काठमाडौं- नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा गठबन्धन नगरी चुनावमा जान सुझाव दिएकी छन्।
सिंहले ट्वीटरमा आफ्नो सुझा दिँदै लेखेकी छन्, ‘आउँदै गरेको संसदीय चुनावमा आ–आफ्नो पार्टी आफ्नै चुनाव चिन्ह र गठबन्धन नगरी सबैले आ–आफ्ना उम्मेदवार उठाउने बरु बहुमत नआए गठबन्धन गर्दा हुन्छ।’
सत्तामा रहेका पाँच दलले आम चुनावमा गठबन्धन गर्ने निर्णय गरेर कार्यदल बनाएर चुनावी सिट बाँडफाँटका लागि प्रयास गरिरहेका छन्। सिर्जना आफै स्थानीय चुनावमा माओवादीसँग चुनावी तालमेल गरेर उम्मेदवार भएकी थिइन्।
उनले स्थानीय चुनावमा आफ्नो अनुभव भन्दै गठबन्धनले अन्योल र अस्तव्यस्त बाहेक केही नगर्ने बताएकी छन्। उनले लेखेकी छन्, ‘स्थानीय चुनावमा देखेको भोगेको गठबन्धनले अन्योल र अस्तव्यस्त बाहेक केही गर्दैन।’ उनले बहुमत नआएमा चुनावपछि गठबन्धन गर्दा उपयुक्त हुने सुझाव दिएकी छन्।