चितवन– चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन जग्गा विवादका कारण अलपत्र परेको छ।
गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले वडा–४ कुरिनटारमा २०७७ देखि २५ शय्याको अस्पताल बनाउन थालेको थियो। तर अहिले जग्गामा विवाद भएपछि अस्पताल भवन निर्माण रोकिएको हो।
तत्कालीन समय अस्पताल निर्माण सुरु गर्दा पु¥याउनुपर्ने मापदण्ड पूरा नगरी अस्पताल भवन निर्माण थालेकाले दुई वर्ष बितिसक्दा पनि निर्माणले पूर्णता पाउन नसकेको हो। गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ को नीति, कार्यक्रम तथा बजेटमा ५० लाख बजेट विनियोजन गरी सर्वशान्ति क्याम्पस पछाडिपट्टि सार्वजनिक जग्गामा अस्पताल निर्माण थालेको थियो।
उक्त समय बोलपत्र प्रक्रिया गरी भवन निर्माण सुरु भएको थियो। उतिबेलै भवनको जग राख्ने कामसमेत सकिएको थियो। तर बीचमा जग्गा स्वामित्वका विषयमा टुंगो लाग्न नसकेपछि हालसम्म भवन निर्माणले पूर्णता पाउन नसकेको हो।
गाउँपालिकाले सार्वजनिक जग्गा भनेर निर्माण सुरु गरेको उक्त जग्गा वन कार्यालयले वन क्षेत्रभित्रको भएको बताउँदै अस्पताल निर्माण रोकिदिएपछि अलपत्र परेको हो। करिब १० करोड लागत अनुमानका साथ भवन निर्माण सुरु गरिएको थियो।
पालिकाकी तत्कालीन अध्यक्ष गीताकुमारी गुरुङले गाउँपालिकाभित्रको जग्गा पालिकाले जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न सकिने भएकाले आफूहरूले नागरिकको सुविधाका लागि अस्पताल भवन निर्माण थालेको बताइन्।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दानबहादुर गुरुङले भने, ‘जग्गा अस्पतालको स्वामित्वमा ल्याउनुपथ्र्यो, त्यसो नगरी भवन निर्माण सुरु गर्दा समस्या सिर्जना भएको हो।’ जग्गाको स्वामित्व अस्पतालका नाममा ल्याउने प्रयास जारी रहेको उनले बताए।
यही आर्थिक वर्षभित्रमा अस्थायी भवन निर्माण गरी १५ शय्याको इच्छाकामना अस्पतालको सेवा सुरु गरिने अध्यक्ष गुरुङले जानकारी दिए। उनले भने, ‘तत्कालका लागि अस्थायी संरचना निर्माण गरी इच्छाकामना अस्पतालको सेवा सुरु गरिनेछ भने रोकिएको भवन निर्माणको कामसमेत जग्गा प्राप्तिको प्रक्रिया पूरा गरी सुरु गर्नेछौं। – रासस