साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सुखद शुरुवात गरेको छ । शुक्रबारबाट शुरु भएको जर्मन लिगमा बायर्नले टिएसजी होफेनहेनलाई ३–१ ले पराजित गर्दै सुखद शुरुवात गरेको हो ।
म्युनिखको सहज जितमा थोमस मुलर, रोवर्ट लेवान्डोस्की र आर्जेन रोवनेले गोल गरे । टिएसजीका लागि एक मात्र गोल आदम जलाईले गरे । घरेलु मैदान एलिनाज एरिनामा भएको खेलमा बायर्नले २३ औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो ।
जोसुवा किम्मिचले पोस्ट नजिकैबाट क्रस गरेको बललाई मुलरले हेडमार्फत गोल गरेका थिए । पहिलो हाफमा १–० ले अघि रहेको बायर्नले ५७ औं मिनेटमा गोल खान पुग्यो । तर, त्यसपछि बायर्न आक्रमक बन्दै दुई गोल गर्न सफल भयो । बायर्नले ७८ औं मिनेटमा पेनाल्टी पाएको थियो ।
लेवान्डोस्कीले पहिलो प्रयासमा गोल गर्न असफल हुदा रेफ्रीले भिएआरकै सहायतामा पुनः बायर्नलाई पेनाल्टीको अर्काे मौका दिएको थियो । जसमा लेवान्डोस्की चुकेन ।
८६औं मिनेटमा बायर्नका लियोन गोरेट्काले गोल गरेपनि पुन भिएआरकै सहायतामा उनको गोलले मान्यता पाएन । तर, ९०औं मिनेटमा आर्जेन रोवेनले गोल गर्दै टिमलाई ३–१ को सहज जित दिलाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४