बाजुरा- बाजुराको बडीमालिका नगरपालिका-९ सेलाघाटको गाउँ बाढीको जोखिममा परेको छ।
शुक्रबार रातिको वर्षाका कारण स्थानीय बिउरा खहरे खोलामा आएको बाढीले सेला घाट बस्ती नै जोखिममा परेको हो।
बाढीका कारण सोही गाउँका तीन परिवार पूर्ण रूपमा विस्थापित बनेका छन्। बाढीले स्थानीय चन्दे थापा, अंग थापा र दीपक विष्टको घरमा क्षति पुगेको छ। अन्य २० भन्दा बढी परिवार जोखिममा परेको स्थानीय निशान्त बडूवालले जानकारी दिए।
बाढीले स्थानीय गोपाल थापाको कुखुरा फर्ममा क्षति पुगेको छ। फर्ममा रहेका १ सय ८० कुखुरा मध्ये १ सय ५० बढी मरेका छन्।
सयौं मुरी फल्ने खेतमा लगाएको धान बालीमा समेत क्षति पुगेको छ। गाउँलेको खेत बगरमा परिणत भएको छ। बाढी आएको थाहा पाएपछि स्थानीय राति नै घरबाट अन्यत्र सरेका थिए।