टोकियो- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन-३ बाटै उम्मेदवारी दिने बताएका छन्। जापान भ्रमणमा रहेका प्रचण्डले नेपाली पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
'मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु। म अन्तबाट होइन, चितवनबाटै लड्छु। चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु,’ उनले भने, ‘बरु तपाईंहरु जापानमा रहने साथीभाइहरुले पनि सहयोग गर्नुहोला।’
चुनाव लड्नका लागि आफूलाई रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोटबाट पनि प्रस्ताव आएको उनको दाबी छ। 'साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास ब्यापक रुपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ,' उनले थपे, 'तर साथीहरु सबैलाई धन्यवाद भन्दै म चाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु।’
प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा भने नरहेकोसमेत बताएका थिए। चुनावपछि प्रधानमन्त्री हुन खोजेको भनेर हल्ला चलाइएकोप्रति प्रचण्डको असन्तुष्टि थियो। आफू दुई पटक प्रधानमन्त्री भइसकेकाले प्रधानमन्त्रीकै लागि छिनाझपटीमा नरहेको उनको दाबी छ।