काठमाडौं- सरकारले संघ र प्रदेश सभाको निर्वाचनको घोषणा गरेसँगै दलहरु चुनावी अभियानमा जुटेका छन्। अहिलेको सत्ता गठबन्धनमा रहेका पाँच दलहरुविरुद्ध नेकपा एमालले एक्लै चुनावी मैदानमा होमिने बताउँदै आएको छ। सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन नै गरेर चुनावी मैदानमा होमिने निर्णय गरेका छन्। उनीहरुले सिट बाँडफाँटका लागि पनि कार्यदल गठन गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा सामेल गराउने तयारी थालेका छन्। यसरी सबै दलहरु एकातिर हुँदा नेकपा एमाले भने एक्लै मैदानमा जाने बताइरहेको छ। यसअघि स्थानीय तहको निर्वाचनमा राप्रपासँग गठबन्धन गरेको एमाले अहिले एक्लै चुनावमा जाने महासचिव शंकर पोखरेलले बताएका छन्।
महासचिव पोखरेलले एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै रहेको उल्लेख गरेका छन्। अब एमालेले पार्टी प्रवेश र ‘घर फर्क अभियान’ थाल्नुपर्ने उनले बताए।
महासचिव पोखरेलले कांग्रेसले आंशिक गठबन्धन गरेको ठाउँमा एमालेको मत ३१ प्रतिशत, पूर्ण गठबन्धन गरेको ठाउँमा ४१ प्रतिशत, एक्लाएक्लै लडेको ठाउँमा एमालेको मत २६ प्रतिशत रहेकाले यो मतका आधारमा चुनाव जित्न सकिने तथ्यांकले देखाएको पनि उनले दाबी गरे।
उनले कतिपय जित्ने ठाउँ पनि एमालेले गुमाएको उल्लेख गर्दै त्यसका आन्तरिक कारण रहेको पनि बताए। पोखरेलले जनतासँग साक्षात्कार नगरिकन चुनाव जित्न नसकिने भन्दै कार्यकर्तालाई यसमा सुधार गर्न र जनतासँगको साक्षात्कार बढाउन आग्रह गरे।
वाम एकताको लागि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई पार्टीमा ल्याउने सम्भावना नभएको पनि बताएका छन्। एमालेविरुद्ध मोर्चाबन्दी गरेको भन्दै पोखरेलले ती दुई नेतालाई ल्याउने सम्भावना नभएको उल्लेख गरे।
एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा पोखरेलले एमाले एक्लै चुनाव जित्न सक्षम रहेको दाबी गरेका हुन्। चौतर्फी घेराबन्दीका बीचमा एमालेले चुनावको सामना गरेर अगाडि आएको भन्दै पोखरेलले त्यस अनुसार रणनीति बनाउन कार्यकर्तालाई निर्देशन दिए।
तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने पछिल्लो समय स्वतन्त्र उम्मदेवारमाथि खनिरहेका छन्। उनले वाम गठबन्धनका विषयमा भने मुख खोलेका छैनन्। यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेको सत्ता गठबन्धनको विकल्प नभएको बताएका थिए।