आइतबार, जेठ ३, २०८३

पहिरोबाट सात जलविद्युत् आयोजना प्रभावित

रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

म्याग्दी- पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन्। रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो। अरबौ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ।  

National life

जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन्। जलविद्युत् आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न आवश्यक पर्ने विस्फोटक पदार्थ ढुवानीमा समस्या भएको हो। 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले बाँध र दुई वटा अडिटबाट सुरुङ निर्माण रोकिएको बताए। 

‘दग्नामबाट खसेको पहिरोका कारण झिँको सिमानामा रहेको बाँध, अडिट १ र २ को सुरुङ निर्माण रोकिएको छ’, उनले भने, ‘पावर हाउस र अन्य अडितको काम भने निरन्तर भइरहेको छ। बाँधतर्फ जाने पहुँचमार्गमा पैदल हिँडेर पनि जान नसकिने पहिरो खसेको छ।’ 

राहुघाट नदीमा आएको बाढीले ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सले भाडामा लिएको डोजर बगाएको थियो। तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले, ४८।५ मेगावाटको अपर राहुघाट र संयुक्त ऊर्जा प्रालिले निर्माण गरिरहेको २१।३० मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजना निर्माणस्थल जोड्ने पहुँचमार्ग अवरुद्ध भएका छन्। 

तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले दग्नामको औरी, चिमखोला र मलाङको पहिरोका कारण डिजेल, सिमेन्ट, रड र विस्फोटक पदार्थ ढुवानी हुन नसकेको बताउनुभयो। भएका सामान सकिएपछि भरिया र खच्चरमा बोकाउँदा महँगो पर्न गएको इन्जिनियर तिमिल्सिनाले बताए। 

धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाका आवासीय इञ्जिनियर बालकुमार रोकाले पहिले दैनिक तीन पटक विस्फोटक हुने गरेकोमा बर्खा लागेपछि एक पटक मात्र गर्न सकिएको बताए। 

धौलागिरि र मालिका गाउँपालिकामा अपर म्याग्दी हाइड्रोपावर लिमिटेडले निर्माण थालेको ५३.५० मेगावाट क्षमताको अपर म्याग्दी पहिलो र हाइड्रो इम्पायर प्रालिले धौलागिरि गाउँपालिका–४ मा निर्माण गरिरहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनास्थल पनि सडक सम्पर्कविच्छेद भएको छ। 

नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको १३२ केभी क्षमताको डाडाखेत सवस्टेशन निर्माणस्थल जोड्ने सडक पनि अवरुद्ध भएको छ। निरन्तरको बर्सातका कारण दिनमा मर्मत गरिने सडक रातमा भत्किने गर्छन्। निर्माण सामग्री र इन्धनको व्यवस्थापन गर्न नसक्दा आयोजनाका निर्माण कम्पनीले मजदुर घटाएका छन्। 

अन्नपूर्ण गाउँपालिकामा सञ्चालित ७१ मेगावाट क्षमताको नीलगिरि क्यासकेड, ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो, १४ मेगावाट क्षमताको घारखोला र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण कार्यलाई भने निरन्तरता दिइएको प्रवद्र्धकले जनाएका छन्। 

विद्युत् विकास विभागका अनुसार ४९ मेगावाट क्षमताका तीन वटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन्। 

३४६.०३ मेगावाट क्षमताका छ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन्। ८३.५ मेगावाट क्षमताका तीन वटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन्। जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्वेक्षणको क्रममा छन्। 

सबैभन्दा बढी १० जलविद्युत् आयोजना रहेका अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाटको घलेम्दीखोला र दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छन्।  -रासस

प्रकाशित: Aug 08, 2022| 09:31 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।