तनहुँ- तनहुँको देवघाट गाउँपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्यांक संकलनको काम सुरुआत भएको छ। राष्ट्रिय भूमि आयोग तनहुँको समन्वयमा देवघाट–५ बाट शनिबारदेखि जग्गाको नापजाँच थालनी गरिएको हो।
उक्त वडाको देउपुर टोल विकास संस्थाबाट जग्गा नापजाँचको कार्य गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए। यस वडामा यसअघि नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिसकिएकाले पहिलो चरणमा देउपुर टोलबाट जग्गा नापजाँच सुरु गरिएको उनले बताए।
सबैभन्दा बाक्लो बस्ती भएकाले यो टोलबाट जग्गा नापजाँचको काम सुरु गरिएको उनले बताए। यो टोलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासी गरी तीन सय ५५ लाई निवेदन दर्ताको निस्सा वितरण गरिएको छ।
वडाभर भूमिहीन दलित १९, भूमिहीन सुकुम्बासी ६२ र अव्यवस्थित बसोबासी एक हजार चार सय ५५ जना छन्। ‘एक महिनाभित्रमा वडाभित्र जग्गा नापजाँच सक्ने लक्ष्यसहित काम सुरु भएको छ’, उनले भने। जग्गा नापजाँचका लागि टोली प्रमुखको रूपमा नापी कार्यालय तनहुँका राजीव श्रेष्ठ खटिएका छन्।
जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ मा पनि यसअघि जग्गाको नापजाँच प्रक्रिया सुरु भएको छ। नापी कार्यालय तनहुँका प्राविधिक श्रेष्ठका अनुसार उक्त वडामा जग्गाको नापजाँच कार्य जारी छ।
राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले हालसम्म शुक्लागण्डकी नगरपालिका–७, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका–१ र २, देवघाट गाउँपालिका–५ र व्यास नगरपालिका–१ र २ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको जानकारी दिए।
जिल्लाका १० पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ। यो कामका लागि सबै अधिकार स्थानीय तहमा रहेको बताइएको छ।
तथ्यांक दर्ता, निस्सा वितरण, सार्वजनिक सूचना जारीपश्चात् उजुरी संकलनलगायतका काम हुने आयोग अध्यक्ष अधिकारीले जानकारी दिए। भूमिहीन सुकुम्बासी र भूमिहीन दलितका हकमा सात दिने र अव्यवस्थित बसोबासीका हकमा १५ दिने सार्वजनिक सूचना जारी हुनेछ।