कास्की- महानगर प्रमुखहरूले पोखराको पर्यटकीय गन्तव्य सराङकोटस्थित शिव मन्दिर भ्यूटावर परिसरमा ११ प्रजातिका लालीगुराँसको वृक्षरोपण गरेका छन्।
पोखरा महानगरको आयोजनामा ‘मेयर सम्मेलन–२०७९’का लागि पोखरा आएका देशका महानगरपालिकाका प्रमुखहरूले लालीगुराँसको बिरुवा रोपेका हुन्।
पोखरा आसपासका अग्ला डाँडामा लालीगुराँस रोप्ने र खाली जमिनमा सौन्दर्यकरण गर्ने उद्देश्यका साथ देशभरका महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरूको सहभागितामा शनिवार सराङकोटमा लालीगुराँसका बिरुवा सारिएको पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए।
अग्ला डाँडामा लालीगुराँस रोप्ने अभियानलाई महानगरले आवश्यक सहयोग समेत गर्ने उनले जानकारी दिए। कार्यक्रममा महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विज्ञहरूको उत्साहजनक सहभागिता रहेको थियो। उनीहरूले सराङकोटजस्तो पर्यटकीय र रमणीय स्थानमा नेपालको राष्ट्रिय फूल लालीगुराँस सार्ने अवसर दिएकामा पोखरा महानगरपालिकाप्रति आभार समेत व्यक्त गरे।
हरियाली तथा सौन्दर्यकरणप्रति पोखरा महानगरको चासोलाई उनीहरूले खुलेरै प्रशंसा गरे।
ती बिरुवा लालीगुराँस संरक्षण तथा विकास अभियन्ता ढाकाराम लामिछानेको सहयोगमा तेह्रथुमबाट ल्याइएको हो भने नेपालमा पाइने ३२ प्रजातिकै बिरुवा खाली जग्गामा रोप्ने योजना बनाइएको छ। यसअघि पनि त्यस स्थानमा लालीगुराँसका बिरुवा सारिएको थियो।
महानगरका अग्ला डाँडापाखामा लालीगुराँस रोपेर संरक्षण गर्न सके सौन्दर्यकरणसँगै राष्ट्रिय फूलको महत्त्व बढ्ने विश्वास लिइएको छ। साउन १३ र १४ गते सम्पन्न भएको मेयर सम्मेलन पोखरा घोषणापत्र जारी गरी शनिवार साँझ सकिएको छ। पोखरा घोषणापत्रबारे आइतवार बिहान सञ्चारकर्मीलाई जानकारी दिने कार्यक्रम छ।
सम्मेलनमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह, ललितपुरका प्रमुख चिरिबाबु महर्जन, भरतपुरका प्रमुख रेणु दाहाल, वीरगञ्जका प्रमुख राजेशमान सिंह, विराटनगर प्रमुख नागेश कोइराला र आयोजक पोखराका प्रमुख आचार्यसहित उपप्रमुखहरू र प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी थिए।