काठमाडौं– बहुपति प्रथामा आधारित नेपाली डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान् (को–हजबेन्ड)ले अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको छ। अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलको अन्तिम दिन आइतबार गणेश पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो ।
यो अवार्ड नेपाल र नेपालीका लागि गर्वको विषय भएको निर्देशक पाण्डेले बताए। आयोजक कब इन्टरनेसनल फिल्म फेस्टिभलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार यस पटक ६ सय वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छानिएका थिए ।
यसअघि अमेरिकाको मेरियट फिल्म महोत्सवमा पाण्डेको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ (नेपाल अर्थक्वेकः हिरोज्, सर्भाइभर्स एन्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो। बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो।
घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका हुम्लालगायत केही हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पर्दामा उतारेका हुन्।