बझाङ- धामीझाँक्रीको भर पर्दा बझाङमा एक सुत्केरी महिला र नवजात शिशुको ज्यान गएको छ।
थलारा गाउँपालिका-१ मोतीपुरकी २० वर्षीया सिर्जना सुनार र उनको नवजात शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
गत बुधबारबाट सुत्केरी व्यथा लागेकी उनलाई शुक्रबार बिहान साढे ६ बजेतिर व्यथासँगै शरीर बाँगिने समस्या देखिएको थियो। आँखा, अनुहार र हातगोडा बायाँतिर फर्किने र एकोहोरो श्वास चल्ने भएपछि परिवार सदस्यले उनलाई स्थानीय धामीकहाँ झारफुकका लागि लगेका थिए।
उनलाई शुक्रबार दिनभर र राति स्थानीय धामीले झारफुक गरेका थिए। तर, सुनारको स्वास्थ्यमा कुनै सुधार आएको थिएन। उनको अवस्था थप विग्रिदै गएको थियो।
स्वास्थ्य थप जटिल बनेपछि परिवारले अस्पताल लगेकोमा आमा र शिशु दुवैको मृत्यु भएको बताइएको छ।
एक दिन एक रातसम्म झारफुक गर्दा पनि जीउ बाँगिन नरोकिएपछि श्रीमती बेहोस हुन थालेको सिर्जनाका श्रीमान् एक्लेस सुनारले बताए। बेहोस हुन थालेपछि भोलिपल्ट देउरा अस्पताल लगिएको उनले बताए।
देउरा प्राथमिक स्वास्थ्य केन्द्रले उनको अवस्था नाजुक भइसकेकाले उपचार हुन नसक्ने भन्दै डडेलधुरा रेफर गरेको थियो। शनिबार दिउँसो डडेलधुरा अस्पतालमा पुर्याइएकी सिर्जनाको अस्पताल पुगाएको तीन घण्टा नपुग्दै ज्यान गएको थियो।
उच्च रक्तचापका कारण हुने इक्लामसिया रोग भएको, फोक्सोमा र्याल जमेको र रगतमा अत्यधिक संक्रमण भएको अवस्थामा अस्पताल पुर्याइएको उपचारमा संलग्न डडेलधुरा अस्पतालका चिकित्सक डाक्टर राजपति साहले बताए। समयमै अस्पताल पुगाउन नसक्दा उनको ज्यान गएको साहको भनाइ छ।
‘पाठेघरको मुख पूरै खुलेको तर पानीको फोको नफुटेको अवस्थामा यहाँ पुर्याइएको थियो। हामीले भ्याकुम डेलिभरी गरेर बच्चा निकाल्यौं। बच्चा दुई–तीन दिनअघि पेटमै मरिसकेको रहेछ,’ शाहले भने। आमालाई बचाउन सकिन्छ कि भनेर सक्दो कोसिस गरिएको भए पनि असफल भइएको उनको भनाइ छ।
यसअघि पनि उनको दुईपटक गर्भ खेर गएको पाइएको चिकित्सकले बताएका छन्।