आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रासदीपूर्ण घटनाको ७७ वर्ष : अझै रोइरहेछ हिरोसिमा र नागासाकी

त्रासदीपूर्ण घटनाको ७७ वर्ष : अझै रोइरहेछ हिरोसिमा र नागासाकी

लाखौँको मृत्यु भयो। हजारौँ घाइते भए। सहर क्षणभरमा खरानी बन्यो। विस्फोटपछि मानसिका शरीरका छाला खस्न थाले। नागासाकीमा मात्रै एक लाख ४० हजार बढी मानिसले ज्यान गुमाए। बम विस्फोट भएको तीन किलोमिटर आसपासको क्षेत्र खरानी भयो।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

काठमाडौं- सन् १९४५ अगष्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेट बज्दै थियो। जापानी नागरिक आ–आफ्नो दैनिकीमा व्यस्त थिए। त्यतिबेलै अमेरिकी बमबर्सक विमानले हिरोसिमाको आकाशबाट ‘लिटिल बोय’ खसाल्यो। निमेषमै हिरोसिमा खण्डहर बन्यो। हिरोसिमामा ३०० डिग्री तापक्रम र विकीरण फैलियो। लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भए। भौतिक संरचना ध्वस्त भए। हिरोसिमामा दुई लाख मानिसको मृत्यु भयो। 

National life

हिरोसिमा तहसनहस भएको तीन दिनपछि अगष्ट ९ तारिखका दिन बिहान ११ बजेर २ मिनेट जाँदा नागासाकी सहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालियो। नागासाकी निवासीले पनि हिरोसिमाकै नियति व्यहोर्न बाध्य भए। लाखौँको मृत्यु भयो। हजारौँ घाइते भए। सहर क्षणभरमा खरानी बन्यो। विस्फोटपछि मानसिका शरीरका छाला खस्न थाले। नागासाकीमा मात्रै एक लाख ४० हजार बढी मानिसले ज्यान गुमाए। बम विस्फोट भएको तीन किलोमिटर आसपासको क्षेत्र खरानी भयो। 

विज्ञान प्रविधिको विकासबाट प्राप्त उपलब्धिबाट मानवता हारेको उक्त त्रासदीपूर्ण घटना भएको ७७ वर्ष पूरा भएको छ। तर समकालीन विश्वले न सो विध्वंशलाई बिर्सन सकेको छ। न त्यसको भयबाट मुक्त हुन नै। विश्वबाट पारमाणिवक हतियार निशस्त्रीकरण गर्नुपर्ने आवाज उठिरहेको भए पनि त्यस्ता हतियार भण्डारण गर्ने राष्ट्रले त्यसलाई सम्बोधन गरेका छैनन्। अझै पनि विश्वका विभिन्न मुलुकसँग २४ हजार बढी पारमाणिवक हतियार रहेको सार्वजनिक भएका छन्। 

उक्त घटनाको स्मृतिमा विश्वभर विभिन्न कार्यक्रम गरिएको छ। नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठनले ७७औँ हिरोसिमा–नागासाकी समृति दिवसका अवसर पारेर आज आयोजित कार्यक्रममा सहभागीले अझै पनि पारमाणिवक हतियार निसस्त्रीकरण गर्ने विषय कागजमा मात्रै सीमित भएकाले जुनसुकै बेला त्यस्ता हतियारको प्रयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे। 

त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र विभागका प्रा डा मोती भुसालले हिरोसिमा र नागासाकी आक्रमणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पारमाणविक शक्ति सम्पन्न राष्ट्रबीच युद्धको अवस्था सिर्जना भए त्यसले विश्व समुदायलाई नै प्रभावित पार्ने बताउनुभयो। भौगोलिकरूपमा नेपालका छिमेकी मुलुकले पनि पारमाणविक हतियार भण्डारण गरिरहेको र प्राविधिक चुहावट भए मात्रै नेपालले ठूलो क्षति व्यहोर्नुपर्ने बताए। 'नेपालसँग भौगोलिक रुपमा नजिक रहेका चीन, भारत र पाकिस्तान पनि पारमाणविक हतियारले युक्त छन्,' उनले भने, 'कुनै कारणले चुहावट भए मात्र पनि त्यसको विकिरणले नेपाललाई ठूलो क्षति पुर्‍याउन सक्छ, यसतर्फ सबैको ध्यान जानुपर्छ।'

कार्यपत्रमाथि टिप्पणी गर्दै त्रिवि रसायनशास्त्र विभागका प्राध्यापक डा मन्दिरा प्रधानाङ्गले पारमाणविक आक्रमण भएको क्षेत्रको आफूले स्थलत भ्रमण गरेको र अहिले पनि त्यहाँका नागरिक त्रसित अवस्थामा रहेको सुनाए। 'पारमाणविक आक्रमण भएका हिरोसिमा-नागासाकी क्षेत्रका नागरिकलाई विवाह गर्न, कामकाज गर्न आणविक अछुतको व्यवहार गर्ने गरिन्थ्यो,' तत्कालीन अवस्थाको चित्रण गर्दै उनले भने, 'हिरोसिमा–नागासाकी अझै पनि रोइरहेको छ।'

कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले अबको युद्ध पारमाणविक हतियार सम्पन्न मुलुकबीच हुने अवस्था देखिएको उल्लेख गर्दै त्यस्तो अवस्था आए कसैले पनि नजित्ने र मानवता हार्ने बताए। 'पारमाणिक हतियार पूर्ण निःशस्त्रीकरण गर्नुपर्छ,' उनले भने, 'चीन, भारत र पाकिस्तानको न्यूक्लियर पावरका बीचमा नेपाल रहेको छ, युद्ध मात्र होइन, चुहावट भयो भने पनि हामी प्रभावित हुन्छौँ।' सङ्गठनका अध्यक्ष एवं पूर्वमन्त्री कृपाशूर शेर्पाले विश्वबाट सबै खालका हातहतियार तथा सैन्य उपकरणको उत्पादन बन्द गरिनुपर्ने बताए। 

पारमाणिविक हतियार निःशस्त्रीकरणको मुद्दालाई निरन्तर उठाउनुपर्छ : उपसभामुख भुसाल

कार्यक्रममा उपसभामुख पुष्पा भुसालले पारमाणिविक हतियार निःशस्त्रीकरणको मुद्दालाई निरन्तर उठाउनुपर्ने बताइन्। 'मलाई लाग्छ वर्ष दिनमा एक पटक मात्र होइन, यो विषयमा सधैँ बौद्धिक संवाद चलाउनुपर्छ,' उनले भनिन्। उनले पारमाणविक हतियारलाई समाप्त गर्ने र शान्तिलाई अगाडि बढाउने विषयमा आफ्नो निरन्तर प्रतिबद्धता रहिरहने बताइन्। 

उपसभामुख भुसालले विज्ञान प्रविधिलाई सदुपयोग गरेर मुलुकको समृद्धि र विकासमा लैजानुपर्ने बताइन्। 'हिजोका दिनमा भएका यी घटनाका भोगाइ, तीतो अनुभव भोलिका पुस्ताले भोग्नु नपरोस्, त्यो भोगाई समृद्धि र विकासका लागि ठूलो बाधक हुन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि हामी समयमै सजग र सचेत बनौँ।'

प्रकाशित: Aug 06, 2022| 20:31 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।