काठमाडौं– भारतको बिहार प्रदेशका मुख्यमन्त्री नीतिश कुमारले राजीनामा दिएका छन्। भारतीय जनता पार्टीसँगको सत्ता सहकार्य तोड्दै उनले राजीनामा दिएका हुन्।
नयाँ गठबन्धन निर्माणका लागि भाजपासँगको सहकार्य तोडेको उनले बताएका छन्। भाजपासँगको सहकार्य तोड्दै नीतिशले राष्ट्रिय जनता दल, भारतीय राष्ट्रिय कांग्रेस र वाम दलहरूको समर्थनमा सरकार बनाउने बताइएको छ। पटकपटक सरकार बनाउनका लागि गठबन्धन फेरिरहने नीतिश राजदको समर्थनमा पुनः मुख्यमन्त्री बन्ने छन्।
नीतिशले अब भारतीय इतिहासमै सबैभन्दा बढी ८ पटक मुख्यमन्त्रीका रूपमा शपथ लिनेछन्। उनको पार्टीले पूर्ण बहुमत नल्याए पनि उनी १५ वर्षदेखि बिहारको मुख्यमन्त्री छन्।
राजीनामा बुझाएपछि पत्रकारहरूसँगको कुराकानीमा उनले सबै सांसदहरूबीच बीजेपी नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक अलायन्स (एनडी) छाड्ने सहमति भएको बताएका छन्। बिहारमा नयाँ सरकार गठन गर्नका लागि कांग्रेस र वामपन्थी दलले राजदका नेता तेजस्वी यादवलाई समर्थनपत्र बुझाइसकेका छन्।
पूर्वमुख्यमन्त्री लालु यादवका छोरासमेत रहेका तेजस्वीले गृह मन्त्रालय र सभामुख आफूहरूले पाउनुपर्ने माग अगाडि सारेका छन्। तेजस्वी यसअघि पनि नीतिश नेतृत्वको सरकारमा उपमुख्यमन्त्री बनिसकेका छन्।
२४३ विधायक रहेको बिहारमा सरकार बनाउन १२२ जनाको समर्थन चाहिन्छ। बिहारमा राजद ७९ सिटसहित सबैभन्दा ठूलो पार्टीका रूपमा रहेको छ। त्यस्तै जदयूको ४५ सिट रहेको छ। भारतीय कांग्रेसको १९ र वामपन्थी दलहरूको १६ सिट रहेको छ। त्यस्तै भाजपासँग भने ७७ विधायक रहेका छन्। यस्तो अवस्थामा नीतिशले करिब दुईतिहाइ विधायकको समर्थन पाउने देखिएको छ।