कुश्मा- पर्वतको जलजला गाउँपालिका-७ धाइरिङ धारापानी गाउँमा विद्युत सर्ट भइ करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ।
प्रशारण लाइनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाइभोल्टेज लाइन प्रशारण भएको स्थानीयले बताएका छन्।
करेन्ट लागेर धारापानीकी ५० वर्षीया सीता क्षेत्रीको मृत्यु भएको मिलनचोकी प्रहरी चौकीले जनाएको छ। घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको प्रहरीको भनाइ छ।
करेन्ट लागेर अन्य १२ जना घाइते भएका छन्। हाइभोल्टेज लाइनका कारण गाउँका करिब दुई सय घरधुरीका मिटरबक्स जलेका छन्। वितरण लाइन चुँडिएर स्थानीय प्रताप आचार्यको बाख्रा फार्ममा रहेका १६ वटा बाख्रा मरेका छन्।
विद्युत कार्यालयको लारबाहीका कारण दुःखद घटना घटेको स्थानीयको आरोप छ।