काठमाडौं– हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर पशुपतिनाथ मन्दिर क्षेत्र वरपर एक भक्त, एक वृक्षारोपण अभियान थालिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रमा बिहीबार आयोजित कार्यक्रममा रुद्राक्षको बिरुवा रोपेर अभियान सुरु गरे।
कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षारोपण अभियानले सहयोग पुग्ने बताए। धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधना स्थलका रूपमा विकास गर्नुपर्ने आवश्यकता उनले औंल्याए।
रोपिएका बिरुवाको संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई उनले आग्रह गरे। पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपीपल, पारिजात, बेल तथा अन्य धार्मिक वृक्षको उद्यान निर्माण गरिनेछ।
कार्यक्रममा सहभागी खाँदबारी नगर प्रमुख महेश थपलिलाले एक लाख रुद्राक्षका बिरुवा उपलब्ध गराइने घोषणा गरे। वृक्षारोपण कार्यक्रममा सरकारका मुख्यसचिव शंकरदास वैरागी, काठमाडौं महानगर प्रमुख बालेन्द्र साह, कोषका पदाधिकारीलगायतले वृक्षारोपण गरेका थिए। बिरुवाको गोडमेल, मलजल र संरक्षण जिम्मा कोषले लिनेछ।