नेपालगञ्ज– कुनै समय औलो र मलेरियाको सन्त्रासले तराई सुनसान हुन्थ्यो। नेपालगञ्जमा पनि मानिसको उति बढी चहलपहल थिएन। सहरै थिएन।
वर्षको एउटा मौसममा हाट बजारका लागि पहाडबाट मानिस झर्थे। भारतीय सीमा क्षेत्रबाट पनि बजारका लागि मानिस भित्रिन्थे। घरबारी टोल र त्यस आसपासका केही बस्ती थिए। जंगबहादुर राणाको अभिलाषाले नेपालगञ्ज सहरको खाका कोरिँदै थियो।
त्यो सानो क्षेत्र झन्डै १५० वर्षपछि अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको व्यापारिक केन्द्र मात्र होइन, स्वास्थ्यको हब पनि बनेको छ। मेडिकल कलेज, दर्जनौं विशिष्ट अस्पताल, क्लिनिकले स्वास्थ्य क्षेत्रमा सेवा दिइरहेका छन्। त्यसमा भेरी अस्पताल पश्चिम नेपालकै अक्सिजन हो। स्वास्थ्य सेवाको मेरुदण्ड हो। यही भेरी अस्पताल बिहीबार १३२औं स्थापना दिवस मनाइरहेको छ।
आशातीत रूपमा विकास र विस्तार हुन नसकेको भेरी अस्पताल पश्चिम नेपालको एक महत्त्वपूर्ण स्वास्थ्य संस्था हो। कर्णालीको दूरदराजका विकट क्षेत्रबाट मानिस जीवनको आश लिएर आउने अस्पताल १३२ वर्षको इतिहास बोकेर बाँचिरहेको छ। अस्पतालसँग गर्विलो इतिहास छ तर आधुनिक बन्न सकेन भनेर बेलाबखत चर्चा हुने गर्छ।
यहाँका स्थानीय अगुवा सरकारको प्राथमिकतामा नपरेका कारण अस्पतालको विकास हुन सकेन भन्ने तर्क गर्छन्। काठमाडौंको वीर अस्पताल र भेरी एकै वर्षमा स्थापना भएका हुन्। तर यी दुवै अस्पतालको सेवामा अकास–पातालको फरक छ।
जंगबहादुरको सपना, वीरशमशेरको योजना
युरोपबाट फर्केपछि जंगबहादुर राणाले नेपालमा केही परिवर्तनका कामको योजना बनाइरहेका थिए। जंगबहादुरलाई मन परेको भूगोल मात्र थिएन नेपालगञ्ज, यो उनैले इस्ट इन्डिया कम्पनीमार्फत भारतको भूगोलबाट फिर्ता ल्याएका थिए। तर जंगबहादुरको १९३३ मा मृत्यु भएपछि वीरशमशेरको हातमा राज्य पर्यो।
वीरशमशेरले नेपालका केही स्थानमा अस्पताल खोल्ने निर्णय गरेका थिए। त्यो समय राजा थिए, पृथ्वी वीरविक्रम। उनैलाई खुसी बनाउन वीरशमशेरले दुवै जनाको नाम जोडेर १९४७ मा नेपालगञ्जमा अस्पतालको जग बसाले। नामचाहिँ पृथ्वी–वीर डिस्पेन्सरी राखियो। स्थानीय जानकारबीच यसको नाममा मतभेद पाइन्छ। कतिपयले पृथ्वी–वीर डिस्पेन्सरी हो भनेर उल्लेख गरेका छन् भने कतिपयले पृथ्वी–वीर अस्पताल नै भएको बताउँछन्।