काठमाडौं– नेपाली फुटबलमा चर्चित नाम हो, किरण चेम्जोङ। नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान हुँदा होस् वा लिग खेल्दाका बखत– किरणले जसरी आफ्नो गोलपोस्टको रक्षा गर्छन्, त्यो सधैं चर्चाको विषय बन्ने गरेको छ।
आई लिग क्लब राउन्डग्लास पञ्जाबको कप्तानी सम्हाल्दादेखि माल्दिभ्सको लिगमा उत्कृष्ट बन्दासम्म उनको प्रदर्शनको तारिफ हुने गरेको छ। तर अहिले उनको चर्चाको विषय फरक छ। उनले प्रेमिका कञ्चन निरौलासँग विवाहको प्रस्ताव राखेका छन्। प्रेम प्रस्तावको भिडियो हेर्दा लाग्छ, ३२ वर्षीय किरण चाँडै विवाह बन्धनमा बाँधिनेवाला छन्।
भर्खरै मात्रै उनले माल्दिभ्समा शीर्ष डिभिजनको धिवेही प्रिमियर लिगको उपाधि जित्दै गर्दा प्रतियोगितामा उत्कृष्ट गोलकिपरको अवार्ड जिते। माजिया स्पोर्टस् क्लबबाट खेलेका उनी सिजनको उत्कृष्ट गोलकिपर बने।
माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा गत सोमबार सिजनको अन्त्यमा उनको क्लबले तीन खेलअघि नै उपाधि जित्यो। उपाधि जितेपछि उत्सव मनाउने क्रममा उनकी प्रेमिका पनि त्यही थिइन्। किरणले कञ्चनलाई औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन्।
किरणले भिडियोमार्फत प्रेमिकालाई राखेको विवाहको प्रस्ताव सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। केहीले कञ्चनलाई राष्ट्रिय भाउजूको उपनामसमेत दिन भ्याइसकेका छन्। किरणले नेपाली टिममा रहेका साथीभाइलाई यो वर्ष बिहे गर्ने कुरा बताउँदै अएका थिए। उनीहरूले यो सम्बन्धलाई गुपचुप राखे पनि फुटबल प्रेमीमाझ यो सम्बन्ध छुपेको थिएन।
श्री एयरकी एयर होस्टेस कञ्चनसँग किरणको प्रेमको फूल खिलेको भने धेरै समय भएको छैन। ‘यस्तै एक–डेढ वर्ष भयो होला,’ उनी निकट एक साथीले भने। यो वर्ष उनलाई विवाहको प्रस्ताव राख्ने सुनौलो अवसर पनि जुट्यो। किनभने, तीन खेलअघि नै उपाधि जितेपछि उनी एक खेलअघि नेपाल फर्किए।
प्रेमिका कञ्चनसँगै आफ्नी आमा र कञ्चनकी आमाको टिकट बुक गरे अनि सँगै निस्किए माल्दिभ्सतर्फ। सोही भ्रमणका बेला उनको टिमले उपाधि सेलिब्रेसन गर्दै थियो। किरणले दुवै आमामाझ कञ्चनलाई विवाहको प्रस्ताव राखे। डेढ वर्षको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न चेम्जोङले खेल मैदानभित्रै प्रस्ताव गरे। माल्दिभ्सको शीर्ष डिभिजनको लिग जितेको सेलिब्रेसन गर्ने क्रममा उनले कञ्चनलाई विवाह प्रस्ताव राखे, जसलाई प्रेमिकाले सहजै स्वीकारिन्। अहिले उनीहरू माल्दिभ्समै बिदा मनाइरहेका छन्।
गत सोमबार भएको फाइनल खेलमा क्लब इगल्सविरुद्ध माजिया स्पोर्ट्स एन्ड आरसीले ५–० गोलअन्तरको जित निकालेसँगै अन्तिममा ट्रफीसहितको तस्बिर खिचाउने क्रममा उनले प्रेमिका कञ्चनलाई विवाह प्रस्ताव राखेका हुन्। चेम्जोङले उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट्याएका थिए।
उक्त भिडियो सञ्चार माध्यममा लोकप्रिय बन्यो। कञ्चनले पनि किरणसँगको भिडियो टिकटकमा पोस्ट गरेकी छन्। त्यो भिडियोलाई ८ लाख २३ हजार बढीले हेरिसकेका छन्। टिकटक प्रयोगकर्ता कञ्चनको ३ लाख ३२ हजार बढी फलोअर्स छन्।
पछिल्लो समय नेपालमा सबैमाझ लोकप्रिय बनेको नाम हो, किरण चेम्जोङ। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण खेल मैदानमा देखाउने कौशलका कारण लोकप्रिय बनिसकेका छन्। किरण नेपाली फुटबल इतिहासमा उत्कृष्ट खेलाडीमध्येका एक हुन्।
पछिल्लो समय उनी नेपाली फुटबलमा मात्रै नभई व्यावसायिक फुटबलको क्रममा विदेशमा पनि लोकप्रिय बन्दै गएका छन्। उनले नेपालको नाम विदेशमा पनि चिनाइरहेका छन्। माल्दिभ्सको शीर्ष डिभिजन लिगमा २१ खेल खेल्दा किरणले मात्रै ५ गोल गरेका छन्। यहीबाटै थाहा हुन्छ, उनको प्रदर्शन कस्तो रह्यो भन्ने।
गत वर्ष भदौमा नेपाली राष्ट्रिय टिमका कप्तान एवं गोलकिपर किरण सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली खेलाडी बनेका थिए। उनले गत वर्ष २० भदौमा भारतविरुद्ध मैदानमा उत्रिँदा नेपाली राष्ट्रिय टिमबाट ७४औं खेल खेल्दै सर्वाधिक खेलाडीको रेकर्ड बनाए। किरण यसअघिका कप्तान विराज महर्जनले बनाएको ७३ खेलको रेकर्डलाई पछि पार्दै राष्ट्रिय टिमबाट सर्वाधिक खेल्ने एक्ला खेलाडी बने। त्यसपछि उनले जति खेल खेले, ती सबै रेकर्ड हुन्।
नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान महर्जनले २०७७ चैतमा काठमाडौंमा सम्पन्न थ्री नेसन्स कपको फाइनलमा देशको जर्सी लगाएर अन्तिम खेल खेलेका थिए। कपको फाइनलमा बंगलादेशलाई हराएर उपाधि जितेसँगै ८५औं मिनेटमा मैदान छिरेका महर्जनले संन्यास लिए। राष्ट्रिय टिमको उनको त्यो खेल ७३औं खेल थियो।
नेपालका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली खेलाडीको पहिचान बनाइसकेका किरण कञ्चनसँगको डेढ वर्षे प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने सुरसारमा छन्।
किरणले २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा लाओसविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय डेब्यू गरे पनि त्यो खेल सुखद् रहेन। खेलको २३औं मिनेटमा उनको मुखमा चोट लाग्यो। उनी बाहिरिए। त्यसपछि उनलाई खेलमा ब्याक हुनै नसकिने हो कि भन्ने शंका लागेको थियो। तर त्यस्तो भएन।
किरणले तीन वर्षपछि १७ मार्च २०११ मा जीवनको दोस्रो अन्तर्राष्ट्रिय खेल खेले, भुटानविरुद्ध। भुटानविरुद्धको खेलपछि उनी निरन्तर राष्ट्रिय टिमको पहिलो रोजाइका गोलकिपरको रूपमा छन्। यसै क्रममा उनी नेपाली टिमको कप्तान भएका छन्। पछिल्लो समय राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकबीच विवाद बढेपछि मात्रै उनी राष्ट्रिय टिमबाट बाहिरिएका हुन्।
कप्तान किरणले अघिल्लो अन्तर्राष्ट्रिय विन्डोमा लोकप्रिय एसियाली खेलाडीको अवार्ड पनि जितेका थिए। पछिल्लो सिजनको भारतको घरेलु फुटबल लिगमा राउन्डग्लास पञ्जाबबाट खेलेका उनी त्यहाँको लिगमा सर्वोत्कृष्ट गोलकिपर बने।
५ वर्षपछि घरेलु फुटबलमा ब्याक भएका कप्तान किरणले नेपालमै आयोजना भएको एक महिनाको नेपाल सुपर लिगमा सहभागी हुन लागेकामा खुसी व्यक्त गरेका थिए। २४ मे २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले घरेलु लिगमा मछिन्द्र क्लब, थ्री स्टार, मनाङ–मर्स्याङ्दीबाट खेलेका थिए। उनले विदेशी चिटहोङ आबहानी, क्लब टीसी स्पोर्ट्स, मिनर्वा पञ्जाबबाट पनि खेलिसकेका छन्।
पछिल्लो सिजनको आई लिगमा किरण उपाधि जितेसँगै बेस्ट गोलकिपर बनेका थिए। उनले सहिद स्मारक ‘ए’ डिभिजन लिग, राष्ट्रिय लिग र माल्दिभ्सको धिवेही प्रिमियर लिगको पनि उपाधि जितेका छन्।
उनी चार छुट्टाछुट्टै लिगमा उत्कृष्ट गोलकिपर बने। त्यस्तै, २०१२ मा भारतमा आयोजित नेपाल–भारतबीचको एक खेलमा म्यान अफ द म्याच भएका थिए। मुम्बईमा देखाएको खेल कौशलले उनी भारतमा पनि चर्चामा आएका थिए।
त्यसको पाँच वर्षपछि मात्र उनी विदेशी लिग खेल्न पुगेका थिए। उनले २०१७ मा माल्दिभ्सको टीसी स्पोर्टस् क्लबबाट खेलेका थिए भने त्यसको अर्को वर्ष भारतको मिनर्वा पञ्जाबबाट खेलेका थिए। अर्को सिजन पुनः माल्दिभ्स पुगेका किरण पछिल्लो सिजन राउन्डग्लास पञ्जाब (मिनर्वा पञ्जाबको नयाँ नाम) बाट आई लिग खेलेका थिए।
टिसी स्पोर्टस्
किरणले पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक फुटबल खेल्न माल्दिभ्स गए। सन् २०१७ उनले माल्दिभ्सको क्लब टिसी स्पोर्टससँग अनुबन्ध गरे। यो नै उनको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक फुटबल हो। उनी सम्मिलित टिमले २०१७ मा भारतमा आयोजित सेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जित्यो। उनले टिसी स्पोर्ट्स क्लबका लागि डेब्यू खेल फेबु्रअरी २०१७ मा बंगलादेशको क्लबविरुद्ध गरे, जहाँ उनको प्रदर्शन सम्झनलायक रह्यो। डेब्यू प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गरेका उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा गोलरक्षकको अवार्ड जित्न सफल भए।
त्यस्तै, उनको क्लबले माल्दिभ्सको शीर्ष डिभिजन लिग २०१८ धिवेही प्रिमियर लिगको उपाधि पनि जित्यो। किरण प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक चुनिए। एक सिजन भारतमा बिताएका किरण फेरि सन् २०१९ मा टिसी स्पोर्टस् क्लबमा पुनः अनुबन्ध भए। तर नेपाली फुटबल टिमको मैत्रीपूर्ण खेल मलेसिया र चाइनिज ताइपेईसँग भएपछि किरणले खेल्नैपर्ने भयो। यसले गर्दा उनले क्लबको खेल खेल्न भ्याएनन्। टिसी स्पोर्ट्स क्लबको त्यही समय खेल जुधेपछि किरण र क्लबबीचको सम्झौता तोडिएको थियो।
मिनर्वा पञ्जाब
माल्दिभ्समा दुई वर्षको बसाइपछि किरणले छिमेकी भारतमा व्यावसायिक फुटबल खेले। २३ जनवरी २०१८ मा किरणले मिनर्वा पञ्जाब फुटबल क्लबसँग सम्झौता गरे। किरणले नेरोका एफसीविरुद्ध उसैको घरेलु मैदानमा डेब्यू गरे। यस क्लबमा उनले कुल ८ खेल खेले र क्लबबाट भारतको प्रतिष्ठित २०१७–१८ आई लिग उपाधिसमेत जित्न सफल भए।
किरण पुनः यसै क्लबमा सन् २०१९ मा अनुबन्ध भए। त्यसपछि किरणले सन् २०२०–२१ मा गोल्डेन ग्लोब्स जितेका थिए। साथै, उनी तीन फरक देशको लिग जित्ने पहिलो खेलाडीसमेत बन्न पुगे। उनले नेपालमा पनि थ्री स्टार क्बलबाट सहिद स्मारक लिग ‘ए’ सन् २०१३ र राष्ट्रिय लिग २०१५ जितेका थिए। यी दुवै लिगमा उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए।
माजिया स्पोर्टस्
यसअघि माल्दिभ्समा आफ्नो अमिट छाप छाडेका किरण सन् २०२१ मा माल्दिभ्समा पुन अनुबन्ध भए। तर यस पटक क्लब भने फरक थियो। उनी यस पटक माजिय स्पोर्टस्मा अनुबन्ध भएका हुन्। नयाँ क्लबमा बिताएको पहिलो सिजन नै किरणका लागि विशेष रह्यो।
यसअघि उनले माल्दिभ्सको टिसी स्पोर्टस्मा पनि पहिलो सिजन धेरै उपलब्धि पाएका थिए। यो सिजन किरण सम्मिलित क्लबले माल्दिभ्सको शीर्ष डिभिजनको धिवेही प्रिमियर लिगको उपाधि जित्यो। त्यति मात्रै हैन, किरण यो सिजन प्रतियोगिताकै उत्कृष्ट गोलकिपरसमेत बने।
सन् २०१६ मा नेपालले पहिलो एएफसी सोलिडारिटी प्रतियोगिताको उपाधि जित्दा उत्कृष्ट प्रदर्शनी गरेको आधारमा किरणलाई माल्दिभ्सको क्लबले अनुबन्ध गरेको हो। नेपालले यो उपाधि जित्दा किरणको भूमिका महत्त्वपूर्ण थियो। लाओसविरुद्धको सेमिफाइनल खेलको पेनाल्टी सुटआउटमा तीन पेनाल्टी रोकेर नायक भएका उनी नेपाली टोलीका नम्बर १ गोलरक्षकका रूपमा स्थापित भए।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानीसमेत गरे किरणले। त्यसपछि उनी नेपाली टोलीको नियमित कप्तानको जिम्मेवारीमा छन्। किरण एन्फा एकेडेमीका उत्पादन हुन्। उनी सन् २०१३ बाट नेपाली टोलीको नियमित गोलकिपरबाट स्थान बनाई राष्ट्रिय टिमका लागि खेलिरहेका छन्।
उनी नेपालका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली खेलाडीसमेत हुन्। तर प्रशिक्षक अबदुल्ला अलमुताइरीसँगको खेलाडी विवादमा मुछिएपछि उनी एसियन कप सन् २०२३ छनोटको तेस्रो चरणमा टिममा अटाएनन्।