दिइएको नाटकघर तयार भइसकेपछि दैनिक नाटक मञ्चन गर्ने योजना रहेको मिनापका अध्यक्ष परमेश झा बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।