काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद सोमप्रसाद पाण्डेले आगामी निर्वाचनका लागि सिट बाँडफाँटमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकालाई आधार बनाउनुपर्ने बताएका छन्। उनले अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकालाई उच्च मूल्यांकन गरेर मात्रै आगामी निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताएका हुन्।
संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै मंगलबार उनले यस्तो नेपाली कांग्रेसले स्थानीय तहमा आएको निर्वाचनको परिणाम अनुसार आगामी निर्वाचनमा सिट बाँडफाँट गर्ने भन्ने कुरा मान्न नसकिने बताएका हुन्। उनले पार्टीले देउवालाई प्रधानमन्त्री बनाउँदा खेलेको भूमिकाको पनि कदर हुनुपर्ने बताएका हुन्।
उनले एकीकृत समाजवादीले सहयोग नगरेको खण्डमा देउवा प्रधानमन्त्री बन्न नसक्ने स्थिति रहेको भन्दै सबैलाई सबै क्षेत्रको भूमिकाको कदर गरेर सिट बाँडफाँट हुने बताए। उनले सिट बाँडफाँटका बारेमा सुरुमा धेरै बहस भए पनि निष्कर्ष सहजै निस्किने दाबी गरे। उनले अब पनि राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने र राष्ट्रिय सहमतिबाट नै यो मुलुक अग्रगमन र समृद्धिको निम्ति लाग्नुपर्ने आवश्यक्ता रहेको बताए।
उनले भने, ‘राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने, राष्ट्रिय सहमतिबाट नै यो मुलुक अग्रगमन र समृद्धिको निम्ति लाग्नुपर्ने अहिलेको आवश्यक्ता महसुस भएको छ। आगामी निर्वाचनको सवालमा सिट बाँडफाँट गर्ने कुरा हो, त्यसमा आ-आफ्नो पार्टीको जोडबल त रहन्छ नै, जुन उद्देश्य र समयको आवश्यक्तालाई पूरा गर्ने गरेर गठबन्धन गरेका थियौँ, गठबन्धन भित्र रहेका दलमा आपसी समझदारी हुन्छ।'
सबैले आफ्नो अडान लिएर बस्ने खालको अवस्था हुन नहुनेसमेत उनले बताएका छन्। थपे, 'शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा माधव नेपालको पार्टीले गरेको सहयोगको पनि मूल्यांकन हुनुपर्छ। गठबन्धनलाई यहाँसम्म पुर्याउने कुराको पनि मूल्यांकन गरेर सिट बाँडफाँट हुनुपर्छ। गठबन्धनमा धेरै छलफल गर्छौं तर निस्कर्षमा सहजै पुग्छौँ।’
उनले देशमा राजनीतिक स्थिरताका साथै आर्थिक क्रान्ति ल्याउने हिसावले पार्टी आगामी निर्वाचनमा होमिने बताए।