काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक स्तरोन्नतिको रकम हिनामिना गरेको भन्दै पाँच जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।
सर्लाहीको रामनगर गाउँपालिका–६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्मको सडक स्तरोन्नति गर्ने कार्यको लागि प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित बजेट हिनामिना भएको अख्तियारको दाबी छ।
मन्त्रालयका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, इन्जिनियर राम किशोर साह र सबइन्जिनियर प्रेमचन्द्र झाले १६ लाख ५९ हजार ९७२ रुपैयाँ ६० पैसा हिनामिना गरेको अख्तियारको आरोप छ। ‘आर्थिक वर्ष २०७५–७६ मा रामवन गोटदेखि मलघट्टा हुँदै महिनाथपुर नहरसम्म ग्राभेल स्तरको सडक निर्माण गर्ने क्रममा गलत नापी, किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानी समेत दिई उक्त रकम हानी गरेको देखिएको छ। भ्रष्टाचार गरिएको उक्त रकम बिगोबमोजिम जरिवाना गरी कैद माग गर्दछौं,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यस्तै, मन्त्रालयका लेखा अधिकृत महम्मद दाउदले उक्त योजनामा राजश्व चुहावट गराएको भन्दै उनीविरुद्ध समेत मुद्दा दर्ता गराएको छ। ‘मूल्य अभिवृद्धि कर लाग्ने वस्तु, सेवा खरिद गर्दा अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेका व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट खरिद गर्नुपर्नेमा सो अनुसार नगरी कन्स्ट्रक्सन कम्पनीलाई बिल बिजकसमेत जारी गर्न नलगाई भरपाईको भरमा रकम भुक्तानी दिई मूल्य अभिवृद्धि करबापतको कर राजश्व चार लाख ९७ हजार ५ सय ६६ रुपैयाँ ३७ पैसा चुहावट गरेको देखिएको छ। उक्त राजश्वको दोब्बर हुन आउने रकम ९ लाख ९५ हजार १३२ रुपैयाँ ७४ पैसा जरिवाना माग दाबी गरिन्छ,’ अख्तियारले विज्ञप्ति जारी गर्दै भनेको छ।
उता सडक मर्मत तथा ग्राभेल निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष राजकुमार महतोविरुद्ध पनि मुद्दा दायर भएको छ। गलत नापी गर्न लगाई गैरकानुनी लाभ लिने उदेश्यले १६ लाख ५९ हजार ९७२ रुपैयाँ साठी पैसा माग दाबी गर्दै अख्तियारले मुद्दा दर्ता गरेको छ। सडक बनाउँदा रकम हिनामिना भएको उजुरीपछि अनुसन्धान गर्दा उक्त तथ्य फेला परेको अख्तियारको भनाइ छ।