काठमाडौं– नायिका आँचल शर्मा केही सातादेखि रोमानियामा छन्। रोमानियामा चलचित्र ‘वर एन्ड वधु’को छायांकनका लागि पुगेकी आँचल त्यहाँको राष्ट्रिय टेलिभिजनमा समेत चर्चामा छन्। टेलिभिजनमा चलचित्रको छायांकनको रिपोर्ट प्रसारण गरिएको थियो। साथै, चलचित्रको टिमसँगै आँचलले रोमानिया टिभीमा अन्तर्वार्तासमेत दिएकी थिइन्।
चलचित्रको रोमानिया छायांकन सकिन केही दिन मात्र बाँकी रहेको समय निर्माण पक्षले केही तस्बिर सार्वजनिक गरेको छ। उक्त तस्बिरमा आँचल र नव–नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन्।
चलचित्रका निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए। रोमान्टिक कमेडी कथामा निर्माण भइरहेको चलचित्रलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो। चलचित्रका कार्यकारी निर्माता डा.अमित रिजाल हुन्।
रोमानियामा चलचित्रको छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी निर्देशक चाम्सले गरे। सुदीप बरालको छायांकन रहेको चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन। तर निर्माण पक्षले सार्वजनिक गरेको तस्बिरले चलचित्रप्रति दर्शकको उत्सुकता बढ्ने निश्चित छ।