दाङ- दाङको टरिगाउँ एयरपोर्टमा ‘फ्लाइट’ घटाईएको छ। अहिले हप्तामा तीन दिन मात्रै फ्लाइट हुने गरेको छ।
नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज बिग्रिएर ‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, बिहीबार र शुक्रबार मात्रै फ्लाइट हुने गरेको छ।
यसअघि दैनिक हवाई सेवा थियो। ‘जहाज ग्राउन्डेड भएकाले अहिले तीन दिन मात्रै सेवा दिने गरेका छौँ’, उनले भने, ‘पहिले शुक्रबार र शनिबारबाहेक अन्य दिन सेवा दिने गरेका थियौँ, त्यपछि प्रत्येक दिन पनि भएको थियो, तर, अहिले घटाउनु पर्ने अवस्था आएको छ।’
असारको दोस्रो सातादेखि नियमित हप्तामा तीन मात्रै सेवा दिन थालिएको भन्दै अब साउन अन्तिमतिर दैनिक फ्लाइट भर्ने तयारी रहेकोसमेत उनको भनाइ छ। अहिले हप्तामा तीन दिन फ्लाइट भए पनि यात्रुको त्यति चाप नभएको उनले बताए।
सरदर १०/१२ यात्रु आवतजावत गर्ने गरेका छन्। अहिले दाङ-काठमाडौं हवाई भाडा न्यूनतम भाडा आठ हजार आठ सय १० छन्, भने अधिकतम १२ हजार छ सय ६५ रहेको छ। काठमाडौं भन्दा दाङ आउँदा भने त्यसको दुई सय बढी हुन्छ।
काठमाडौंमा यात्रु सेवाबापत पाँच सय रहेको, दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा दुई सय बढी लाग्ने गर्छ।
अहिले एयरपोर्टमा निगमको १९ सिटे टुइनेटर आउने गर्छ। ठूला जहाज आउनका लागि धावनमार्ग विस्तार गर्नुपर्छ। त्यसका लागि यस क्षेत्रमा पटक–पटक माग हुने गरेको छ।
अहिले सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावन मार्ग छ। त्यसलाई बढाउन सकिएमा ठूला जहाज बस्ने र हवाई भाडा सहज हुने अपेक्षा गरिएको छ। -रासस