काठमाडौं- पूर्व परराष्ट्रमन्त्रीहरुले विश्वमा दोस्रो शीतयुद्ध सुरुआत भइसकेकोले नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक मामिलामा सजग हुनुपर्ने सुझााएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पूर्वपरराष्ट्रमन्त्रीहरुलाई शीतल निवासमा बोलाएर गरेको छलफलमा क्रममा यस्तो सुझाएका हुन्। अहिलेको भूराजनीति, नेपालको विदेश सम्बन्ध र नेपालको परराष्ट्र नीतिका सम्बन्धमा राष्ट्रपति भण्डारीले पूर्वपरराष्ट्रमन्त्रीहरु रमेशनाथ पाण्डे, प्रकाशचन्द्र लोहनी, रामशरण महत, प्रकाशशरण महत र प्रदीप ज्ञवालीलाई बोलाएर छलफल गरेकी हुन्।
पूर्वपरराष्ट्र मन्त्रीहरुले नेपालको कुनै पनि दल वा व्यक्ति विशेषभन्दा पनि राष्ट्रको स्वार्थको आधारमा परराष्ट्र नीतिलाई सञ्चालन गर्नुपर्ने सुझाएका हुन्। राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालका अनुसार पूर्वपरराष्ट्रमन्त्रीहरुले ‘दोस्रो शीतयुद्धको सुरुआत भइसकेकोले नेपालले विदेश नीतिका सम्बन्धमा सजकता अपनाउनु पर्ने' सुझाव दिएका हुन्।
राष्ट्रपति भण्डारीले विश्वको भूराजनीतिक मामिलामा आइरहेको परिवर्तनबारे चासो राख्दै अमेरिका–चीनको टकरावका साथै अन्य भूराजनीतिक उतारचढाबका आयामबारे प्रश्न गरेकी थिइन्। राष्ट्रपतिको प्रश्न थियो, 'रुस–युक्रेन संकट, त्यसपछि ताइवान मामिलालाई लिएर अमेरिका र चीन बीचको तनाव र अन्य भूराजनीतिक घटनाक्रमले अबको संकट के हुन्छ?' राष्ट्रपतिलाई पूर्वपरराष्ट्रमन्त्रीहरुले पनि आ–आफ्ना धारणा खुलेर राखेका थिए।
छलफलमा सहभागी पूर्वपरराष्ट्रमन्त्री लोहनीले विश्वमा दोस्रो शीतयुद्ध आइरहेको बेला नेपालमा महाशक्ति मुलुकहरु भारत, चीन र अमेरिकाको चासो बढेको बताएका थिए। उनले भने, 'महाशक्ति राष्ट्रहरुको नेपालको परराष्ट्र नीतिमाथि विश्वास कम भइरहेको छ। त्यसलाई सुधार गर्नुपर्छ। नेपालले आफ्नो देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वार्थलाई केन्द्रमा राखेर महाशक्ति राष्ट्रहरुलाई विश्वासमा लिन आवश्यक छ।'
लोहनीले आफूले तीन ठूला शक्ति राष्ट्रहरुले नेपालको परराष्ट्र मामिलामा नीतिगत स्थायित्वमा कमजोर भएको कारण खतरा भएको बताएका थिए। अर्का पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले देशलाई केन्द्रमा राखेर परराष्ट्र नीतिलाई सञ्चालन गर्नुपर्ने बताएका थिए। उनले भने, ‘हाम्रो संस्थागत कमजोरी छ। त्यसलाई पार्टी विशेषभन्दा पनि संस्थागतरुपमा सुधार गर्न आवश्यक छ।'