शुक्रबार, वैशाख २१, २०८१

त्यसैले 'सेफ' छन् डडेल्धुरामा देउवा

२०४८ सालदेखि देउवालाई टेको दिँदै आएका कांग्रेसका धेरै नेता/कार्यकर्ता नेपाली कांग्रेस बीपीमा प्रवेश गरेसँगै आगामी चुनावमा डडेल्धुराको निर्वाचन क्षेत्र रोचक बन्ने देखिएको छ।
 |  बुधबार, साउन २५, २०७९

खिला कार्की

खिला कार्की

बुधबार, साउन २५, २०७९

काठमाडौं– कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट लगातार २०४८ देखि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका छन्। २०७४ को चुनावमा वाम गठबन्धन हुँदासमेत देउवाले डडेल्धुराबाट ६,९२९ मतान्तरले चुनाव जितेका थिए।

triton college

यो पटक पनि देउवा डडेल्धुराबाटै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। तर यस पटक २०४८ देखि नै देउवाको सहयोगी रहेका धेरै कांग्रेसका नेता/कार्यकर्ता नेपाली कांग्रेस बीपीमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस बीपी डडेल्धुरामा स्थानीय तहको  चुनावमा प्रमुख प्रतिस्पर्धी एमालेसँग गठबन्धन गरेरै चुनावी मैदानमा थियो। 

स्थानीय निर्वाचनको अवस्था 

स्थानीय तहको चुनावमा डडेल्धुरामा कांग्रेस २१,७३५, माओवादी १२,८७८, एमाले १०,४४९, नेकपा एस ५,०४१, राप्रपा ७१४, जसपा १५६ मत रहेको छ। यसमा एमालेसँग गठबन्धन गरेर चुनाव लडेको बीपी कांग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्षका उमेदवारले करुवा चुनाव चिह्नमा ३ हजार ५४२ मत पाएका छन्।

डडेल्धुराका स्थानीय तहमा रहेका ५२  वडामध्ये ४ वटा एमाले र २ वटा वडा बीपी कांग्रेसले जितेको छ। जसमा प्रधानमन्त्री देउवाको आफ्नै वडा गन्यापधुरा–१ मा पनि बीपी कांग्रेसले जित निकालेको छ। ५२ वडामध्ये माओवादीले २ वटा स्थानीय तहमा प्रमुख र १३ वटा वडामा जित निकालेको छ। बाँकी सबै स्थानीय तहका प्रमुख/उपप्रमुखसहित वडामा कांग्रेसले जित हात पारेको छ।

corrent noodles
Metro Mart

स्थानीय तहको मतअनुसार पहिलो कांग्रेस रहेको छ भने दोस्रोमा माओवादी छ। तेस्रो रहेको एमालेले स्थानीय तह चुनावमा बीपी कांग्रेससँग गठबन्धन गरेर अहिले भोट बढाएको हो। अन्यथा एमालेको डडेल्धुरामा ८/९ हजार हाराहारी भोट रहेको बताइन्छ ।

देउवालाई आफ्नैले दिए चुनौती 

आफ्नै छत्रछायामा लामो समय राजनीति गरेका सहयोगी र नेता/कार्यकर्ताले कांग्रेस सभापतिलाई चुनौती दिएका छन्। गत स्थानीय चुनावदेखि नै एमालेले जिल्लैभरि डडेल्धुरा कांग्रेसका पूर्वसभापति कर्ण मल्ल पक्षसँग तालमेल गरेको छ। मल्ल पक्षले तीन स्थानीय तहका प्रमुख र दुई स्थानीय तहका उपप्रमुखसहित ५२ मध्ये २० वडामा आफ्ना उम्मेदवार उठाएको थियो।

जिल्लामा गुट चलाउनसमेत नदिने देउवाविरुद्ध पहिलो पटक खडा भएका मल्ल अहिले बीपी कांग्रेसको वरिष्ठ उपाध्यक्ष छन्। मल्ल मात्र होइन, अहिले देउवाविरुद्ध थुप्रै नेता/कार्यकर्ता खुलेआम लागेका छन्। पूर्वजिल्ला सभापति करुणाकर भट्ट, पूर्वजिल्ला उपसभापति गोपाल थापा, समानुपातिक उम्मेदवार लोकराज भट्ट, पूर्वजिल्ला सचिव मानबहादुर बुढा, प्रदेश (क) पूर्वसभापति तिलक हमाल, पूर्वजिल्ला सदस्य हरि भट्ट, पूर्वमहाधिवेशन प्रतिनिधि पदमा गुरुङ, पूर्वमहाधिवेशन प्रतिनिधि हरि भट्ट, पूर्वमहाधिवेशन प्रतिनिधि भरत नेपाली, दलित संघका केन्द्रीय सदस्य जोगबहादुर ऐर, पूर्वजिल्ला सदस्यहरू गोकुल शाही, नरबहादुर ठकुराठी, सुरेन्द्र माली, सन्तोष देउवा, शान्ति जोशी, दानबहादुर पाल, महिला संघकी पूर्वसभापति कमला विष्ट, राम विष्ट, नरेन्द्र मल्ल, झारुदेवी ओझालगायत नेता/कार्यकर्ता अहिले देउवाविरुद्ध बीपी कांग्रेसमा आबद्ध छन्। तर कांग्रेस महासमिति सदस्य सुरेश जोशीले भने कर्ण मल्ल अलगै   पार्टीबाट चुनाव लड्दा कांग्रेसलाई जित्न सजिलो हुने र फाइदा पनि हुने बताउँछन्। उनले भने, ‘मल्लजीले पार्टी छाडेपछि कांग्रेस कार्यकर्ता पछि लाग्दैनन्। लागेका छैनन्। त्यसले कांग्रेसलाई जित्न सहज हुन्छ र फाइदा पनि भएको छ।’

स्थानीय चुनावको परिणामले नै मल्लले पार्टी छाड्दा कांग्रेसको कस्तो परिणाम आउँछ भन्ने स्पष्ट भएको उनको भनाइ छ। उनले थपे, ‘स्थानीय चुनावमा मल्लजीलाई कांग्रेसले कारबाही मात्र गरेको थियो। तर अहिले उहाँले पार्टी नै छाडिसक्नुभएको छ।’

घट्दो लोकप्रियता 
पछिल्लो समय प्रधानमन्त्री देउवाको विभिन्न कारणले लोकप्रियतामा कमी आएको छ। कतिपयले देउवालाई २०५२ पछि ६४ जना जम्बो मन्त्रीमण्डल बनाएकामा अक्षम प्रधानमन्त्रीको ताज पनि पहिर्याएका छन्। यिनै विभिन्न कुराले गर्दा उनको व्यक्तित्वमा दाग लाग्नुका साथै लोकप्रियता घटेको छ। डडेल्धुराका मतदाता अब आफ्ना प्रतिनिधि परिवर्तन चाहन्छन् भन्ने मनोविज्ञान पनि देखिन्छ।


डडेल्धुरामा अब चार–चार पटक प्रधानमन्त्री भइसकेका देउवाबाहेक अरूलाई पनि अवसर दिनुपर्छ भन्ने चर्चा व्यापक छ। २०४८ मा निर्विकल्प देखिएका देउवा कर्ण मल्लले विद्रोह गरेर बीपी कांग्रेस र एमालेबीच गठबन्धन गरेपछि स्थानीय चुनावमा कांग्रेसलाई भोट माग्न मैदानमै पुगेका थिए। देउवा आफैं मैदानमा पुगेर कांग्रेसलाई भोट माग्दासमेत उनले आफ्नो वडा जोगाउन सकेनन्। यी कारणले पनि देउवाको लोकप्रियता खस्केको स्पष्ट हुन्छ।

२०४८ को चुनावमा भारी मत ल्याएर प्रतिनिधिसभा सदस्य भएका देउवा देउवाले २०७४ मा वाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई ६ हजार ९२९ मतान्तरले पराजित गरेका थिए । देउवाले २८,०४४ मत ल्याएका थिए भने भट्टले २१,११५ मत प्राप्त गरेका थिए। 

देउवाले मतान्तर बढाउने सम्भावना 
२०४८ देखि लगातार प्रतिनिधिसभा सदस्य निर्वाचित भएका देउवाले यो पटक गठबन्धनका कारण मतान्तर धेरै फराकिलो बनाउने सम्भावना बढेको छ। कांग्रेस, माओवादी, नेकपा एस र जसपाले स्थानीय तहमा पाएको मतलाई आधार मान्दा गठबन्धनको मत ३९,८१० हुन्छ। विपक्ष एमालेको मत १०,४४९ हो। त्यो पनि डडेल्धुरा कांग्रेसका पूर्वसभापति कर्ण मल्ल रहेको बीपी कांग्रेससँग गठबन्धन गरेका कारणले बढेको जानकारहरू बताउँछन्।

स्थानीय तहमा अहिले राजनीतिक दलहरूले प्राप्त गरेको मतभार विश्लेषण गर्दा प्रधानमन्त्री देउवालाई जित निकाल्न सहज देखिन्छ। कांग्रेसका बागी विद्रोहीको चुनौतीलाई समेत परास्त गरेर देउवा कांग्रेस, एमाले र माओवादीलगायतका दल अलग–अलग चुनावी प्रतिस्पर्धा गर्दासम्म उनलाई जित्न सहज देखिन्छ ।

को हुन् देउवाका प्रतिस्पर्धी? 
कांग्रेस सभापाति एंव प्रधानमन्त्री देउवासँग आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यको चुनावमा प्रतिस्पर्धी को हुन् भन्ने चासो छ। देउवाका मुख्य प्रतिस्पर्धीका रूपमा अहिले बीपी कांग्रेसका वरिष्ठ उपाध्यक्ष एंव डडेल्धुरा कांग्रेसका पूर्वसभापति कर्ण मल्ललाई हेरिएको छ। उनी एमालेको समर्थनमा बीपी कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने सम्भावना बढी रहेको धेरैको बुझाइ छ।

मल्ललाई २०४८ मा देउवाले गृहमन्त्री हुँदा स्वकीय सचिव हुँदै डडेल्धुराको राजनीतिमा अगाडि ल्याएका हुन्। उनी दुई कार्यकाल डडेल्धुराको जिल्ला सभापति भएका थिए। त्यस्तै, बीपी कांग्रेसमा रहेका लोकराज भट्ट पनि अर्का देउवाका प्रतिस्पर्धी हुन्। उनी त्रिभुवन विश्वविद्यालयको पूर्वस्ववियु सभापति हुन्।

कांग्रेस विभाजन भएको बेलादेखि नै देउवा विरोधी क्याम्पमा थिए। उनी देउवा विरोधी क्याम्पमा भएकै कारण अवसरबाट वञ्चित नेता हुन्। बीपी कांग्रेसमा मल्लले भन्दा लोकराज भट्टले बढी भोट ल्याउन सक्छन् भन्ने विषयमा छलफल भइरहेको छ। गन्यापधुरा गाउँपालिकाका बीपी कांग्रेसका उम्मेदवार सुरेन्द्र मालीले देउवालाई टक्कर दिन सक्ने मल्ल र भट्ट को हुन्छ भन्नेमा छलफल भइरहेको बताए। उनले भने, ‘मल्लजी र भट्टजीमध्ये एक जनालाई उम्मेदवार बनाउने बीपी कांग्रेसको तयारी छ। यो पटक प्रधानमन्त्रीलाई बिदा दिन को नेता सक्षम हुनुहुन्छ भनेर हामीले छलफल गरिरहेका छौं।’

त्यसैगरी बीपी कांग्रेससंग एमालेको गठबन्धन नभए एमालेबाट डडेल्धुराका पूर्वजिल्ला विकास समिति सभापति गजेन्द्र शाही र एमाले जिल्ला अध्यक्ष प्रकाश साउदमध्ये एक जना उम्मेदवार बन्नेछन् । सरकारमा रहेका दलहरूबीचमा गठबन्धन हुने भएपछि २०६४ यता लगातार देउवाका प्रतिस्पर्धी रहेका खगराज भट्ट यो पटक उम्मेदवार बन्ने छैनन्। यीबाहेक पाँच वर्षअघि बीबीसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चित बनेका सागर ढकाल डडेल्धुराबाट संसदीय चुनाव लड्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री देउवाविरुद्ध उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका सागर त्यसकै तयारीका लागि डडेल्धुरा पुगेर फर्किइसकेका छन्। उनले सामाजिक सञ्जालमार्फत रात्रि बस चढेर डडेल्धुरामा चुनावको तयारीका लागि हिँडेको तस्बिर सार्वजनिक गरेका थिए। ढकाल अध्ययनका लागि बेलायतको अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए। उनले अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेका छन्।

देउवालाई प्रश्न सोध्ने बेला सागरले पुल्चोक क्याम्पसबाट हाइड्रो मेकानिकलमा बीई गरेका थिए। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘डडेल्धुराको विकट गाउँबाट चप्पल पड्काएर राजनीतिमा आउनुभएको हजुरबुबा (शेरबहादुर देउवा)ले म जन्मिएदेखि जमिन टेक्नुभएको छैन। नेपाली जनताको पीडा सत्ताको मोहमा बिर्सनुभएको छ। परिवारवादमा सोच्न नसकिने गरी चुर्लुम्म डुब्नुभएको छ। डडेल्धुरा पनि पाँच वर्षमा एक पटक जान हम्मे–हम्मे पर्छ रे। यस पटक उहाँलाई जमिन टेकाउने प्रयास गर्नेछु।’

प्रकाशित: Aug 10, 2022| 07:38 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...