काठमाडौं- नेपाली कांग्रेसका सांसद अतहर कलाम मुसलमानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाभियोग प्रस्ताव ल्याउँदा एमाले रोएको बताएका छन्। आइतबार प्रतिनिधिसभामा पेस भएको महाभियोग प्रस्तावमाथि छलफलमा सहभागी हुँदै सांसद मुसलमानले यस्तो बताएका हुन्।
'यो सरकार परमादेशबाट बनेको भनेर प्रतिपक्षले ९ महिनासम्म वेल घेर्नु भयो,' उनले भने, 'परमादेश दिने प्रमुख व्यक्तिमाथि महाभियोग प्रस्ताव ल्याउँदा उहाँहरूले ताली बजाउनु पर्ने हो। तर रोइराख्नु भएको छ। रुनुको कारण के हो?'
यसरी द्वैध चरित्र देखाउन नहुने उनको भनाइ छ। बार र नागरिक समाजले आन्दोलन गरेका बेला बोल्न नसक्ने तर अहिले आएर सरकारी महाभियोग भनिनु गलत भएको उनको भनाइ छ।
प्रधानन्यायाधीश राणाले न्यायिक विलचनमा मुख्य भूमिका खेलेको भन्दै महाभियोग पारित गर्नुपर्ने उनको भनाइ थियो।