काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनमा सामेल गराउन नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्।
भेटमा डा. भट्टराईले प्रधानमन्त्री देउवासँग आफूलाई पनि गठबन्धनमा सामेल गराउन आग्रह गरेका स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री देउवासँग बाबुरामले भने, 'गठबन्धन बनाउन हाम्रो पनि ठूलो भूमिका छ। त्यसकारण यो गठबन्धनमा हाम्रो पनि हक लाग्छ र दाबी रहन्छ।'
जवाफमा प्रधानमन्त्री देउवाले भने, 'मैले पनि तपाईंहरुलाई गठबन्धनमा सामेल गराएर जानुपर्छ भनेर सोचिरहेकै थिएँ। तपाईंहरुलाई गठबन्धनमा सामेल गराउन म सकारात्मक छु। एकपटक म गठबन्धनका अन्य दलहरुसँग टलफल गरेर खबर गर्छु।'
डा. भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले कुराकानी सकारात्मक रहेको र केही दिनमा फेरि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने कुरा भएको बताएका छन्।
सत्तारुढ ५ दलीय गठबन्धनभित्रको एक दल जनता समाजवादी पार्टी छाडेर भट्टराई र यादवले नेपाल समाजवादी पार्टी गठन गरेका हुन्। भट्टराई र यादव सत्तारुढ गठबन्धनमा रहन्छन् वा अन्य विकल्प खोज्छन् भन्ने चासो राजनीतिक वृत्त भइरहेको समयमा उक्त भेटवार्ता भएको हो।
सत्तारुढ गठबन्धनले गठबन्धन विस्तार गरेर ८ दल पुर्याउने विषयमा छलफल चलाइरहेको छ। यसअघि महन्थ ठाकुरसहितका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले प्रधानमन्त्री देउवासँग चुनावी गठबन्धनको विषयमा बालुवाटारमा छलफल गरेका थिए। वामदेव नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान पार्टीलाई पनि गठबन्धनमा सामेल गराउने विषयमा छलफल भइरहेको छ।