काठमाडौं- नेकपा एमालेका सांसद खगराज अधिकारीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग लगाउन संसदसँग समय नभएको बताएका छन्। महाअभियोगमाथि आजदेखि प्रतिनिधिसभामा जारी छलफलमा उनले यो छलफल रीत पुर्याउनका लागि मात्रै राखिएको बताए।
चुनाव घोषणा भइसकेको र संसदको आयु तीन महिना पनि नरहेको अवस्थामा छलफलपछि तीन महिना समितिले महाअभियोगमाथि काम गर्नुपर्ने भएकाले उक्त समय नै नभएको उनले बताए।
प्रतिनिधिसभको नियमावलीअनुसार महाअभियोग समाभुखसमक्ष प्रस्ताव पुगिसकेपछि सात दिनभित्र बैठक बोलाएर छलफल गरेर तीन दिनको समयमा टुंगाउनुपर्ने बताउँदै उनले पाँच महिनासम्म अल्झाएर राख्नु संसदको अयोग्यताको पराकाष्ठ भएको टिप्पणी गरे।
संसद्सँग समय नै नरहेको यस्तो अवस्थामा जबर्जस्ती दोषी सावित गर्न वा कुनै अभिष्ट पूरा गर्न महाअभियोग लगाउन खोजिएको प्रश्न संसद्माथि उब्जिने भएकाले यस्तो नजीर बसाउन नहुने धारणा उनको थियो।
‘संसद सँग समय नै छैन, नहुने समय राखेर हामी संविधान र प्रतिनिधिसभाको उपहास गर्दैछौँ,’ उनले भने, ‘समयमै संसद्ले काम गर्न नसक्नु अयोग्यताको पराकाष्ठ हो।’