काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चार जना मृत फेला परेका छन्। तारकेश्वर–२ मा श्रीमान, श्रीमती र दुई छोराछोरी मृत फेला परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार मृत फेला पर्नेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेका छन्।
आइतबार बेलुका अबेरसम्म स्थानीयले उनीहरूलाई देखेका थिए। तर, सोमबार बिहान अबेरसम्म उनीहरू नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। ढोका फोडेर हेर्दा एक जनाको शव नाडी काटिएको र पेटमा छुरा हानेको अवस्थामा रहेको स्थानीयले जनाएका छन्।
उनीहरूको कसरी मृत्यु भएको हो भन्नेबारे खुलिनसकेको प्रहरीको भनाइ छ। ‘शव हेर्दा हत्यापछि आत्महत्या गरेजस्तो देखिन्छ। तर, अहिले नै निष्कर्ष निकालिहाल्न सकिने अवस्था छैन,’ तारकेश्वर नगरपालिकाका प्रमुख हरिकृष्ण महर्जनले भने।
प्रहरीका विभिन्न टोली अहिले घटनास्थलमा खटिएको उनले बताएका छन्। ‘उनीहरूको पुर्ख्यौली घर गोरखा हो। उनीहरू एक तले घर बनाएर बसेका थिए। स्कुल जाने छोराछोरी बिहान १० बज्दासम्म स्कुल जान नआएपछि छिमेकीले साढे १० बजेतिर ढोका फोडेर हेरेको हामीले जानकारी पाएका छौं,’ उनले भने।
घरका सबै झ्याल–ढोका बन्द रहेको अवस्थामा शव फेला परेकाले परिवारकै सदस्यबाट घटना घटेको जस्तो देखिने उनले बताए। ‘दिनेश पाण्डेले परिवारका सदस्यको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् कि जस्तो देखिन्छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। अहिले नै केही भन्न सक्ने अवस्था छैन,’ उनले भने।
घटनास्थल पुगेर फर्किएका महर्जनले दुई वटा कोठामा चार जनाको शव फेला परेको बताएका छन्। दिनेशको शव एउटा कोठामा, सुनिता, आशिष र आशिकाको शव एउटा कोठामा रहेको उनले बताए।
बाबुले तीन जनाको छुरा प्रहार गरी हत्या गरेको र अन्तिममा आफूले आत्महत्या गरेको जस्तो देखिएको उनले बताए। उनको घाँटीमा ब्लेडले चिरिएको र डोरीको डोब देखिएको मेयर महर्जनले जानकारी दिए।
केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार घटनाको प्रकृति हेर्दा श्रीमती र छोराछोरीको हत्या गरेर दिनेश आफूले आत्महत्या गरेको आशंका गरिएको छ। फरेन्सिक विज्ञसहितको टोली घटनास्थलमा पुगेको र थप अनुसन्धान भइरहेको जानकारी उनले दिए।