बिहीबार, असार ३२, २०८३

त्रासमा बनाइएका आयोगहरूलाई निकम्मा बनाएर फालिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– राज्यसत्ता नै परिवर्तन गर्ने बताउँदै तत्कालीन माओवादीले १० वर्ष सशस्त्र विद्रोह सञ्चालन गर्‍यो । त्यसबाट राज्यसत्ता त परिवर्तन भयो तर त्यस क्रममा धेरैको परिवार छिन्नभिन्न बन्यो । 

कैयौं बेपत्ता भए भने कैयौं जीवनभर नमेटिने चोट बोक्न विवश भए । ०६२/६३ को जनआन्दोलन र ५ मंसिर ०६३ को विस्तृत शान्ति सम्झौतासँगै सशस्त्र विद्रोह रोकियो । त्यसको घाउले भने पीडितलाई अझै पोलिरहेकै छ ।

पीडितको घाउमा मलम लगाउन ६ महिनाभित्र द्वन्द्वकालीन घटनाको छानविन गर्ने गरी समिति गठन गरिने शान्ति सम्झौतामा उल्लेख थियो । तर, शान्ति सम्झौता भएको आठ वर्ष दुई महिनापछि बल्ल आयोग बन्यो । कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारले २७ माघ ०७१ मा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’ गठन गर्‍यो ।

यी दुई आयोग गठनको मुख्य उद्देश्य थियो, द्वन्द्वका क्रममा भए/गरेका गैरन्यायिक घटनाको छानविन र पीडकलाई कारवाही गर्नु तथा पीडितलाई न्याय दिनु । दुई वर्षका लागि गठन गरिएका आयोगको म्याद दुई पटक थपिए पनि अझैसम्म यसले गति लिन सकेको छैन । दुवै आयोगले करिब साढे तीन वर्ष बिताएका छन् । तर, एक जना पीडितलाई पनि न्याय दिन सकेका छैनन् ।
 

 सत्य निरुपण आयोगमा हालसम्म ६० हजार र बेपत्ता छानविन आयोगमा करिब तीन हजार उजुरी परेका छन् । तर, हालसम्म एउटा पनि उजुरीको किनारा लगाइएको छैन ।


त्रासका कारण गठन

माओवादी विद्रोहका क्रममा राज्य र माओवादी पक्षबाट झण्डै १७ हजार नागरिक मारिएको र करिब तीन हजार अझै बेपत्ता रहेको प्रक्षेपण विभिन्न संस्थाहरूले गरिरहेका छन् ।

शान्ति सम्झौता भएको ६ महिनाभित्र संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूको गठन हुने भनिए पनि त्यसका लागि झण्डै आठ वर्ष लाग्यो । वास्तवमा आयोग गठन गर्न कुनै राजनीतिक दलको चासो थिएन । नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा द्वन्द्वकालीन मानवअधिकार उल्लंघनको मुद्दामा पक्राउ परे । 

त्यसपछि मात्र सत्य निरुपण तथा मेलमिलाप आयोगको गठनमा राजनीतिक दलहरूको आँखा खुल्यो । द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका मुद्दा समाधान नगरिए अरू पनि पक्राउ पर्ने त्रास दलका नेताहरूमा देखियो ।

यसबाट स्पष्ट हुन्छ, उक्त आयोग न्याय दिन नभई अन्तर्राष्ट्रिय समुदायलाई देखाउनका लागि मात्र गठन भएको थियो । आयोगलाई राजनीतिक नेतृत्वको कहिल्यै सहयोग नगरेको कुराबाट पनि त्यही पुष्टी हुन्छ ।



किन गति लिएनन् आयोगले ?

सत्य निरुपण आयोगमा हालसम्म ६० हजार उजुरी परेका छन् । यस्तै, बेपत्ता छानविन आयोगमा करिब तीन हजार उजुरी परेका छन् । तर, हालसम्म एउटा पनि उजुरी किनारा लगाइएको छैन । दुवै आयोगले उजुरी परेका सबैको फरक–फरक फाइल बनाएर राखिएको बताउँदै आएका छन् ।

तर, उजुरी छानविनका लागि दुवै आयोगले पर्याप्त जनशक्तिको अभाव औंल्याउँदै आएका छन् । धेरै उजुरीमा बेपत्ता पार्ने तथा हत्या गर्ने मानिससम्बन्धमा किटानी जाहेरी दिइए पनि हालसम्म कसैसँग बयान लिइएको छैन ।

मुद्दाहरूलाई अगाडि बढाउने सम्बन्धमा पनि अलग्गै विशेष अदालत गठन गर्नुपर्ने व्यवस्था छ, जुन हालसम्म गठन भएको छैन । यस्तै, परिपुरणको सम्बन्धमा पनि आयोगलाई कुनै अधिकार दिइएको छैन । त्यसैले, यतिबेला द्वन्द्व पीडितहरूले आयोगको औचित्यमै प्रश्न उठाइरहेका छन् ।

पीडितलाई न्याय दिने भन्दै दलहरूले गठन गरेका दुई आयोगले साँच्चिकै न्याय दिन्छन् कि भन्ने धेरैलाई लागेको थियो । तर, आयोगका अधिकार क्षेत्र सीमित गर्ने र कुनै पनि स्वतन्त्र निर्णय लिन असहज बनाउने दलहरूको नियतका कारण पीडितले आयोगबाट न्याय पाइने आशा मार्न थालेका छन् ।

आखिर किन काम गर्न सकेनन् आयोगले ?

सरकारले यी दुई आयोग गठन गरे पनि शुरुदेखि नै न त आयोगका लागि पर्याप्त कर्मचारी उपलब्ध गरायो, न साधन स्रोत नै । आवश्यक कानून त गठन भएको साढे तीन वर्ष बित्दासमेत हालसम्म सरकारले बनाइदिएकै छैन । 

सत्य निरुपण आयोगकी सदस्य डा माधवी भट्टका अनुसार मानवअधिकारका कुन कुन गम्भीर अपराध र कुन सामान्य प्रकृतिका हुन् भन्ने विषयदेखि यातनालाई अपराधीकरण गर्ने कानूनसम्म प्राप्त भएको छैन ।

दुवै आयोगको म्याद ६ महिना मात्र बाँकी छँदा सरकारले कानून, बजेट र जनशक्ति व्यवस्थापनमा सरकारी बेवास्ता निरन्तर ।


दुवै आयोगको मागअनुसार सरकारले कहिल्यै बजेट उपलब्ध नगराएको सदस्य भट्टको गुनासो छ । आयोगहरूमा उल्लेख्य उजुरी परे पनि आवश्यक जनशक्ति र बजेट नभएका कारण अनुसन्धान अगाडि बढाउन नसकिएको उनको भनाइ छ ।

सरकारका यी कृयाकलापले आयोगलाई निरिह बनाएको प्रष्ट हुन्छ । आयोगलाई हलो अड्काएर गोरु चुट्ने प्रवृत्तिको शिकार बनाएकै कारण काम गर्न नसकिएको आयोगका पदाधिकारीहरू गुनासो गर्छन् । शान्ति प्रक्रियाको मुख्य काम दोषीलाई कारवाही गरी पीडितको घाउमा मलम लगाउनु हो । तर, सरकारले त्यसतर्फ ध्यान नदिनुबाट गम्भीर आशंका उब्जाएको छ ।

दुई वर्षे कार्यकालसहित गठन भएको आयोगको म्याद सरकारी असहयोगकै कारण पटक–पटक गरी अरू दुई वर्ष थपिइसकेको छ । अझैसम्म खास उपलब्धी हात लाग्न सकेको छैन । सरकारी बेवास्ताका कारण आयोगका पदाधिकारी र कर्मचारीले तलब, भत्तामै समय कटाउनु परिरहेको छ । 

थपिएको सहित आयोगको चार वर्षे कार्यकाल सकिन अब ६ महिना मात्रै बाँकी छ । हालसम्मको अवस्था हेर्दा आयोगको साढे तीन वर्षे कार्यकाल अर्थहीनजस्तै देखिन्छ । सरकारले देखाउने दाँत बनाएकै कारण आयोगले काम गर्न नसकेको अधिकारकर्मीहरूको ठहर छ । आयोगका पदाधिकारीको निष्कर्ष पनि करिब यस्तै छ ।

दुवै आयोग सजिलै गठन भएका होइनन्, लामो संघर्षपछि प्राप्त भएका हुन् । त्यसैले यिनको उपादेयता ख्याल गरी सरकारको सहयोग गराउन सम्बन्धित पक्षहरूले घचघच्याउन आवश्यक रहेको अधिकारकर्मीहरू बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।