वीरगञ्ज- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आउँदा निर्वाचनमा कांग्रेससँग मोलतोल गर्न वाम गठबन्धनको हावा चलाइएको बताएका छन्।
सत्ता गठबन्धनमा सहभागी पाँच दलमध्ये कांग्रेसबाहेकका वाम गठबन्धनले आगामी तालमेल गर्ने गृहकार्य गरिरहेका बेला कोइरालाले यस्तो बताएका हुन्।
नेपाल प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले भने, ‘माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका कुरा जसरी उठाइरहेका छन्, यो बार्गेनिङ गर्न मात्रै हो। हामी सबै हौं भन्ने उनीहरुलाई लागेको होला। उनीहरुले कांग्रेस ठूलो पार्टी हो भन्ने बिर्सेजस्तो छ।’
संघ र प्रदेशको निर्वाचनमा कांग्रेसलाई कम क्षति हुने गरी तालमेलमा कसरी जाने भनेर विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको उनले बताए। ‘प्रदेश र संघको निर्वाचनमा होमिँदै छौं। कांग्रेसलाई कम क्षति हुने गरी कसरी जाने भनेर छलफल भइरहेको छ,’ उनले भने।
निर्वाचनमा सत्तारुढ वामपन्थी पार्टीसँग तालमेल गर्ने नै हो भने पनि ५ वर्ष कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्ने सर्त हुनुपर्ने कोइरालाको धारणा छ। वाम गठबन्धनले कांग्रेससँग तालमेल गर्दा आर्थिक, सामाजिक रुपान्तरणमा एउटै धारणा, वैदेशिक नीतिमा न्यूनतम समझदारी र ५ वर्ष कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्ने सर्त राखिने उनले सुनाए।
संघ र प्रदेश निर्वाचनमा सत्ता गठबन्धनभित्र हुने सिट बाँडफाँटमा माओवादी केन्द्रले भनेअनुसार जान नसकिने उनले बताए।
गिरिजाबाबुले भनेजस्तो सहमति, सहकार्य र एकता पहिला कांग्रेसभित्र हुनुपर्ने र त्यसपछि अन्य तालमेल गर्ने दलसँग खोज्नुपर्ने उनको धारणा छ। प्रदेश र संघको निर्वाचनमा जाँदा स्थानीय तहमा तालमेल गर्दाका कमजोरी दोहोरिन नहुनेमा उनको जोड छ।
कांग्रेसभित्र गुटगत राजनीति नभई वैचारिक मनभिन्नता मात्रै रहेको उनले जानकारी दिए। पार्टीभित्रको असन्तुष्टिलाई साम्य गरेर कम्युनिस्ट, जसपालगायत अन्य दलसँग लड्दा कांग्रेस एकढिक्का हुनुपर्ने कोइरालाको भनाइ छ।
अधिकारविहीन संघीयताले संकट निम्त्याउन सक्नेतर्फ उनले सचेत गराए। ‘संघीयता खारेज गर्ने कुरा संविधान संशोधनसँग जोडिएको छ, जुन त्यति सहज छैन। तर यसरी नै चलाउने हो भने संघीयता धरापमा पर्न सक्छ,’ कोइरालाले भने।