आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जापान पुगेका प्रचण्डको गुनासो- नेपालमा असाध्यै नकारात्मक सोच्‍ने मानिस छन्

जापान पुगेका प्रचण्डको गुनासो- नेपालमा असाध्यै नकारात्मक सोच्‍ने मानिस छन्

पूर्वप्रधानमन्त्री दाहालले नेपालमा भने असाध्यै नकारात्मक सोच्ने मानिस रहेको भन्दै गुनासो गरे। जापानीहरूले पुरानो पीडा भुलेर देशलाई विकासको गतिमा अघि लगिसकेको उल्लेख गर्दै उनले नेपालमा भने देशको निम्ति मर्छु भन्दा पनि सुख नपाइएको बताए।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका छन्। 

‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै उनले आर्थिक समृद्धिका लागि आफूहरू प्रयत्नशील रहेको र विदेशिएका नेपालीलाई एक दिन स्वदेश फर्कनका लागि अपिल गर्ने दिनको प्रतिक्षामा आफू रहेको बताए। 

उनले नेपाली समुदायमा नकारात्मक प्रवृत्ति रहेको भन्दै त्यसलाई सकारात्मक नतिजामा परिणत गर्नुपर्नेमा जोड दिए। 'हाम्रो समाजमा अहिले पनि नकारात्मक सोच राख्ने र नकारात्मक कुरा गर्दा रमाइलो मान्ने मानिस रहेका छन्, उनले भने, 'हिरोसिमामा बम हानेको ठाउँ मैले आज हेरेँ। यत्रो दुर्घटना र हत्या हुँदा जापानीको मनमा के होला? मनोभावना कस्तो होला भनेर सोधेँ। तर जापानीहरूमा कुनै विद्वेष छैन। त्यो बेलाको परिस्थिति त्यस्तै थियो। अब हामीले मिहिनेत गरेर विकासमा केन्द्रित हुनुपर्छ भनियो।'

पूर्वप्रधानमन्त्री दाहालले नेपालमा भने असाध्यै नकारात्मक सोच्ने मानिस रहेको भन्दै गुनासो गरे। जापानीहरूले पुरानो पीडा भुलेर देशलाई विकासको गतिमा अघि लगिसकेको उल्लेख गर्दै उनले नेपालमा भने देशको निम्ति मर्छु भन्दा पनि सुख नपाइएको बताए। 

संविधान जारी भएपछि दोस्रो पटक गत वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनले मुलुकलाई स्थिरतातर्फ लैजाने उनको भनाइ छ। उहाँले हरेक क्षेत्रलाई अगाडि बढाउने मुख्य विषय नै राजनीति नै भएकाले मुलुकमा कसरी राजनीतिक स्थायित्व प्रदान गर्ने होला भन्ने बारेमा सामूहिक रुपमा प्रयत्न गर्नुपर्नेमा जोड दिए। 

विकास र समृद्धिका लागि सुशासन नै प्रमुख आधार रहेको भन्दै उहाँले त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए। अध्यक्ष दाहालले सुशासन कायम गर्नका लागि देशभित्र र देशबाहिर रहेका सबै नेपाली समुदायको साथ खोज्दै भने, 'आफू दुई पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचार भयो भनेर सुन्न परेन । यस आधारमा पनि म भन्न सक्छु, पहल गर्ने हो भने सुशासन सम्भव छ।'

उनले आफ्नै पहलमा मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर र ऊर्जा क्षेत्रमा दीर्घकालीन लक्ष्यका साथ अभियान अगाडि बढाइएको स्मरण गरे। उनले ऊर्जाको व्यापारमार्फत आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका काम अगाडि बढाइएको जानकारी दिए। 

अध्यक्ष दाहालले माओवादीकै पहलमा देशमा सङ्घीयता र गणतन्त्र आएको तथ्य पनि पेश गरे। उनले चालु आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकासका लागि गुणात्मक तबरले लगानी गर्ने वातावरण बनाइएको बताए। उनले देशभित्र राजनीतिक स्थायित्व र विकासका लागि आफूहरू लागि परेको स्पष्ट पारे। 

प्रकाशित: Aug 07, 2022| 22:01 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...